नवलपरासी पूर्वमा वाम–कांग्रेस बराबरी



घनश्याम बगाले, नवलपरासी
विभाजित नवलपरासीको पूर्वी जिल्ला नवलपुरमा वाम गठबन्धन र कांग्रेसले बराबरी सिट हासिल गरेका छन्। प्रतिनिधसभाको २ तथा प्रदेशसभाका ४ सिटमा नेपाली कांग्रेसले १ प्रतिनिधि तथा २ प्रदेशमा जित हासिल गरेको छ।

त्यसै गरी वाम गठबन्धनबाट यहाँको २ नं. प्रतिनिधिसभा र २ प्रदेशसभाका उम्मेदवार विजयी भएका हुन्। नवलपुर क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला विजयी हुनुभएको छ। कोइरालाले वाम गठबन्धनबाट उठेका माओवादी केन्द्रका उम्मेदवार भविश्वर पराजुलीलाई ४ हजार २४ मतले पराजित गर्नुभएको हो। जिल्ला निर्वाचन कार्यालय नवलपुरले घोषणा गरेको नतिजाअनुसार कोइरालाले ४० हजार ६ सय २० मत प्राप्त गर्नुभएको थियो भने पराजुलीले ३६ हजार ५ सय ९६ मत ल्याउनुभएको थियो।

नवलपुरको १ नं. क्षेत्रबाट यो तेस्रो पटकको जितसहितको ह्याट्रिक हो। यसै गरी १ नम्बर क्षेत्रकै प्रदेश ‘क’बाट नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली १७ हजार ६ सय ८३ मत ल्याएर विजयी हुनुभयो भने प्रदेशसभा ‘ख’मा नेकपा एमालेका रोशनबहादुर गाहा विजयी हुनुभएको छ। गाहाले १७ हजार ९ सय ७७ मत ल्याउनुभएको थियो।

क्षेत्र नं. २ को प्रतिनिधिसभामा नेकपा एमालेका वैकल्पिक केन्द्रीय सदस्य तिलक महत विजयी हुनुभएको छ। महतले नेपाली कांग्रेसका विष्णु कार्कीलाई ३९ हजार ५३ मतका साथ पराजित गर्नुभएको हो।

२ नम्बरको प्रदेश ‘क’बाट नेपाली कांग्रेसका विष्णुप्रसाद लामिछाने १९ हजार २ सय २२ मत ल्याएर विजयी हुनुभएको छ भने ‘ख’बाट १९ हजार ३ सय ७६ मत प्राप्त गरी एमालेका जनकलाल श्रेष्ठ विजयी हुनुभयो।
यसरी नै पश्चिम नवलपरासीमा प्रतिनिधिसभाका लागि नेपाली कांगेसका देवेन्द्रराज कँडेल ३४ हजार १ सय ३३ र सूर्य चिह् लिएर उठ्नुभएका हृदयेश त्रिपाठी ३८ हजार ५ सय १२ मत ल्याई विजयी हुनुभएको छ।
यहाँका ४ प्रदेशसभा सिटमा नेकपा एमाले वैजनाथ चौधरी, दीपेन्द्र अधिकारी र अजय शाही विजयी हुनुभएको छ भने १ सिटमा नेपाली कांगे्रसका वैजनाथ कलवारले जित हासिल गर्नुभएको छ।

जिल्ला निर्वाचन कार्यलयको चुनावी नतिजा घोषणासँगै विजयी उम्मेदवारहरू बाजागाजासहित घरदैलो र्यालीमा निस्किएका छन् भने जिम्मेवार दलीय कार्यकर्ता समानुपातिक मत गणनामा जुटेका छन्।

प्रतिक्रिया दिनुहोस्