ओली र प्रचण्डमाथि चुनौतीका चाङ



मधुसूदन रायमाझी, काठमाडौं
निर्वाचनपूर्व फास्ट ट्रइकबाट वाम गठबन्धन बनाएर निर्वाचनमा ६०⁄४० को भागवण्डा गरेका नेकपा एमाले र नेकपा माओवादी केन्द्रले अपेक्षाअनुसार नै प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नतिजा हात पारेका छन्। निर्वाचनमा वाम गठबन्धनभन्दा पनि पार्टी एकता गर्ने नेतृत्वदेखि कार्यकर्ता पंक्तिसम्मको अभियानले वाम गठबन्धनले निर्वाचनमा दुई तिहाइ बहुमत ल्याउन सफल भएको छ।

निर्वाचनको क्रममा दुवै दलले चुनावी गठबन्धन मात्र नभई पार्टी एकताकै लागि वाम गठबन्धन बनेको विषयलाई नै बढी जोड दिए। सोहीअनुसार परिणाम पनि हात पार्न सफल भए। प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा दुई तिहाइ बहुमत ल्याउने निश्चित भएको वाम गठबनधनभित्र चुनावी कोर्स पूरा भएकाले अब पार्टी एकीकरणको कोर्सलाई अगाडि बढाउनुपर्ने दबाब बढेको छ।

पार्टी एकीकरणका बारेमा निर्वाचनले गर्दा दुई दलको बीचमा पर्याप्त छलफल हुन सकेको छैन। दुवै दलले निर्वाचनलगत्तै पार्टी एकीकरण गर्ने प्रतिबद्धता आफ्ना कार्यकर्ता र मतदाताहरूसँग गरेका छन्। तर नयाँ सरकार गठन भएपछि मात्र पार्टी एकीकरणको प्रारम्भिक बहस शुरू भएको छ। वाम गठबन्धन नै पार्टी एकताको पहिलो आधार बनाएर निर्वाचनमा गएका उनीहरूलाई जनताले दिएको म्यान्डेडकै आधारमा पार्टी एकताको प्रक्रिया पूरा गर्ने तयारी एमाले र माओवादी केन्द्रले गरेका छन्।

नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल पार्टी एकताका लागि समय लाग्ने बताउनुहुन्छ। उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘पार्टी एकता गर्ने विषय निकै गहन विषय हो। वैचारिक, राजनीतिक, सैद्धान्तिक र संगठनात्मक विविध पक्षमा समझदारी जुटनुपर्छ।’
कति समय लाग्ने भन्ने जिज्ञाशामा वरिष्ठ नेता खनालले एक वर्षभित्रमा दुई पार्टीबीच एकीकरण हुने बताउनुभयो। ‘एक वर्ष भनेको एक महिनादेखि ११ महिना पनि लाग्छ सक्छ।’ –उहाँले भन्नुभयो।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चुनावी नजिताबाट उत्साहित हुनुभएको छ। वाम गठबन्धनबाट एमालेले आफूलाई पहिलो पार्टीका रूपमा स्थापित गर्न सफल भएको छ भने माओवादी केन्द्रले तेस्रो शक्तिबाट दोस्रो शक्तिमा रूपान्तरण गर्न सफल भएको छ।

वाम गठबन्धनकै कारण प्रचण्डले पार्टीलाई निर्वाचनमा दोस्रो स्थानमा उभ्याउन सफल हुनुभएको छ। ओली र प्रचण्डले निर्वाचनका क्रममा निर्वाचन सम्पन्न भएलगत्तै पार्टी एकीकरणको प्रक्रिया अगाडि बढाउने विषयलाई प्राथमिकताका साथ अगाडि बढाउनुभएको थियो।

निर्वाचनलगत्तै पार्टी एकीकरणभन्दा पनि नयाँ सरकार गठनको विषयले प्राथमिकता पाएको छ। निर्वाचन आयोगले निर्वाचन सम्पन्न भएको प्रतिवेदन बुझाएलगत्तै नयाँ सरकार गठन गर्ने गृहकार्यमा वाम गठबन्धन जुटिसकेको छ। वरिष्ठ नेता खनालले मध्य पुससम्ममा नयाँ सरकार गठन हुने बताउनुहुन्छ।

निर्वाचनमा ६०⁄४० को भागवण्डा गरेका एमाले र माओवादी केन्द्रले नयाँ सरकार गठनमा कसरी सहमतिको साथ अगाडि बढ्लान् भन्ने बहस शुरू भएको छ।

वाम गठबन्धनभित्र एमालेका अध्यक्ष केपी शर्मा ओली नै नयाँ सरकारको प्रधानमन्त्री हुनेमा धेरै आशंका छैन। बाँकी मन्त्री बाँडफाँडमा ओली र प्रचण्ड कसरी अगाडि बढलान् ? मन्त्री भागवण्डादेखि पार्टी एकीकरणसम्मको प्रक्रिया चुनावी तालमेलजस्तो सहज र सरल देखिँदैन।
केन्द्र सरकार मात्र होइन, प्रदेश सरकारको मुख्य मन्त्री, मन्त्रीको भागवण्डा, राष्ट्रपति⁄उपराष्ट्रपतिलगायतको तालमेल पनि निकै चुनौतीपूर्ण देखिन्छ। नेकपा माओवादी केन्द्रका नेता मणि थापाले नयाँ सरकार गठन गर्दा गुटउपगुटभन्दा पनि वाम गठबन्धनले जनतासमक्ष गरेको प्रतिबद्धता पूरा गर्न सक्ने व्यक्तिलाई नै सरकारमा पठाउनुपर्ने बताउनुहुन्छ।

नेता थापाले भन्नुभयो– ‘जनताले वाम गठबन्धनलाई बहुमत दिएर पार्टी एकीकरणका लागि म्यान्डेट दिएका छन, अब पार्टी एकीकरणमा ढिला गर्नुहुँदैन, विचार सिद्धान्त, कम्युनिस्ट आन्दोनको प्रश्नलाई बहससहित पार्टी एकीकरणको प्रक्रियामा अगाडि बढ्नुपर्छ।’

पार्टी एकीकरणका लागि संगठन विचारसँगै संविधानले नै समाजवाद उन्नमुख भनेर उल्लेख गरेको अवस्थामा अबको बहस कुन मोडेलको समाजवादमा जाने भन्ने नै प्रधान हुने बताउँदै नेता थापाले सामाजिक र आर्थिक रूपान्तरणको समाजवादमा बहस केन्द्रित हुनुपर्ने बताउनुभयो।

पार्टी एकीकरणका लागि वैचारिक र राजनीतिक रूपमा धेरै ठूलो मतभेद छैन, समाजवादमा पुग्नका लागि लिने नीतिकै विषय मुख्य हो, उहाँले भन्नुभयो– ‘पार्टी एकीकरणमार्फत् निर्वाचनमा जनतासमक्ष गरेको प्रतिबद्धताअनुसार काम गरेर जनतालाई परिवर्तनको प्रत्याभूति दिनुपर्छ।’

प्रतिक्रिया दिनुहोस्