संक्रमणकाल अब सकियो



नयाँ संविधान कार्यान्वयनको पक्ष बलियो बनेको छ। प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएसँगै मुलुक राजनीतिको नयाँ चरणमा प्रवेश गरेको छ। संविधान निर्माणपछिको पहिलो कार्यभार निर्वाचन हो। संविधानले स्थानीय, प्रादेशिक र संघीय गरी तीन तहका सरकारको परिकल्पना गरेको छ। तीनवटै तहका संसद् तथा सरकार गठन नभएसम्म संविधान कार्यान्वयनले गति लिने अवस्था थिएन। संविधान जारी भएपछि पनि मुलुक संक्रमणकालमै गुज्रिरहेको थियो। २१ मंसिरमा दोस्रो चरणको प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएसँगै मुलुकमा संक्रमणकालको अन्त्य भएको छ।
पुरानो राजनीतिक व्यवस्था अन्त्य भए पनि नयाँ राजनीतिक व्यवस्थाले संस्थागत रूप नलिइसकेको अवस्था हरेक देशका लागि जोखिमपूर्ण हुन्छ। हाम्रो मुलुकमा ०६३ सालदेखि राजनीतिक संक्रमणकाल शुरु भएको हो। यति लामो समयसम्म विश्वका थोरै देशमा मात्रै संक्रमणकाल रहेका उदाहरण छन्। स्थानीय तह, प्रदेश तह र केन्द्रीय तहको निर्वाचन सम्पन्न हुनु मलुकका लागि ठूलो उपलिब्धि तथा उत्साहजनक राजनीतिक यात्रा हो। आठ महिनाको छोटो अवधिमा तीनवटै तहको चुनाव सम्पन्न गर्नु निर्वाचन आयोगको सराहनीय काम हो।

खासगरी, आफ्नो २ सय ४० वर्षको विरासत गुमाएको दक्षिणपन्थी शक्ति, आफूले चाहेजस्तो संविधान नबनेकोमा नाकाबन्दीको हदसम्म उत्रेको भारत तथा विगत १० वर्षको हत्याहिंसाको राजनीतिलाई निरन्तरता दिने उद्देश्यका साथ माओवादीबाट बाहिर निस्केको उग्र दक्षिणपन्थी शक्ति कुनै पनि हालतमा संविधान कार्यान्वयन हुन दिने पक्षमा थिएनन्। चुनाव बिथोल्नका लागि संविधानविरोधी शक्तिबाट विभिन्न क्रियाकलाप नभएका होइनन्। यस्ता क्रियाकलापका बाबजुद समयमै आवश्यक कानुन निर्माण गरी निर्वाचनका लागि मार्गप्रशस्त गरेकोमा सरकारलाई धन्यवाद दिनुपर्ने हुन्छ। साथै, निर्वाचनका क्रममा विभिन्न हिंसात्मक घटना तथा डर–त्रासका बाबजुद जनताले भयरहितरूपमा मतदान गरे। मतदान उल्लेख्यरूपमा भयो। स्थानीय तहको निर्वाचनमा करिब ७० प्रतिशत र प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचनमा करिब ६५ प्रतिशत मतदान हुनुलाई उत्साहजनकरूपमै लिनुपर्छ। मतगणना सकिनै लाग्दा वाम गठबन्धनको दुई तिहाइ आउने सम्भावना छ। यसलाई जनताले नयाँ विकासको मार्ग खोजेको रुपमा विश्लेषण गर्न सकिन्छ।
– सरस्वती न्यौपाने, काठमाडौं

चरिंगे दहलाई पर्यटन हब बनाऊ
एसियाकै ठूलो र सुन्दर उपत्यकामा दाङ पर्दछ। हावापानीको दृष्टिले अत्यन्त राम्रो मानिने दाङ प्राकृतिकरुपमा पनि सुन्दर छ। यहाँको वनजंगल, तालतलैयाहरु जिल्लाले प्रकृतिबाट पाएको उपहारहरु हुन्। यही क्रममा दाङको रामपुरस्थित चरिंगे दह पछिल्ला दिनहरुमा सबैको आकर्षणको केन्द्रविन्दु बनेको छ। प्राकृतिकरुपमा अति नै मनोरम चरिंगे दह स्थानीय पर्यटकहरुको गन्तव्यसमेत बनेको छ।
प्राकृतिकरुपमा सुन्दर चरिंगे दह सहजै पुग्न पनि सकिन्छ। दूरीका हिसाबबाट पनि नजिक रहेको चरिंगे दह पर्यटकहरुको मुख्य गन्तव्य थलो भने अहिलेसम्म बन्न सकेको छैन। पर्यटन विकास मुलुकको अर्थतन्त्र सुधार्ने बलियो माध्यम हो। राज्यले समेत पर्यटन विकासमा ठोस योजना बनाएर यस्तो प्राकृतिक थलोको संरक्षण गर्नु जरुरी छ। स्थानीयस्तरमा पनि सरोकारवाला निकायहरु पछिल्ला दिनहरुमा पर्यटन प्रवद्र्धनका लागि जागरुक बनेका छन्।

जिल्ला विकास समितिलगायतका सरोकारवाला निकायहरुले चरिंगे दहको भौतिक पूर्वाधार विकासमा बजेट विनियोजन गर्नेदेखि अन्य विभिन्न कार्यहरु गर्नु जरुरी रहेको छ। कनिका छरेजस्तो विकासे बजेटले मात्र यहाँको विकास हुनसक्दैन। विकासतर्फ अग्रसरता चरिंगे दहलाई पूर्णरुपमा भौतिक पूर्वाधार सम्पन्न बनाउनका लागि एकैसाथ ठूलो परिमाणको बजेट विनियोजन गर्न जरुरी छ। चरिंगे दहको एकीकृत विकाससँगै यसको व्यापक प्रचारप्रसारमा पनि ध्यान दिन सकेको खण्डमा राम्रो हुनेछ। सबै पक्षको एकताबद्ध प्रयासले मात्र दाङको चरिंगे दहलगायतका पर्यटकीय सम्भावना बोकेका सबै क्षेत्रहरुको व्यवस्थित विकास सम्भव छ। दाङ जिल्लालाई समृद्ध बनाउने हो भने जिल्ला समन्वय समिति, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाहरुले पर्यटन प्रवद्र्धनमा विशेष योजना बनाउनुपर्छ।
– सुलोचना चौधरी, रामपुर, दाङ

विषादीको अत्यधिक प्रयोग
नेपाललाई कृषिप्रधान देश भनिन्छ। यहाँ ८० प्रतिशत कृषकहरु छन्। तर दुर्भाग्य, पुरानो कृषि प्रणाली र स्थानीय बीउको प्रयोगले यहाँ उत्पादित कृषिउपजले नपुगेर बाहिरी देशबाट खाद्यान्नसहित फलफूल, तरकारी ल्याउनुपर्ने अवस्था छ। हुन त देशका केही कृषकहरु अहिले उन्नत जातका बीउबिजन प्रयोग र आधुनिक कृषिप्रणालीतर्फ पनि आकर्षित हुँदै छन्। तर बालीमा लाग्ने रोग न्यूनीकरणका लागि कृषकले तरकारीलगायतका बालीमा अत्यधिक विषादीको प्रयोग गर्ने गरेका छन्।
पछिल्ला दिनमा कतिपय ठाउँमा यस्तो भइसक्यो कि विषादी प्रयोग नगरी कुनै उत्पादन नै हुँदैन। आवश्यक मात्राभन्दा बढी विषादी प्रयोग गरेका तरकारीजन्य तत्काल खाइने पदार्थले स्वास्थ्यमा दीर्घकालीनरुपमा नराम्रो असर पुर्याइरहेको छ। शहर बजारमा बस्नेहरुमध्ये रोग नलागेको मानिस पाउनै नसकिने अवस्था छ। यसैले विषादीको प्रयोगविना नै उन्नत खेती गर्ने तरिकामा सरकारले कृषकलाई आकर्षित गर्ने योजना ल्याउनु जरुरी छ। विषादीको प्रयोगसम्बन्धी कृषकलाई तालिमको व्यवस्थाका साथै कम विषादी प्रयोग गर्नेलाई पुरस्कारको व्यवस्था गर्न सरकारलाई अनुरोध गर्दछु।
– अञ्जन कार्की, मध्यपुर ठिमी, भक्तपुर

प्रतिक्रिया दिनुहोस्