अन्तिम मतपरिणाम एक साता भित्रः आयोग



काठमाडौं । निर्वाचन आयोगले दुवै चरणका मत परिणाम आठ दिनभित्रै सार्वजनिक गर्ने बताएको छ ।

मत परिणामप्रति सबैको चासो रहने भन्दै प्रत्यक्षतर्फ चार दिनभित्र र समानुपातिकतर्फ आठ दिनभित्रै मतगणना सम्पन्न गर्नेे गरी आयोगले व्यवस्थापन गरेको जनाएको छ ।

मतगणना व्यवस्थापनबारे जानकारी दिन आयोगले मंगलबार पत्रकार सम्मेलनगरी आयोगले ‘मतदाता संख्या थोरै भएका क्षेत्रमा गणना सुरु भएको २४ घन्टाभित्रै प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको परिणाम आइसक्ने बतायो ।

मतदाताको अनुपातमा थप गणना टोली परिचालन गरी चार दिनभित्रै प्रत्यक्ष र आठ दिनभित्रै समानुपातिक तर्फको गणना सम्पन्न गर्न मुख्य निर्वाचन अधिकृतलाई निर्देशन दिएको आयोगको भनाई छ ।

स्थानीय तहको भन्दा छरितो मतपत्र भएकाले पनि आयोगले छोटै समयमा गणना सम्पन्न गर्ने विश्वास लिएको छ । दोस्रो चरणमा प्रतिनिधिसभातर्फ १ सय २८ र प्रदेशसभातर्फ २ सय ५६ सिटका लागि बिहीबार मतदान भएको थियो ।

यसअघि मंसिर १० मा पहिलो चरणमा प्रतिनिधिसभाका ३७ र प्रदेशसभातर्फ ७४ सिटको लागि निर्वाचन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्