अझै संक्रमणकालको ओढारमा लुक्ने कि !



केशव अधिकारी

२०५२ सालमा माओवादीले जनयुद्धको थालनी गरेपछिका दिनदेखि नेपाली जनताका पीडाका दिन आरम्भ भएका थिए। दब बर्से जनयुद्धको चेपमा परेर १७ हजार नेपालीले अनाहकमा ज्यान गुमाउनुपरेको थियो। जब २०६२ सालको अन्त्यतिर आएपछि जनयुद्ध थामिएर थोरै शान्तिका दिन आए अनि नेपाली जनताले अब देश विकासको सपना तुन्न थाले। २०६२ देखि ७३ सम्मको एक दशक लामो अवधिलाई सङ्क्रमण कालको संज्ञा दिएर भुल्याउने वा अल्मल्याउने काम मात्र भयो। त्यसपछिका दिनमा संविधानसभाको निर्वाचनलाई लिएर राजनीतिक दलहरूले यति धेरै समयलाई गिजोले, जुन गिजोलिएको समयलाई हेरेर धेरै नेपाली वाक्कदिक्क हुन पुगे। जनयुद्धबाट विजेता बन्दै आएर प्रशासनको महँगो कुर्सी त सम्हाले तर विगतको अनुभवबेगरको कुर्सीमा बस्दा बस्नेको मन मसिना छिनाझपटीमै अल्झिन पुग्यो। अरु राजनीतिक दलहरूले पनि कुकुर र हड्डी खोसाखोसकै व्यवहार प्रस्तुत गर्न चुकेनन्। यो छिना र झपटीको भुकाइले त नेपाली जनतालाई यति धेरै आजित बनायो कि आमनेपाली युवाको मानसिकता नै विदेशी पो बन्न पुग्यो। जनयुद्धको क्रम जारी रहेका बेला धेरै युवामध्ये कसैलाई स्कुलबाटै बुर्जुवा शिक्षा पढेर केही फाइदा हुँदैन, जनयुद्धमा लाग्न सकियो भने देशै हाम्रो हुन्छ भन्ने खालका निकै मीठा सपना देखाइयो। जनयुद्धमा लागेर पनि बाँच्नेहरूले उनीहरूको त्यो झगडा देख्दा वाक्कै लाग्यो तर केही गर्न सक्ने अवस्था रहेन।

जनयुद्धबाटै आएको शक्तिले दोस्रोचोटि आफू प्रशासकको कुर्सीमा चढ्नको लागि सिद्धान्तै नमिल्ने काङ्ग्रेससँग टाउको जोड्न पुगे। जे होस्, पहिलोपटकको अनुपातमा दोस्रोपटक कुर्सीमा पुग्दा थोरैतिन परिपक्वता आएकै भएर आफूले त्यो कुर्सी छोडेर बाहिरिने बेलामा निकै शालीनताका साथ कुर्सी जिम्मा लगाउने मात्र होइन कि स्थानीय तहको चुनाव सकिएर प्रतिनिधि एवं क्षेत्रीय चुनावको पूर्वसन्ध्यामा आएर त उनै शेरबहादुरले सुम्पन खोजेको सत्ताको साँचोसमेत जिम्मा लिन अस्वीकार गरे। अनि ठूलै त्याग गरेकै भान परेको थियो। तर काङ्ग्रेसले अलि फट्याइँ गरेको साबिती बयानका आधारमा एमालेसँग वाम गठबन्धन गरेर आमनिर्वाचनमा होमिएका राजनीतिक दलहरूमध्ये नेपाली काङ्ग्रेसले आफ्नो पहिलेको ठूलो पार्टीको स्थान गुमाएर तेस्रो वा चौथो ठूलो राजनीतिक दलको रुपमा स्थापित हुँदै छ।

गत मंसिर १० र २१ गते भएको चुनावले वाम गठबन्धनलाई निकै माथि उचालेको छ। शायद वाम गठबन्धनले सरकार निर्माण गर्नको लागि स्पष्ट बहुमत हासिल गरेरै छोड्ला भन्ने कुरा धेरैजसो विश्लेषकहरूले विश्लेषण गर्दै छन्। यसअगाडिसम्मका करिब १२ वर्षका संविधानसभाको चुनाव, संविधान निर्माण, संविधान लागू गर्ने र मान्यता पाउने कुराकै सेरोफेरोमा ज्यादै जब्बर भएर राजनीति घुमेको देखियो। सभामुख, उपसभामुख, प्रधानमन्त्री, राष्ट्रपति, उपराष्ट्रपति आदिका विषयमा निकै गाँड कोराकोरको अवस्था आयो। यी अनपेक्षित वातावरणले जनतालाई अझ निराश बनाउँदै लग्यो। राजनीतिक दलमाथिको आमजनताको विश्वास करिब ९० प्रतिशत टुटेर जान थालेको पाइयो। यी सबै अवस्थाबाट पार पाउँदै र संविधानसभाको चुनाव गराएर संविधान निर्माणको काम हुँदै गर्दाको क्षणतिर मात्रै आमजनताले नेपालका राजनीतिक दललाई अलि थोरै विश्वास गर्न थालेका हुन्।

आज देशमा आमचुनाव यतिको शन्तिपूर्ण रूपमा सम्पन्न गराएर कुनै पनि राजनीतिक दलले विजय हासिल गर्दै जाँदाको क्षणमा विजयीले खुशीको र्याली निकाल्दै गर्दाको क्षणमा अर्कै राजनीतिक दलप्रति आस्था र विश्वास भएको नेपाली नागरिकले पनि हाम्रा राजनीतिक दलहरूलाई अलि बढी विश्वासको नजरले हेर्न र आशावादी बन्न थालेको पाइन्छ।
आजका नेपाली जनताको चाहना के भने, विश्वका आज विकसित भनेर कहलिएका देशहरूको दाँजोमा त हामी पुग्नै सकेका छैनौँ तर हाम्रै छिमेकी भारत, चीन जत्तिका पनि हुन वा बन्न नसक्नुको पछाडि राजनीतिबाट राजनेता बनेका वयक्तिको कारणले नभई भर्खर राजनीति सिक्दै गरेका सिकारु राजनेताका गलत कार्य वा निर्णयले यस्तो अवस्था सिर्जना भएको हो भन्ने कुरा महसुस गर्न थालेका छन्। आज वाम गठबन्धनले नै दुई तिहाइ बहुमत लिएर भोलिको सत्ताको दाबेदार बनी शासन चलाए पनि नेपाली जनताले अब भने नेपालका हरेक क्षेत्रको उन्नति दु्रत गतिमा हुने भो भनेर आशावादी बन्ने क्षितिज अझै देखा परेको छैन। त्यो क्षितिज देखा पर्नको लागि अबका राष्ट्रपति पदको एउटा गल्छेँडो, उपराष्ट्रपति पदको अर्को गल्छेँडो, सभामुख पदको अर्को गल्छेँडो, उपसभामुख नामको अर्को गल्छेँडो गर्दै र तिनलाई लिएर कति हो कुन्नि गालिगलौजका भाषा प्रयोग गर्दै दुनियाँलाई रमिता देखाएरै अबको पाँच बर्से अवधि गुजार्न पनि बेर लाग्दैन। वाम गठबन्धनका दुबै सिंहलाई प्रधानमन्त्रीको महँगो कुर्सीको लालचले छोडेकै रहेछ भने पनि गृह मन्त्रालय, अर्थ मन्त्रालय, ऊर्जा मन्त्रालयका गल्छेँडातिरै पसेर भए पनि गाँड कोर्न बेर लाग्दैन। आमजनताले डाँडापारिको उन्नतिलाई देखाएर त्यसो गर भन्न खोजेका थिए होलान्, उनीहरू डाँडैवारि भिड्न र बाझ्न थाले भने पाँच बर्से अवधि मात्रै पाएर के गर्नु ?

यी राजनीतिक निहुँका गल्छेँडापछाडिको अर्को निकै ठूलो गल्छेँडाको नाम हो दूरदृष्टिको अभाव। नढाँटी भन्ने हो भने यसपटकको संसदीय चुनावमा नेपाली काङ्गे्रसलाई आमनेपाली जनताले भोट दिएर दुई तिहाइ बहुमतले विजयी बनाएका भए काङ्ग्रेस नेतृत्वको सरकारको लागि सबैभन्दा ठूलो गल्छेँडो नै राजनीतिक दूरदृष्टिकोणको अभाव खड्कने थियो। हुन त केही मानिसले काङ्ग्रेसका युवानेता गगन थापा आदिलाई देखाएर आफ्नो गाल टार्न खोज्लान् तर एकजना गगनले मात्र बनाएको दूरदृष्टिले सिङ्गो काङ्गे्रस पार्टी हिँडाउन त गाह्रै पर्ला नि। नेपाली काङ्ग्रेसको तुलनामा वाम गठबन्धनभित्र दूरदृष्टिको अलि आधिक्य रहेको छ कि भनेर आशावादी बन्नुपर्ने हुन्छ र बनिन्छ पनि। यो कुरालाई पुष्टि गर्नको लागि स्वर्गीय गिरिजाप्रसाद कोइरालाले आफू स्वर्ग जानुभन्दा केहीअगाडिको कालखण्डमा तत्कालीन माओवादीलाई अलि बढी विश्वास गरेर तदनुसारको दायित्व बहन गर्नको लागि आग्रह र भरोसा दुवै राखेका थिए। जे होस्, अबको नेपालको राजनीति कुनै राजनीतिक दलका लागि पनि सन्तुष्ट बनाउने खालको बाटोमा रहेको छैन। सत्ताको कुर्सी जसले ओगटे पनि अबका दिनमा आमनेपाली जनतालाई छल्दै सङ्क्रमण कालको ओढारमा लुकेर आफूलाई सुरक्षित बनाउँदै गर्ने खालको अवस्था पनि छैन। सरकार निर्माण, सभामुख, उपसभामुख, मन्त्री आदिका गल्छेँडामा अल्झिएर पनि कतिन्जेल लुक्न सक्ने भन्ने प्रश्नचिह्न खडा हुन्छ। प्रचण्डले पहिलोपटक प्रधानमन्त्री हुँदा आफूलाई अनुभवै नभएको भन्दै उम्किए जसरी उम्कन पनि त्यति देखिँदैन। सत्तारोहण गर्नेमध्येका यति जनाको चाहिँ गरिबीका कारण हालत खराब भएकोले राज्यको ढुकुटीको केही अर्ब सम्पत्ति कुम्लो पारी औंलाले चेपेर लुकाउने प्रयास गरौँ न त भन्दा पनि धेरैजसोले गौँथलीको गुँड भन्दै पनि ठूलै महल ठड्याउन सकेकै छन् भने अबका दिनमा देशको सर्वाङ्गीण उन्नतिमा लाग्न कताबाट आउला त अवरोध ? अब हद्द होला, वामपन्थीहरू सत्तामा आएपछि हाम्रो दक्षिणको दयालु र सहयोगी छिमेकीले केही महिना नाकाबन्दी लगाएर हायलकायल पार्न खोजेर अवरोध हाल्न खोज्ला। अनि त्यसैको बहानामा केही महिना गुजार्न सकिएला र पछि पनि उसैलाई सराप्दै गरौँला भन्ने पनि विचार उठ्न सक्छ। दूरदृष्टि वा स्पष्ट भिजन नभएकाहरूका लागि त देशको विकास गर्न त गर्ने तर कहाँनेरबाट थाल्ने, कसरी थाल्ने, कसले थाल्ने, थालेपछि कता–कताबाट विरोध आऊलान्, कताबाट बलिया समर्थन आऊलान् ? भन्ने पिरलोले पनि लामै वा ठूलै लुक्ने वा जोगिने गल्छेँडाको काम गर्न सक्छ। जे होस्, अबको सरकारले पनि यिनै थाङ्ने विषयमा अल्झेर दिन बिताउन थाल्यो भने आमनेपाली जनता निराश हुनेछन्। उनीहरु भन्नेछन्– यति धेरै उत्साहका साथ मतदान गरेर फलाना–फलानालाई माथि पुर्याएको व्यर्थै भयो, अवगालका कुरा हामीले सुन्न नपरोस् अनि विपक्षीका अवरोधले पूरा समय सरकार चल्न नसके पनि उन्नतिका काम प्रभावित बने भन्नेजस्ता कुरा पनि एकरत्ति सुन्न नपरोस्। अबको सरकार र प्रमुख दलहरुले संक्रमणकालको ओढारमा लुकिरहने अवस्था छैन। ओढारबाहिरबाटै कुनै पनि समस्यासँग मुकाबिला गर्ने प्रयास गर्नुपर्छ।

प्रतिक्रिया दिनुहोस्