पुँजी बजारमा साना लगानीकर्ता तर्साउने खेल



रोविन पौडेल, काठमाडौं

निर्वाचनपछि पहिलोपटक मंगलबार नेप्से परिसूचक दोहोरो अंकले ओरालो लागेको छ। निर्वाचनसँगै ओरालो लागेको नेप्से यस दिन १७ दशमलव ५४ अंकले घटे पनि कारोबार रकम भने बढेको छ। सोमबार ४६ करोड ४५ लाख ५० हजार रुपियाँको कारोबार भएको बजारमा मंगलबार ६६ करोड ९२ लाख ११ हजार १ सय ८१ रुपियाँको कारोबार भएको छ।

आइतबार पनि बजारमा ८६ करोड रुपियाँको कारोबार भएको थियो।
बजार परिसूचक लगातार घटे पनि कारोबार रकम बढ्नुले केही ठूला लगानीकर्ता बजार घटाउनेतर्फ लागेको संकेत देखिएको जानकारहरूले बताएका छन्। ठूला लगानीकर्ताले सेटिङ मिलाएर कम मूल्यमा शेयर खरिद गर्न खोजेको उनीहरूको आरोप छ। उनीहरू भन्छन्– ‘ परिसूचक घटिरहेका बेला शेयर कारोबार कसरी बढ्छ ? यसले साना लगानीकर्तालाई तर्साउन ठूला लगानीकर्ता मिलेका हुन्।’

बजार सकेसम्म कम बिन्दूमा ल्याई साना लगानीकर्तालाई शेयर बेच्ने बाध्य बनाउने योजनामा ठूला लगानीकर्ता रहेको उनीहरूको आरोप छ। अर्काथरी भने चुनावी परिणाम आइरहँदा पनि बजार निरन्तर ओरालो लाग्नुले लगानीकर्तामा कन्फिडेन्स लुज भएको बताउँदै आएका छन्।
लगानीकर्ता वाम गठबन्धनसँग डराएको भन्ने गरिए पनि अब बहुमतको सरकार बन्ने र राजनीतिक स्थिरता छाउला भन्ने आशमा रहेको नेपाल इन्भेस्टर्स फोरमका महासचिव राजन लम्सालको भनाइ छ। उहाँका अनुसार बजारमा उल्लेख्य मात्रामा बोनस तथा हकप्रद शेयरको आपूर्ति बढे पनि बजार विस्तार भने हुन सकेको छैन।

नेपाल समाचारपत्रसँग कुरा गर्दै लम्सालले भन्नुभयो– ‘बजार विस्तार हुन नसक्नुमा नेपालको राजनीतिक सेटलमेन्ट कतातिर ढल्केला भन्नेमा लगानीकर्ता विश्वस्त हुन सकेका छैनन्। यसो हुँदा बजारमा शेयर प्रवाह बढे पनि माग भने उत्ति नै छ। माग नै नभएपछि शेयरको मूल्य नबढेको हो।’ यद्यपि, विगतका वर्षको विश्लेषण हेर्दा पुस र माघ बजार फ्याट नै हुने गरेको उहाँको भनाइ छ।

चुनावको समयमा विभिन्न माध्यमबाट शेयर बजारको पहुँच नहुने स्थानमा पुगेको रकम चुनावपछि विस्तारै लगानीकर्ताको हातमा आइपुगेको कारण कारोबार बढ्नुपर्ने हो। उहाँले भन्नुभयो– ‘चुनावअघि शेयर बजारको भविष्य केही समय अन्योल रहे पनि चुनावी परिणामले राजनीतिक स्थिरताको बाटो देखाएको छ।’ यही अपेक्षामा शेयर बजार उकालो लाग्नसक्ने उहाँ बताउनुहुन्छ।

निर्वाचनसँगै बजारमा कारोबार रकम बढ्नुलाई शेयर खरिदका लागि लगानीकर्ताले राम्रो अवसर पाएको ब्रोकरहरू बताउँछन्। नेपाल समाचारपत्रसँगको कुराकानीमा एक ब्रोकरले राजनीतिक प्रभावले बजार परिसूचक घटेको देखिए पनि कारोबार रकम बढ्नुले बजार सकारात्मकतर्फ उन्मुख हुँदै गरेको देखिएको बताए। उनले भने– ‘लगानीकर्तामा संघीयताको वित्तीय व्यवस्थापनमा देश कत्तिको सफल हुन्छ भन्ने चिन्ता पनि रहेका छन्।’ यिनै मिश्रित प्रतिक्रियाको प्रभाव अहिले बजारमा रहेको उनको भनाइ छ। ‘सबैभन्दा ठूलो असर भनेको शेयरको बढ्दो चापलाई मागले धान्न नसक्नु हो।’ उनले भने।
मंगलबार भने शेयर ब्रोकरलाई भ्याट लगाउने चर्चाले गर्दा बजारमा गिरावट आएको विश्लेषण गरिएको छ। आन्तरिक राजस्व विभागले ३ वटा ब्रोकरहरूलाई भ्याट तिर्नको लागि पत्र पठाएको समाचार बाहिर आएको थियो।

विभागले ब्रोकर नं. ५२ क्रिस्टल कन्चनजंघा सेक्यु्रिटी, ब्रोकर नं. ५३ अक्सफोर्ड सेक्युरिटी र ब्रोकर नं. ५४ सुन्धारा सेक्युरिटीलाई पत्र काटेको जानकारी आएको छ। क्रिस्टल कन्चनजंघा सेक्युरिटीका नेपाल ब्रोकर एसोसिएसनका अध्यक्ष प्रियराज रेग्मी सञ्चालक रहेको कम्पनी हो। विभागले फेरि भ्याटको विषय उठाएका कारण त्यसको असर पुँजी बजारमा परेको बताइएको छ।

दोस्रो चरणको प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनपछि घट्ने क्रममा रहेको बजार मंगलबार पनि रोकिएन। यसअघि आइतबार बजार ६ दशमलव शून्य ५ अंकले र सोमबार पनि २ दशमलव ७४ अंकले घटेको थियो।

मंगलबार बजारमा १ सय ५७ कम्पनीका ११ लाख ८० हजार ५ सय ६३ कित्ता शेयर किनबेच भए। तीमध्ये सबैभन्दा धेरै राष्ट्रिय बीमा कम्पनीका संस्थापक शेयर ५ करोड ९८ लाख ४६ हजार रुपियाँ र ग्लोबल आईएमई बैंकको ५ करोड ९८ लाख ३८ हजार रुपियाँभन्दा बढीको शेयर किनबेच भएका छन्।

मंगलबार कारोबारमा आएका समूहमध्ये उत्पादनमुलक समूहबाहेकका सबै समूह ओरालो लागेका छन्। मंगलबार सर्वाधिक कमाउनेमा काबेली विकास बैंकका लगानीकर्ता रहेका छन्। बैंकको शेयर मूल्य ८ दशमलव ६४ प्रतिशत प्रतिशतले बढ्दा राष्ट्रिय बीमा कम्पनीका संस्थापक लगानीकर्ताले सबैभन्दा धेरै ५ दशमलव ८४ प्रतिशतल गुमाए।

प्रतिक्रिया दिनुहोस्