अग्रिम सान्त्वना



प्रतिनिधिसभाको चुनावी परिणाम लगभग समापन हुँदै गर्दा वाम गठबन्धनले उत्साहजनक मत प्राप्त गरेको छ। तर सो गठबन्धनका तर्फबाट निर्वाचित महिला सांसदहरूको संख्या भने ज्यादै न्यून छ। राष्ट्रिय जनमोर्चाबाट १ जना निर्वाचित भएकी छिन् भने अन्य पार्टीका महिला उम्मेदवारले सपनाको लड्डु मात्रै खाए।

झनै गज्जबको कुरा त के छ भने समानुपातिकको सूचीमा सामावेश भएका धेरैले अब सपनाको लड्डु मात्रै त ठूलै हातको लोप्पा खाने भएका छन्। खासगरी समानुपातिकको बन्द सूचीमा सूचिकृत दलका पुरुष नेताले। अहिले वाम गठबन्धनले ठूलै सफलता प्राप्त गरे पनि गठबन्धनका समानुपातिक सूचीका नेताहरू भने मुटुमाथि ढुंगा राखी हाँस्न थालेको धरहराले देख्न थाल्या छ।

संविधानले ३३ प्रतिशत महिला सांसद हुनुपर्ने बाध्यता तोकेकाले समानुपातिक कोटामा अधिकांश महिला नै सांसद बन्ने निधो भएको छ। प्रतिनिधिसभाका कूल २ सय ७५ को ३३ प्रतिशत भागबण्डा गर्दा धेरै महिला नेत्तृहरू भाग्यमानीको सूचीमा सूचिकृत हुँदै छन्। समानुपातिकको अन्तिम कोटामा सामेल भएका पुरुषहरू चाहिँ घर न घाटको हुने अवस्थामा पुगेको देख्दा धरहरा अग्रिम सान्तवना दिन चाहन्छ। र यसअघि आफन्त, साथी–भाइ र शुभेच्छुकलाई दिएको ‘ग्रान्ड पार्टी’ सपना पो थियो त भनेर बुझ्न आग्रह गर्छ।

प्रतिक्रिया दिनुहोस्