पर्सामा मधेशवादी गठबन्धनको बर्चश्व, बाम र लोकतान्त्रिक शुन्य



कृष्णउदास खनाल,वीरगन्ज ।

मधेश आन्दोलनको समयमा केन्द्रबिन्दु बनेको पर्साको सदरमुकाम वीरगन्ज सहित सबै चारवटै प्रतिनिधि सभामा मधेशवादी दलहरुले बश्चर्व जमाउन सफल भएका छन् ।

नेपाली काँग्रेस र एमालेका पूर्व सांसद तथा मंत्री समेतलाई पराजित गर्दै एकजना बाहेक सबै नयाँ अनुहारले पर्सामा बिजयी हासिल गरेका छन् । चारवटै निर्वाचन क्षेत्रमा मधेशवादी दलहरुका उम्मेदवारहरुले बिजयी हासिल गरेका हुन् । पर्सामा क्षेत्र नम्बर १ र २ मा नेपाली कांग्रेसले आफू आउने दाबी गरेको थियो भने क्षेत्र नम्बर २ र ४ मा भने बाम गठबन्धनहरुको दाबी थियो । यद्यपी यी सबै दाबीलाई समेत पराजित गर्दै पर्साको प्रतिनिधि सभा तर्फको सबै निर्वाचन क्षेत्रमा मधेशवादी दलको गठबन्धनले बिजयी हासिल गरेको छ ।
उधोगी समेत रहेको र पहिला समानुपातिकका तर्फबाट सांसद बनेका अनिल रुंगटालाई पर्साको क्षेत्र नम्बर १ बाट फोरम राजपा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका फोरम नेपालका जिल्ला अध्यक्ष समेत रहेको प्रदीप यादवले पराजित गरेका छन् ।

यादवले झण्डै सांढे चार हजार मत अन्तरले रुंगटालाई पराजित गरेका हुन् । स्थानीय चुनावमा पनि वीरगन्जको मेयरमा भने फोरमकै उम्मेदवार बिजयी सरावगी बिजयी भएपनि उपमेयरमा कांग्रेसकी शान्ति कार्की बिजयी भएकाले कांग्रेसजनमा १ नम्बर क्षेत्र आफ्नो पोल्टामा पर्ने आश रहेको थियो । प्रदीप यादव पहिलो पटक सांसद बनेका हुन् ।
यसरी नै क्षेत्र नम्बर २ मा पनि फोरम र राजपा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका बिमल श्रीवास्तव बिजयी भएका छन् । पटक पटक पार्टी परिवर्तन गरेको आरोप खेपेका श्रीवास्तव अन्ततः नेपाली कांग्रेसका पूर्व मंत्री र सांसद समेत रहेका अजय चौरसियालाई झण्डै ६ हजार मतले पराजित गरेका हुन् । स्थानीय तहको चुनावमा राजपाका तर्फबाट वीरगन्ज महानगरपालिकाको मेयरमा उठेका उनी उत्तिमेला भने पांचौं नम्बरमा परेका थिए ।

शुरुमा फोरम लोकतान्त्रिकमा रहेको श्रीवास्तव सो पार्टीले मेयर पदमा टिकट नदिएपछि राजपा भएका थिए र राजपाबाट पनि पराजित भएपछि फोरम नेपालमा प्रवेश गरेका थिए । उनी वीरगन्जको मेयर पदमा पटक पटक गरी ४ पटक भने बिजयी भएका ब्यक्ति हुन् । उनीपनि पहिलो पटक सांसद बनेका हुन् ।

पर्साको क्षेत्र नम्बर ३ मा पनि फोरमका उम्मेदवार हरिनारायण रौनियारले बिजयी हासिल गरेका छन् । ठेकेदार समेत रहेको रौनियारले नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति एवम् पूर्व मंत्री समेत रहेका सुरेन्द्र चौधरीलाई करिब दुई हजार मत अन्तरले पराजित गरेका हुन् ।

उनीपनि पहिलो पटक संसद भवनमा छिदैछन् । पर्साको क्षेत्र नम्बर ४ मा भने पहिला मंत्री समेत बनेका राजपाका नेता लक्ष्मणलाल कर्ण बिजयी भएका छन् । नेपाली कांग्रेसका अनुशासन समितिका सदस्य रमेश रिजाललाई चार हजार मतको अन्तरले पराजित गरेका हुन् । २०७० सालमा त्यही निर्वाचन क्षेत्रबाट बिजयी बनेका रिजाललाई यस पटक भने त्यस क्षेत्रका जनताले पराजित गरिदिएका हुन् । प्रतिनिभि सभा तर्फ चारवटा निर्वाचन क्षेत्र रहेको पर्सामा कर्ण बाहेक अन्य तीनजना भने पहिलो पटक संसद भवन छिर्दैछन् । चुनावमा अपेक्षित परिणाम आएपनि बाम र कांग्रेस आन्तरिक छलफलमा जुटेका छन् भने मधेशवादी दलहरु भने बिजय जुलुसमा सहभागी भइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्