प्रधानमन्त्री देउवा धन्यवादका पात्र हुनुहुन्छः प्रचण्ड



नेपाल समाचारपत्र
काठमाडौं
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निर्वाचन सम्पन्न गरेकामा प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि धन्यवाद दिनुभएको छ। उहाँले अब सरकारबाट संविधानको मर्मअनुसार सहजरूपमा नयाँ सरकार निर्माणमा सहयोगको समेत अपेक्षा गरेको बताउनुभएको हो।

प्रचण्डले वाम गठबन्धनलाई नेपाली जनताले ऐतिहासिकरूपमा अनुमोदन गरेको भन्दै मतदाताप्रति आभार व्यक्त गर्नुभएको छ। सन्देशमार्फत संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान घोषणा भएपछिको प्रदेश र प्रतिनिधिसभाको पहिलो ऐतिहासिक निर्वाचनमा सिंगो देशको उल्लासपूर्ण सहभागिता र वाम गठबन्धनको विजयले समृद्धिको युग शुरु भएको बताउनुभएको हो।

चितवनको प्रधिनिधिसभा–३ बाट निर्वाचित भएपछि सोमबार एक विज्ञप्ति जारी गर्दै उहाँले वाम गठबन्धनको विजयसँगै देशमा राजनीतिक स्थायित्व र आर्थिक समृद्धिको नयाँ युग शुरु भएको बताउँदै वाम गठबन्धनलाई विजयी गराउन लाग्ने माओवादी केन्द्र र एमालेका देशैभरिका नेता–कार्यकर्तालाई बधाई दिनुभयो।

‘अहिलेको विजयलाई गठबन्धनले परीक्षा र जिम्मेवारीका रूपमा लिने र संयमपूर्वक राष्ट्रिय समृद्धिका लागि थप क्रियाशील भएर लाग्छौं’ –उहाँले भन्नुभएको छ। आफू र आफ्नो पार्टीमाथि विश्वास गर्ने चितवन क्षेत्र नं. ३ का सबै मतदाताप्रति आभार व्यक्त गर्दै आगामी दिनमा बिनाभेदभाव चितवनको साझा अभिभावक बन्ने र चितवनलाई आर्थिक समृद्धिको केन्द्र बनाएर समस्त राष्ट्रकै आर्थिक समृद्धिका लागि क्रियाशील रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। प्रचण्डले कांग्रेससहितको राप्रपा (प्रजातिन्त्रक) गठबन्धनका नेता विक्रम पाण्डेलाई ९ हजार ३ सय ४१ मतान्तरले पराजित गर्दै विजयी हुनुभएको हो। प्रचण्डले ४८ हजार २ सय ७६ मत प्राप्त गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्