‘निर्वाचनमा गरेका प्रतिबद्वता पूरा गर्छौ’



काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नं ५ बाट निर्वाचित भएका नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले आफ्नो निर्वाचन क्षेत्रको विकास गर्ने प्रतिबद्धता जनाएका छन् ।

लैनचौरमा आयोजित विजय र्यालीलाई सम्बोधन गर्दै उनले चुनावका क्रममा आफूले जनतासमक्ष राखेका प्रतिबद्धता पूरा गर्ने बताए ।

उनले वाम गठबन्धनले निर्वाचनमा बहुमतसहित विजय हासिल गरेकाले जनताको चाहनाअनुसार काम गर्ने बताए । महासचिव पोखरेलले सरकार गठनपछि आफूहरुको ध्यान चुनावका क्रममा मतदातासँग गरिएका प्रतिबद्धता पूरा गर्नतर्फ रहने बताए ।

हामीले चुनावमा जुन प्रतिबद्धता व्यक्त गरेका थियौं, ती प्रतिबद्धतालाई कतिपयले सपना भनेका थिए । तर हामी ती प्रतिबद्धतालाई पूरा गरेर मुलुकलाई विकास तर्फ लैजान्छौ, उनले भने । उनले चाँडै नै वाम गठबन्धनको सरकार बन्ने समेत बताए ।

निर्वाचन क्षेत्र नंं ५ मेडिकल कलेजको हब भएको भन्दै उनले जनतालाई स्थानीय सरकारसँग समन्वय गरेर स्वास्थ्य बीमा सञ्चालन गर्ने धारणा राखे ।

सभामा उनले गहनापोखरी, हाँडीगाउँ जस्ता ऐतिहासिक ठाउँलाई संरक्षण गर्ने समेत बताए । लैनचौरबाट शुरु भएको विजय र्याली रानीवारी, बसुन्धरा, धापासी, बूढानीलकण्ठ, चण्डौल, नक्साल हुँदै गहना पोखरीमा पुगी समापन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्