मोहालीमा रोहितको विस्फोटक ब्याटिङ



नयाँदिल्ली, (एजेन्सी)
मोहालीमा भएको दोस्रो वानडे खेलमा कप्तान रोहित शर्माको विस्फोटक ब्याटिङको सहयोगमा भारतले श्रीलंकालाई १ सय ४१ रनले हराएको छ।
रोहित शर्माको कप्तानीमा यो भारतीय टोलीको वानडे क्रिकेटमा पहिलो जित पनि हो। यो नतिजासँगै ३ खेलको वानडे सिरिजमा दुवै टोली १–१ बराबरीमा रहेको छ। यसअघि धर्मशालामा भएको पहिलो खेलमा श्रीलंका विजयी भएको थियो। बुधबार पहिलो ब्याटिङ गरेको भारतले रोहितको दोहोरो शतकको सहयोगमा निर्धारित ५० ओभरमा ४ विकेटको क्षतिमा ३ सय ९२ रन बनाएको थियो। तर, श्रीलंकाली टोलीका लागि एन्जेलो म्याथुजले नटआउट हुँदै शतक प्रहार गरे पनि २ सय ५१ रनमै समेटिएको थियो। म्याथुजले १ सय ११ रन जोडेका थिए।

रोहितको तेस्रो दोहोरो शतक

रोहितले वानडे करिअरमा तेस्रोपटक दोहोरो शतक प्रहार गरेका छन्। वानडेमा तीनपटक २ सय रन पार गर्नेमा उनी विश्वका पहिलो ब्याट्सम्यान पनि बनेका छन्। उनी १ सय ५३ बलमा २ सय ८ रन जोडेर नटआउट रहे। उनको यो करिअरको १६औं वानडे शतक पनि हो। योसँगै शतक संख्यामा रोहित वीरेन्द्र सेहवागभन्दा अगाडि पुगेका छन्। सेहवागले आफ्नो करिअरमा १५ वानडे शतक प्रहार गरेका थिए।
रोहितको सानदार इनिङमा १३ चौका र १२ छक्का सामेल थिए। शतक १ सय १५ बलमा पूरा गरेका उनले अर्को सय रन ३६ बलमा पूरा गरेका थिए। उनले दोहोरो शतक प्रहार गर्ने क्रममा शिखर धवनसँग १ सय १५ रनको साझेदारी गरेका थिए। त्यस्तै उनले श्रेयश अय्यरसँग २ सय १३ रनको साझेदारी गरे। उनको अन्य खेलाडीसँग भने ठूलो साझेदारी हुन सकेन।

श्रीमतीलाई फ्लाइङ किस
वेडिङ एनिभर्सरी १३ डिसेम्बर नै भएको हुँदा रोहितले आफ्नी श्रीमती रीतिका सजदेहलाई दोहोरो शतकको विशेष उपहार दिएको बताए। मोहालीमा उनको खेल हेर्न रीतिका पनि सहभागी थिइन्। २ सय रन प्रहार हुनेवितिकै रोहितले ब्याट उठाएर श्रीमतीतर्फ देखाएर खुसीयाली मनाए। यसपछि उनले फ्लाइङ किस दिन भने पछि परेनन्।

प्रतिक्रिया दिनुहोस्