आइक्यानलाई नोबेल शान्ति पुरस्कार प्रदान



ओस्लो (एजेन्सी)
परमाणु हतियार निरस्त्रिकरणका लागि अन्तर्राष्ट्रिय अभियान आइक्यानलाई नोबेल शान्ति पुरस्कार–२०१७ प्रदान गरिएको छ।
नर्वेको राजधानी ओस्लोमा आयोजित पुरस्कार ग्रहण समारोहमा अभियानकी प्रमुख बिट्रिस फिनले अमेरिका र उत्तर कोरियाबीच जारी तनावतिर संकेत गर्दै भनिन्– ‘हतारमा लिइने एक फैसला लाखौंको मृत्युको कारण बन्न सक्छ।’ उनले परमाणु हतियार समाप्त पार्नुबाहेक अर्को विकल्प नभएको बताइन्। त्यसो नभएमा उक्त हतियारले नै हामीलाई समाप्त पार्ने उनले बताइन्।

हालैका महिनामा उत्तर कोरिया र अमेरिकाबीच तनाव अन्त्यन्त बढेको छ। फिनले भनिन्– ‘शित युद्धको समयमा यस्तो आक्रमणको खतरा कम थियो। तर आज यो खतरा बढेको छ।’

पुरस्कार वितरणअगाडि नोबेल पुरस्कार समितिका ब्रिद रिस एन्डरसनले पनि त्यस्तै चेतावनी दिँदै गैर जिम्मेवार नेता कुनै पनि देशको सत्तामा आउन सक्ने बताए।

उनले आइक्यान परमाणु हतियारको खतराका बारेमा विश्वलाई सजक बताउन सफल रहेको र यस खतरालाई हटाउने दिशामा काम गरिरहेको बताए।

पुरस्कार समारोहमा हिरोसिमा बम हमला देखेकी ८५ वर्षीय सेत्सुको थुरलो पनि उपस्थित थिइन्। उनी पनि यस अभियानमा आबद्ध छिन्। सुत्सुकोले विश्वले आइक्यानको चेतावनीमाथि गम्भिरता पुर्वक विचार गर्नु पर्ने बताइन्।

हिरोसिमामा भएको परमाणु बम हमलामा सेत्सुकोलाई एउटा भवनको भग्नावशेषमा पुरिएको अवस्थामा उद्धार गरिएको थियो। उनका अनुसार त्यतिबेला उसँग कक्षामा बसिरहेका उनका कैयौं साथी जिउँदै जलेका थिए। आइक्यान सन् २००७ मा अस्तित्वमा आएको थियो र यो शुरूमा बारुदी शुरूङको प्रयोगमाथि प्रतिबन्द लगाउनका लागि चलाइएको अभियानबाट प्रेरित थियो। संगठनले परमाणु हतियारको मानवीय खतराका बारेमा नागरिक तथा सरकारलाई जागरुक बनाउने लक्ष्य लिएको छ।

जेनेभास्थित उक्त समूह सयौं गैर सरकारी संगठनसँग मिलेर बनेको हो। यो समूहले परमाणु हतियारमाथि प्रतिबन्द लगाउने विषयमा संयुक्तराष्ट्र सन्धि लागू गराउनमा महत्त्वपूर्ण भूमिका निभाएको छ। उक्त सन्धिमा यसै वर्ष हस्ताक्षर भएको थियो।

जुलाइमा १ सय २२ देशले उक्त सन्धिको समर्थन गरेका थिए। विश्वका ९ परमाणु शक्ति राष्ट्रले यसको बहिस्कार गरेका छन्। नेटोको एक मात्र सदस्य नेदरल्यान्डले यस विषयमा वार्ता गर्न तयार भएको थियो तर उसले यसको विरोधमा मतदान गरेको थियो।

उक्त सन्धि लागू गर्नका लागि कम्ीतमा ५० देशको अनुमोदन आवश्यक छ।

प्रतिक्रिया दिनुहोस्