इलाममा सुन्तलाको उत्पादन तीन प्रतिशतले बढ्यो



बाह रोड रुपैंयाँ बराबरको निकासी,

गणेश घिमिरे, इलाम ।

गत वर्षको तुलनामा यो वर्ष इलाममा सुन्तलाको उत्पादनमा तीन प्रतिशतले बृद्धि भएको छ । यो बर्ष तीनसय ५० हेक्टर क्षेत्रफलमा गरीएको खेतीबाट तीनहजार ६ सय २९ मेट्रिक टन सुन्तला उत्पादन भएको छ । जुन गत आवको तुलनामा भन्दा तीन प्रतिशत अर्थात एकसय ६ मेट्रिक टनले बढी हुन आउछ । गत आवमा तीनसय ४० हेक्टरमा गरीएको सुन्तला खेतीबाट जिल्लामा तीनहजार पाँचसय २३ मेट्रिक टन उत्पादन भएको जिल्ला कृषि बिकास कार्यालय इलामको तथ्याङ्कमा उल्लेख छ ।

सुन्तलाको पकेट क्षेत्र मानिएको जिल्लाका सुम्बेक, नामसालिङ्ग, जिर्मले, सोयाङ्ग, बरबोटमा सुन्तलाको ब्यबसायिक खेती हुँदै आएको छ । यस्तै सोयाक, गोदक, इलाम नगरपालिका, पशुपतिनगर, कन्याम र लक्ष्मिपुरमा भने सुन्तलाको उत्पादन बिगतका बर्षहरुमा जस्तो नभएको कार्यालयका योजना तथा सुचना अधिकारी प्रकाशमणि काफलेले बताए । कृषिको तथ्याङ्क अनुसार यो बर्ष जिल्लाबाट उत्पादन भएको सुन्तला मध्ये एकहजार ९ सय ९५ मेट्रिक टन निकासि भएको छ । निकासी गरीएको सुन्तला प्रतिकेजि सरदर ६० रुपैंयाँका दरले बिक्रि भएको छ । जसबाट जिल्लामा बाह«करोड रुपैंयाँ भित्रिएको छ ।

यो गत आवको भन्दा डेढ करोड रुपैंयाँ बढी हो । गत आवमा एकहजार ७ सय ६१ मेट्रिक टन निकासि भएकोमा १० करोड ५६ लाख रुपैंयाँ इलामे कृषकहरुले हात पारेका थिए । जिल्लामा उत्पादन भएको सुन्तला पहाडी जिल्लाहरुका साथै झापा, मोरङ तथा भारतका बिभिन्न सहरहरुमा निकासी हुँदै आएको छ । सुन्तला टिप्ने सिजनबाटै तराईका ब्यपारीहरु इलामे कृषकको बगान–बगान पुग्ने गरेकाले सुन्तला खेती गर्दै आएका कृषकलाई बजारको भने समस्या भने नभएको इलाम नगरपालिका ५ बरबोटे तोरीबारीका कृषक राजु घिमिरेले बताए । तर मूल्य भने सोचेजस्तो नपाएको उनले बताए ।

सुन्तला व्यपारबाट मात्रै इलाममा हरेक वर्ष करोडौं रुपैंयाँ भित्रिरहेको अवस्थामा माइजोगमाई गाउँपालिका वडा नम्बर ३ र ४ स्थित नामसालिङ्गबाट मात्र यो बर्ष करिब तीन करोड रुपैंयाँ बराबरको सुन्तला झापा र मोरङ्गका बिभिन्न बजारमा निकासि भएको स्थानीय ब्यपारिहरुले बताएका छन् । तर केहि बर्षयता सुन्तला खेतीमा रोगको सङक्रमण देखा परेपछि पछिल्लो बर्षहरुमा सुन्तलाका बगानहरु मासिने क्रम पनि बढ्दै गएको छ । जसबाट कृषकहरु चिन्तित बन्दै गइरहेका छन् ।

सुन्तलामा ग्रिनिङ्ग सिट्रस जस्ता भाइरल रोगहरु देखा परेपछि जिल्लाका धेरै गाउँका सुन्तलाका बगानहरु सखाप भइरहेका छन् । रोग नियन्त्रणका निम्ति कृषिका प्राबिधिकहरुले फेरेमेन ट्रयाप जस्ता बिषादी प्रयोग गर्न भनेपनि यसबाट रोग नियन्त्रण नभएको कृषकहरुले बताउँदै आएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्