बैदेशिक रोजगारमा जाने पहाडी जिल्लाका महिला बढे



कुमार श्रेष्ठ, बाँके । मौसमी कामका लागि श्रीमानसँग भारत जाने पहाडी जिल्लाका महिलाहरु बैदेशिक रोजगारका लागि खाडी मुलुक जान थालेका छन् ।
६ नम्बर प्रदेशका पहाडी तथा हिमाली जिल्लाका महिलाहरु पनि पछिल्ला दिनमा दलालको प्रलोभनमा परेर जोखिमपूर्ण तरिकाले भारत हुँदै खाडी जान थालेका हुन् । जाजरकोट, रुकुम, रोल्पा, दैलेख, सल्यान, प्यूठान, जुम्ला, मुगु जिल्लाका महिलाहरु खाडी जान थालेका हुन् ।
भारत हुँदै खाडीमुलुकमा महिलालाई बैदेशिक रोजगारमा पठाउने व्यक्तिले पहाडी जिल्लाहरुमा पनि ‘एजेन्ट’ परिचालन गरेपछि त्यहाँबाट खाडी मुलुक जाने महिला बढेका हुन् । मानव बेचबिखन तथा ओसारपसार विरुद्ध काम गर्ने माइती नेपाल, नेपालगञ्जका संयोजक केशव कोइरालाले बैदेशिक रोजगारमा नजाने पहाडी तथा हिमाली जिल्लाका महिलाहरु पछिल्ला दिनमा जोखिमपूर्ण यात्रामा निस्केको बताउनुभयो । ‘मौसमी कामका लागि श्रीमानसँग भारत जान्थे । अहिले दलालको पछि लागेर खाडी मुलुक जान थालेका छन्, कोइरालाले भन्नुभयो, अहिले पहाडी तथा हिमाली जिल्लाबाट पनि बैदेशिक रोजगारमा गएर हराएका धेरै निवेदन आउन थालेका छन् ।’
साउनदेखि कात्तिक १५ गतेसम्ममा बैदेशिक रोजगारका लागि घरबाट हिडेका ३ सय ३९ जना महिलालाई नेपालगञ्ज नाकाबाट फिर्ता गरिएको छ । उनीहरु रोजगारका लागि भारत र खाडीमुलुक जादै थिए । नेपालगञ्ज नाकाबाट बैदेशिक रोजगारका लागि भारत हुँदै जान थालेका मासिक सय बढी महिलाहरुलाई प्रहरी र माइती नेपालले रोकेर फिर्ता पठाउने गर्दछ ।
चार महिनाको अवधिमा २ सय ८५ वटा खोजतलासको निवेदन आएको छ । दलालको फन्दामा परेर घरबाट सल्लाह अनुसार बैदेशिक रोजगारमा निस्केपनि लामो समयसम्म फोन सम्पर्क नभएपछि घरपरिवारले प्रहरी र मानव बेचबिखन तथा ओसारपसार विरुद्ध काम गर्ने संघ संस्थामा खोजतलासका लागि निवेदन दिने गरेको पाइन्छ । बाँकेमा वर्षेनी यस्ता निवेदनको संख्या बढ्दै गएको छ । आर्थिक वर्ष २०७३÷०७४ मा यस्तो निवेदन ७ सय ८० वटा थियो ।
पहाडी तथा हिमाली जिल्लाबाट खोजतलासको निवेदन अधिक आएका छन् । गतवर्ष सल्यानमा ५०, जाजरकोट ४९, दैलेख ३२, रुकुम २९, जुम्ला र रोल्पा ११÷११, कालिकोट ९, मुगु ५, प्यूठान ४, हुम्ला ३ जना थिए । यो वर्ष सल्यानका ४२, रोल्पाका ३८, रुकुमका ६२, जाजरकोटका २९, दैलेख ३८, प्यूठान १२, कालिकोट ९ र डोल्पाका दुई जना महिलालाई नेपालगञ्ज नाकाबाट फिर्ता गरिएको थियो ।
बैदेशिक रोजगारका लागि १८ वर्ष मुनिका किशोरीहरु पहिलो रोजाईमा पर्ने गरेका छन् । गतवर्ष १८ वर्ष मुनिका २ सय ७९, १६ वर्ष मुनिका १ सय ४७ र १८ वर्ष माथिका ३ सय ५४ जना महिलाको खोजतलासको निवेदन आएको थियो ।
दशैं, तिहार र चुनावले गर्दा बैदेशिक रोजगारमा जानेको संख्या अलिकति घटेको देखिन्छ । मासिक सय बढीलाई नाकाबाट घर फिर्ता गरेपनि छोटी नाका तथा भीडभाडमा भारत तथा भारत हुँदै खाडीमुलुकमा बैदेशिक रोजगारका लागि महिलाको संख्या अधिक रहेको छ ।
आफ्नो खेतको उब्जनीले वर्षभरी खाना नपुग्ने पहाडी तथा हिमाली जिल्लाका पुरुषहरु सपरिवार रोजगारका लागि भारत जाने गरेको बेला पछिल्ला दिनमा महिलाहरु बैदेशिक रोजगारमा जान थालेका हुन् । पहाडी तथा हिमाली जिल्लामा श्रीमान–श्रीमती नै बैदेशिक रोजगारका लागि जानेक्रम बढ्न थालेको सम्बद्धहरु बताउँछन् । ‘राम्रो काम र दाम’को लोभ देखाउदै दलालले पहाडी तथा हिमाली जिल्लाका महिलालाई पनि बैदेशिक रोजगारतिर आकर्षित गरिरहेका छन् । नेपालबाट नभई भारत हुँदै खाडीमुलुक पठाउनाले बैदेशिक रोजगारमा जानेहरु जोखिममा पर्ने गरेका छन् । बैदेशिक रोजगारमा गएर पैसा कमाएर आएकाहरुको देखासिकीले गर्दा भारत हुँदै जोखिम मोलेर जानेहरुको संख्या बढ्दो रहेको छ ।
बैदेशिक रोजगारका लागि खाडी मुलुक जानेमा बाँके, बर्दिया, दाङ, सुर्खेत जिल्ला अगाडि आउँछन् । पूर्वी नेपालका पहाडी जिल्लाबाट पनि नेपालगञ्ज नाका हुँदै खाडीमुलुक जाने गरेको पाइन्छ । यद्यपि, यो नाकामा प्रहरी र मानव बेचबिखनविरुद्ध काम गर्ने संघ संस्थाले कडाई गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्