समानुपातिकमा काँग्रेस पहिलो



बागलुङ,  प्रत्यक्षतर्फ जिल्लाका सबै निर्वाचन क्षेत्रमा हार ब्यहोरेको नेपाली काँग्रेस समानुपातिक मतमा भने पहिलो दल बनेको छ ।

प्रतिनिधि र प्रदेशसभा गरी दुवैतर्फ काँगेसले अन्य दलभन्दा बढी मत पाएको छ । काँगेसले प्रतिनिधिसभातर्फ ३५ हजार ६६८ र नेकपा(एमाले)ले ३० हजार ६३५ ल्याएका छन् ।

समानुपातिकमा तेस्रो स्थान ओगटेको राष्ट्रिय जनमोर्चाले १५ हजार ९३४ मत पाएको छ । नेकपा (माओवादी केन्द्र)ले १४ हजार ४५० मत ल्याएर चौथो भएको छ । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले एक हजार २१२ तथा जिल्लामा संगठन नै नभएरको विवेकशील साझा पार्टीले एक हजार १९६ मत प्राप्त गरेका छन् ।

देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालले ८४९, नयाँ शक्ति पार्टीले ४०५, नेकपा(माले)ले ३६४ संघीय समाजवादी फोरम नेपालले २१४ र नेपाली जनता दलले १०५ मत ल्याएका छन् । कुल एक लाख ६७ हजार २८२ मतदाता रहेको बागलुङमा एक लाख आठ हजार १५१ मत खसेको थियो ।

जिल्लाका दुई प्रतिनिधि र चार प्रदेशसभामा प्रत्यक्षतर्फ वाम गठबन्धनका उम्मेदवार विजयी बनेका छन् । एमाले, माओवादी केन्द्र र राजमो गठबन्धन बनाएर चुनावी मैदानमा थिए भने काँग्रेसले एक्लै चुनाव लडेको थियो । विसं २०७० मा भएको चुनावमा जिल्लाका तीनै क्षेत्रमा जितेको काँग्रेसले यसपालि विरासत जोगाउन सकेन ।
रासस

प्रतिक्रिया दिनुहोस्