चलचित्र विकास बोर्ड अध्यक्षमा पहिलोपटक महिला, बक्स अफिस लागू गर्ने निकिताको लक्ष्य



चलचित्र विकास बोर्डको रिक्त अध्यक्ष पदमा सरकारले पहिलोपटक महिलालाई नियुक्त गरेको छ। राजनैतिक खिचातानी र फिल्मकर्मीबीचकै हानथापका कारण ५ महिनादेखि रिक्त बोर्डको अध्यक्षमा सरकारले निकिता पौडेललाई नियुक्त गरेको छ।

नेपाली फिल्म क्षेत्रको विकास र विस्तारका लागि फिल्मकर्मीले लामो समयसम्म गरेको आन्दोलनको प्रतिफलस्वरूप गठित बोर्डमा पहिलोपटक महिला नेतृका रूपमा निकिता पौडेललाई नियुक्त गरेको हो। टिभी फिल्मी र रेडियो फिल्मीको सञ्चालकसमेत रहेकी पौडेल फिल्म निर्माता, निर्देशक, वितरक तथा प्रदर्शक एवं राजनीतिज्ञ उद्धव पौडेलको छोरी पनि हुन्। उनले आफ्नो कार्यकालमा दोलखामा फिल्म सिटी निर्माण गर्ने, बक्स अफिस लागू गर्ने, नेपाली फिल्मको विदेश प्रदर्शन व्यवस्थालाई सहज बनाउने, निर्माता, निर्देशक, कलाकार तथा प्राविधिकको संरक्षणका निमित्त महत्त्वपूर्ण काम गर्ने, विदेशी फिल्मको नेपालमा छायांकन सहज र वृद्धि गर्ने लक्ष्य राखेकी छिन्।

यसअघि सरकारले तोकेको मापदण्ड र योग्यता खुलाई बोर्डको रिक्त अध्यक्ष पदका दरखास्त आह्वान गरेको थियो भने निकितासँगै १३ जना फिल्मकर्मीले रित पुर्याई दरखास्त भरेका थिए। सोही दरखास्तको आधारमा सूचना तथा सञ्चार मन्त्रालयले निकिताका साथ योगेश घिमिरे, सागर उद्गम (पराजुली), नरेशकुमार केसी, विशाल श्रेष्ठ, सुष्मा कार्की, सुचित्रा श्रेष्ठ, मनीष पण्डित, सुदीप रेग्मीलगायत १२ जनालाई सो पदका लागि चयन गरेको थियो। त्यसमध्ये मन्त्रिपरिषद्मा निकिताका साथमा मनीष पण्डित र नरेशकुमार केसीको नाम पुगेको थियो भने सोमबारको मन्त्रिपरिषद् बैठकले निकितालाई बोर्ड अध्यक्षमा नियुक्त गरेको थियो। त्यसअघि सरकारले केही समयका लागि मन्त्रालयका सहसचिव रामचन्द्र ढकाललाई बोर्ड अध्यक्ष बनाएको थियो।

प्रतिक्रिया दिनुहोस्