काभ्रे वामपन्थीको किल्ला



मोतीराम तिमल्सिना, काभ्रेपलाञ्चोक

२०४८ र २०५१ सालमा सबै निर्वाचन क्षेत्रमा विजय हासिल गरेका वाम्पन्थीले २३ वर्षपछि आफ्नो वर्चश्व फर्काएका छन्। प्रतिनिधिसभाका २ वटा र प्रदेश सभाका ४ वटै निर्वाचन क्षेत्रमा फराकिलो मतान्तरले वाम गठबन्धनका उम्मेदवारहरूले जित हात पारेका हुन्।

प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा गठबन्धनतर्फको नेकपा एमालेका उम्मेदवार गोकुल बास्कोटा १७ हजार ८ सय ४८ मतसहित फराकिलो मतान्तरले विजय भए। बास्कोटाले ९९ हजार ३ सय २८ मा बास्कोटाले ५४ हजार ४ सय २७ मत प्राप्त गरे। निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका मधुप्रसाद आचार्यले ३६ हजार ५ सय ७९ मत प्राप्त गरेका थिए। सोही क्षेत्रमा ४ हजार ९९ मत बदर भएको छ। सूर्य चिह्नजस्तै देखिने नेपाली जनता दलले १ हजार ८८ मत प्राप्त गरेको थियो। बास्कोटा २०७० को संविधानसभाको निर्वाचनमा थोरै मतान्तरले पराजित भएका थिए। अहिले ५० हजारभन्दा धेरै मत ल्याउने उम्मेदवारमध्ये बास्कोटा तेस्रो हुन्।

सोही प्रतिनिधिसभाको प्रदेशसभा–१ मा नेकपा एमालेका लक्ष्मण लम्साल २७ हजार ६ सय २१ मत ल्याएर विजयी भए। ११ हजार ३२ मतान्तरले नेपाली कांग्रेसका सुरन्दरमणि आचार्यलाई पराजित गरेका हुन्। आचार्यको १६ हजार ५ सय ८९ मत प्राप्त गरेका छन्। प्रदेससभा–२ मा नेकपा एमालेका वसुन्धरा हुमागार्इंले २८ हजार ६ सय ७७ मत प्राप्त गरे। हुमागार्इंले नेपाली कांग्रेसका कञ्चनचन्द्र वादेलाई ६ हजार ८ सय ९७
मतान्तरमा पराजित गरे।

राज्यमन्त्रीसमेत भइसकेका बनेपाका रैथाने वादेकलाई २१ हजार ७ सय ८० मत प्राप्त भएको थियो। प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका गंगाबहादुर दोङ बमध्वजले ४३ हजार ६ सय ३१ मत प्राप्त गरे। निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका तीर्थ लामाले ३९ हजार ६ सय ५ मत प्राप्त गरे। ४ हजार २६ मतान्तरले बमध्वज विजयी भएका हुन्।
प्रदेशसभा १ मा नेकपा माओवादी केन्द्रका रत्न ढकालले २५ हजार १ सय ६ मत प्राप्त गरे। निकटतम प्रतिद्वन्द्वी सिवी लामाले ७ हजार ८ सय ५५ मत प्राप्त गरेका थिए। ७ हजार २ सय ५१ मतान्तरले ढकालले लामालाई पराजित गरेका हुन्।

प्रदेशसभा–२ मा गणेश लामालाई पराजित गर्दै एमाले निकट युवा संघका केन्द्रीय उपाध्यक्ष चन्द्र लामाले ४ हजार १ सय ७७ मतान्तरले पराजित गरे। चन्द्रले २४ हजार ४ सय ४७ मत प्राप्त गरेका थिए भने गणेशले २० हजार २ सय ७० मत प्राप्त गरेका थिए।

प्रतिक्रिया दिनुहोस्