‘हेभी वेट’का नेताहरु यसकारण हारे !



काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा उपप्रधानमन्त्री एवं गृहमन्त्री तथा पार्टीमा प्रभाव राख्ने शीर्षस्थ नेताहरु नै पराजित भएका छन् ।

नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका दोस्रो तहका नेताको पराजय भएको छ । कांग्रेसका वरिष्ठ नेता एवं पूर्वउपसभापति रामचन्द्र पौडेल, एमाले उपाध्यक्ष वामदेव गौतम, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठसमेत पराजित भएका छन् ।

वर्तमान सरकारका उपप्रधानमन्त्रीसमेत रहेका कमल थापा मकवानपुरबाट पराजित भएका छन् । नेकपा एमालेका कृष्णप्रसाद दाहालले पराजित गरेका हुन् । मकवानपुर क्षेत्र नं १ को प्रतिनिधिसभाका लागि भएको निर्वाचनमा दाहालले ४० हजार ६३१ मत ल्याउँदा उनका प्रतिस्पर्धीसमेत रहेका उपप्रधानमन्त्री एवं ऊर्जामन्त्री थापाले ३४ हजार ६५८ मत प्राप्त गरे ।

यस्तै पूर्व उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधि राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोसँग पराजितभए । राजपा अध्यक्ष मण्डलका सदस्य महतोले निधिलाई झण्डै तीन हजार मतान्तरले पराजित गरेका हुन्। उनले ३० हजार ७४२ मत प्राप्त गरे । निकटतम प्रतिद्वन्द्वी निधिले २७ हजार ८२८ मत ल्याए ।

यस्तै पूर्वसभामुख, पूर्वउपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पनि एमाले उम्मेदवारसँग पराजित हुनुप¥यो । विसं २०७० सालको चुनावमा पौडेलले किसनकुमार श्रेष्ठलाई पराजित गरेका थिए । अन्तिम मतपरिणामअनुसार उनै श्रेष्ठले ३४ हजार ४८९ मत पाउँदा पौडेलले २७ हजार ६ सय ७५ मतमा चित्त बुझाउनुप¥यो ।

वाम गठबन्धनका सुत्राधारसमेत रहेका नेकपा माओवादी केन्द्रका नेता एवं पूर्व उपप्रधान एवं गृहमन्त्री श्रेष्ठ आफ्नै पूर्वसहकर्मी डा.बाबुराम भट्टराईबाट पराजित हुनुप¥यो । यस्तै अर्का पूर्व उपप्रधान एवं गृहमन्त्री गौतम वर्तमान सरकारका सिँचाइमन्त्री सञ्जय गौतमसँग पराजित हुनुप¥यो ।

बर्दिया क्षेत्र नं १ मा एमालेका उपाध्यक्ष गौतम ७५३ मतान्तरले पराजित हुँदा काँग्रेस नेता सञ्जयले ४४ हजार ८२९ मत प्राप्त गरे ।

यस्तै, पाँचपटक अर्थमन्त्री भइसकेका काँग्रेसका प्रभावशाली नेता डा. रामशरण महत आफ्ना पूर्वचिरपरिचित प्रतिस्पर्धी हितबहादुर तामाङसँग पराजित भए । नुवाकोट क्षेत्र नं १ बाट माओवादी केन्द्रका नेता तामाङ ३६ हजार ४७३ मत प्राप्त गरी जिजयी हुँदा कांग्रेस नेता डा.महतले २७ हजार ९२० मत प्राप्त गरेका छन् । विजयी तामाङले डा.महतलाई तेस्रो प्रयासमा पराजित गरे ।

कांग्रेसका अर्का प्रभावशाली एवंम् पटकपटक मन्त्री भएका अर्जुननरसिंह केसीले पनि पराजयको स्वाद चाख्नुप¥यो । प्रदेशसभामा नेता केसीका भाइ जगदीश्वरनरसिंह केसी पनि पराजित भए । एमालेका जिल्ला अध्यक्ष नारायण खतिवडाले नुवाकोट २ मा १० हजार मतान्तरले पराजित गरेका अर्जुननरसिंह २६ हजार ३३५ मतमा रोकीए । खतिवडाले ३६ हजार ८९२ मत प्राप्त गरे ।

यस्तै पूर्वअर्थमन्त्री एवं कांग्रेस नेता महेश आचार्य, प्रभावशाली नेता डा.शेखर कोइरालाले पनि पराजय व्योहोर्नु परेको छ । यस्तै पूर्वगृहमन्त्री पूर्णबहादुर खड्काले पनि यस पटकको निर्वाचनमा विजय हासिल गर्न सकेनन् । पटकपटक मन्त्री बनेका डा.प्रकाशशरण महत पनि एमाले महासचिव ईश्वर पोखरेलसँग पराजित भए ।

भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले पनि पराजयको स्वाद चाख्नुपरेको छ । उपाध्याय यसअघि मन्त्री पनि भएका थिए । उपाध्याय वाम गठन्धनका उम्मेदवार चक्रपाणि खनालसँग पराजित भए । कपिलवस्तु क्षेत्र नं १ बाट खनाल २९ हजार ७९९ मत प्राप्त गरी विजयी भएका हुन् । नालका निकटतम प्रतिस्पर्धी काँग्रेसका उपाध्यायले २८ हजार ८५३ मत प्राप्त गरे ।

पराजयको स्वाद चाख्नेको सूचीमा कांग्रेस प्रभावशाली नेता एवं पूर्वउपप्रधान एवं गृहमन्त्री कृष्ण सिटौला पनि छन् । राप्रपाका नेता राजेन्द्र लिङ्देन झापा क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यमा विजयी हुँदा सिटौलाले पराजय भोग्नुपरेको हो । लिङ्देनले ४४ हजार ६१४ मत ल्याउँदा काँग्रेस उम्मेदवार सिटौलाले ३१ हजार १७१ मत मात्र प्राप्त गरे ।

पराजय हुनेमा पूर्वमन्त्री नवीन्द्रराज जोशी पनि छन् । काठमाडौं क्षेत्र नं ८ मा एमालेका नेता जीवनराम श्रेष्ठसँग पराजित भए जोशी । श्रेष्ठले १३ हजार ३९७ मत पाउँदा जोशीले १२ हजार ९५३ मत पाएका थिए ।

केही हस्ती र हेवीवेट ठानिएका नेताहरु एक पछि अर्को गर्दै पराजित भइरहँदा प्रधानमन्त्री शेरबहादुर देउवाका पत्नी आरजु राणा देउवा पनि एमाले नेता नारदमुनि रानासँग पराजित भइन् ।

प्रतिक्रिया दिनुहोस्