दउवा सरकारलाई एमालेको चेतावनी– नयाँ सरकारले अहिलेका निर्णयलाई निरन्तरता दिनेछैन



नेपाल समाचारपत्र, काठमाडौ ।
नेकपा एमालेले सरकार कामचलाउ अवस्थामा रहेर पनि विभिन्न राजनीतिक नियुक्ति गरेको भन्दै आक्रोश व्यक्त गरेको छ ।

महासचिव ईश्वर पोखरेलले जारी गरेको विज्ञप्तिमा सरकार कामचलाउ हैसियतमा पुगेर पनि राजनीतिक नियुक्ति गरिएको भन्दै आक्रोश व्यक्त गरिएको छ ।जारी गरिएको उक्त विज्ञप्तीमा भनिएको छ, “प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन सम्पन्न भएलगत्तै काम चलाउ हैसियतमा सीमित हुनपुगेको वर्तमान सरकारले विभिन्न निकायमा राजनीतिक नियुक्तिहरू गरेको र गर्न लागेको विषयप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । प्रदेश प्रमुख र त्यससँग सम्बन्धित विभिन्न निर्णयहरु गर्न लागेको सूचनाप्रति हाम्रो ध्यानाकर्षण भएको छ ।

यसैगरी गोरखापत्र संस्थान, दुग्ध विकास संस्थान, चलचित्र विकास बोर्ड र राष्ट्रिय आमसञ्चार प्रतिष्ठान लगायतमा नियुक्ति गरी मौका छोप्न खोज्नु सरकारको दुराशय र जनादेशविपरीत कदम हो । यस्ता गलत निर्णयहरू गर्न स्थायी सरकार मानिने निजामती कर्मचारीका सम्बन्धित जिम्मेवार पदाधिकारीलाई समेत संलग्न नहुन हामी सचेत गराउन चाहन्छौं ।

नेपाली जनताले वाम गठबन्धनलाई दुई तिहाई बहुमतको समर्थन प्रदान गरी निर्वाचित गरेको आजको सन्दर्भमा यस्ता जुनसुकै निर्णयको निरन्तरता नयाँ सरकारले किमार्थ नदिने समेत सबैमा स्पष्ट गर्दछौं ।”

प्रतिक्रिया दिनुहोस्