थ्रेस होल्डको ढ्याङ्ग्रो



यसपटकको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन सहभागिता जनाउन विभिन्न ९१ दल निर्वाचन आयोगमा दर्ता भएका थिए। वाम गठबन्धनका एमाले र माओवादी त चुनावी परिणामका कारण त्यसै पनि चर्चामा छन्, चुनावमा लज्जास्पद हार व्यहोरेको कांग्रेस झनै चर्चाको शिखरमा छ। अहिले प्रत्यक्षतर्फको चुनावी परिणाम सार्वजनिक हुँदा मधेसवादी केही दल, विवेकशील साझा, नयाँ शक्तिको नामको नाम सुनिए पनि धेरै दलको नाम निशान सुनिएन।

कुनै जिल्ला विशेषमा, नेमकिपा, जनमोर्चा, राप्रपा र राप्रपा प्रजातान्त्रिकले चर्चा बटुले। अनि चर्चामा आए स्वतन्त्र ढंगले चुनाव लडेकाहरू। धरहराको चासोचाहिँ यीबाहेक आयोगमा दर्ता भएका त्यति धेरै दल कहाँ बिलाए भन्ने नै हो। ३ प्रतिशतको थ्रेस होल्ड निर्वाचन अघि अनिवार्य नगर्दा त साना दलहरूको यो हविगत छ भने अब अगामी निर्वाचनमा झन् के होला ?

विगतमा संसद्मा प्रतिनिधित्व गरेका नेकपा माले, मधेस केन्द्रित सद्भावना पार्टी, नेपाः राष्ट्रिय पार्टी, वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, जनजागरण पार्टी नेपाललगायतका पार्टीको पो अब झनै विजोग हुने देखियो त। यस्ता दलहरूको हविगत देखेपछि पार्टी गठन गरेर ‘राजनीतिक च्याँखे’ थाप्नेहरूलाई थ्रेस होल्डले ठूलै ढ्याङ्ग्रो ठटाएको छ। र धरहरा यो कुरामा ढुक्क छ कि अब वर्षाद्को बेला जथाभावी च्याउ उम्रिएसरी दल दर्ता हुने छैनन्।

प्रतिक्रिया दिनुहोस्