कान्छीको मिति सार्नु भनेको हार्नु होइन भुवन दाजुप्रति बहिनीको सम्मान हो ः श्वेता खड्का



नायिका तथा निर्मात्री श्वेता खड्काले आफूद्वारा पछिल्लोपटक निर्मित फिल्म कान्छीको रिलिज डेट एक साता पर सारेकी छिन्। कान्छीको रिलिज डेट तोकिएको माघ २६ गते नै अर्को फिल्म कृ पनि रिलिज हुने भएपछि यसबाट दर्शक अन्योलमा पर्ने तथा नेपाली फिल्म जुध्दा त्यसको नोक्सान निर्माण पक्षलाई हुने भएकाले श्वेताले कान्छी अब फागुन ४ गते रिलिजमा ल्याउने भएकी छिन्। यसबारे भावप्रधान शब्दहरूका साथ श्वेताले फेसबुकमा पोस्ट गरेकी छिन्– ‘कान्छीको मिति सार्नु भनेको मैले हार्नु होइन, यो त भुवन दाजुप्रति एउटी बहिनीको सम्मान हो। आदरणीय मेरा शुभचिन्तक, शुभेच्छुक तथा दर्शक महानुभावलगायत कलाकर्मी र सञ्चारकर्मीज्यूहरू मैले जीवनसाथीका रूपमा चुनेको दादा श्रीकृष्ण श्रेष्ठज्यूको देहावसानसँगै मेरो इच्छा, आकांक्षा, सपना, चाहना र रहरहरू सबैको अवसान भएझैं लागेको थियो। त्यो अवस्थामा मलाई सहानुभूतिका शब्दहरू पोख्ने र साथ अनि सहाराका हातहरू देखाउनेको ठूलै भीड थियो। मैले भगवान्स्वरुप मान्ने मेरा दर्शक महानुभावहरूले मलाई सुस्ताएर नथाक्न र ओइलाएर नझर्नका निमित्त जुन आँट र साहस दिनुभयो, त्यो आँट, साहस र उत्प्रेणाले मलाई थाक्न, गल्न र सुस्ताउन दिएन।

मलाई कलाकारिता क्षेत्रमा डोर्याएर नायिकाको उपमा दिलाउने स्वर्गीय दादा श्रीकृष्ण श्रेष्ठ अनि मलाई कलाकारका रूपमा माया गरिदिनुहुने असंख्य दर्शक महानुभावको अटुट मायालाई चटक्कै मायँ मारेर घरको एउटा कुनामा शोकाकुल भएर बसिरहन यो मनले पटक्कै मान्दै मानेन। मैले दादालाई आँसुको श्रद्धाञ्जली दिनुभन्दा नेपाली सिने जगत्मा एउटा राम्रो चलचित्र पस्कने दादाको अपुरो सपनालाई साकार गरेर सत्कर्मको श्रदाञ्जली दिने अठोट गरें। यही अठोटका साथ आँखाको आँसु पुछेर, आफ्नै कलाकारिताको दुनियाँमा फर्किएँ।

कान्छी चलचित्र त्यही आँट, साहस र उत्प्रेरणाको प्रतिफल हो। अनि दादाप्रति अर्पण गरिएको मेरो साँचो श्रद्धाञ्जली पनि। अतः माघ २६ गतेलाई रिलिज मिति तोकिएको कान्छीले रिलिजपूर्व नै दर्शक महानुभावबाट अटुट माया, साथ र सद्भाव प्राप्त गरिरहेको छ। फलस्वरुप यस चलचित्रको चरी चट्ट परी भुरुरु बोलको गीतलाई युट्युबमा ५० लाखभन्दा बढी पटक हेरिइसकेको छ। यो नै मेरो लागि सफलताको पहिलो खुट्किलो हो। माघ २६ गतेका दिन, मैले स्वर्गीय ‘दादाप्रति समर्पण गर्दै आफ्नो मेहनत, पसिना अनि श्रम र सिपको प्रतिफल कान्छी अर्पण गर्ने सोच बोकेकी थिएँ। तर सोही दिन मेरा आदरणीय दाजु भुवन केसी र सुवास गिरी निर्मित चलचित्र कृलाई पनि रिलिज मितिको रूपमा घोषणा गरियो। हुन त एकै दिनमा ५ वटा चलचित्र रिलिज नभएका भने पक्कै होइनन्। तर विगत २ वर्षदेखि कान्छी र कृलाई हेर्न ब्यग्र भएर बस्नुभएका दर्शक महानुभावहरूका लागि एउटै मितिमा यी दुई चलचित्र रिलिज गर्नु भनेको हामीले दर्शकहरूको भावनालाई लत्याउनु र कलाकारिताको धर्मबाट विमुख हुनुसिवाय केही होइन। अतः यही यथार्थलाई मनन गर्दै यी दुवै चलचित्रलाई जुधाउन नहुने निस्कर्षका साथ कान्छीलाई आगामी फाल्गुन ४ गते प्रदर्शन गर्ने निर्णय लिएकी छु। पूर्वघोषित रिलिज मितिबाट केही दिन पछाडि हट्ने यो आत्मनिर्णय लिइरहँदा यत्तिखेर म, मैले अत्ति नै सम्मानकासाथ आदर गर्ने आदरणीय दाजु भुवन केसीज्यूलाई सम्झन चाहन्छु। स्वर्गीय दादाको मिल्ने मित्रका साथै उहाँको देहवसानपश्चात् मलाई हौसला, आँट र साहस प्रदान गरेर मलाई उत्प्रेरित गरिरहने आदरण्ीाय दाजु भुवन केसीज्यूका लागि मैले आफ्नो चलचित्रलाई केही दिन पछाडि सार्ने यो निर्णयप्रति कुनै किसिमको लाज, सरम र संकोचको भाव महसुस गरिरहेकी छैन। बरू मलाई यो निर्णय लिँदै गर्दा कान्छी र कृ नजुधाइदिनका लागि शुभचिन्तक तथा दर्शक दीर्घबाट फेसबुक, ट्विटर र मोबाइलमार्फत् प्राप्त असंख्य अनुरोध र सन्देशहरूको सम्मान गरेको महसुस भइरहेको छ। साथै एउटी बहिनीले दाजुलाई पछाडि हट्नका लागि अनुरोध गर्नुभन्दा उमेरले पनि कान्छी अनि सिप र दक्षताले पनि आलोकाँचो नै रहेकी म आफैंले केही कदम पछाडि हट्दा बेस होला भन्ने ठानी यो निर्णय लिएकी हुँ। यो निर्णय भुवन दाईप्रति एक बहिनीले व्यक्त गरेको सम्मान र कदरको रूपमा बाहेक अन्य रूपमा नलिनु हुनको लागि म आम सञ्चारमाध्यमका सञ्चारकर्मी, फिल्म इन्डस्ट्रीका कलाकर्मीलगायत मलाई माया गरिदिनुहुने मेरा भगवान्सरह दर्शकदीर्घसमक्ष हार्दिक अनुरोध गर्दै फाल्गुन ४ गते नेपालका सबै सिनेमा घरमा भेट्ने वाचा गर्न चाहन्छु। र माघ २६ गते रिलिज हुन गइरहेको कृको अपार सफलताको लागि हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु।’

उही तपाईंहरूकी छोरी र चेली श्वेता खड्का ‘कान्छी’

प्रतिक्रिया दिनुहोस्