इराकद्वारा इस्लामिक स्टेटविरुद्धको युद्ध समाप्त भएको घोषणा



बग्दाद, (एजेन्सी)
इराकले इस्लामिक कट्टरपन्थी संगठन इस्लामिक स्टेट विरुद्ध उसको लडाइँ समाप्त भएका घोषणा गरेको छ ।
इराकी प्रधानमन्त्री हैदर अल आबादीले बग्दादमा आयोजित एक प्रेस सम्मेलनमा इराकी सेनाले इराक–सिरियाली सीमामा पूर्ण नियन्त्रण हासिल गरिसकेको बताए। सीमामा अहिले पनि आईएसका केही इलाका बचेका थिए। यसअघि नोभेम्बरमा रवामा पनि इस्लामिक स्टेटलाई पछाडि हट्नुपरेको थियो।

इराकको उक्त घोषणा रुसी सेनाको घोषणापछि आएको हो। रुसी सेनाले सिरियामा आईएसलाई हराउने उसको मिसन पूरा भएको बताएको थियो।

सन् २०१४ मा कट्टरपन्थी समूह आईएसले सिरिया र इराकको ठूलो भूभाग कब्जामा लिएका थिए र त्यसलाई खलिफा घोषणा गदै एक करोडभन्दा धरै आवादीमाथि शासन गरेका थिए। यद्यपि विगत दुई वर्षमा आईएसलाई कयौं संघर्षमा पराजयको सामना गर्नुपरेको थियो। जुलाइमा इराकको दोस्रो ठूलो शहर मोसुलमा पनि उसले पराजयको सामना गुर्न पर्यो। आईएसको राजधानी मानिएको उत्तरी सिरियाको शहर राक्कामा विगत महिना उसले पराजयको सामना गर्नुपर्यो।

केही आईएस लडाकू सिरियाको ग्रामीण इलाकामा तितरबितर भएको र केही लडाकू टर्की सीमा पार भागेको आशंका गरिएको छ। आबादीले शनिबार भने– ‘हाम्रो सेनाले इराकी–सिरियाली सीमामा पुरै नियन्त्रण गरेको छ, त्यसैले दायस (आईएस) विरुद्ध युद्ध समाप्त गर्ने घोषणा गर्दछु।’
हाम्रो शत्रु हाम्रो सभ्यतालाई नष्ट गर्न चाहेका थिए। तर हामीले हाम्रो एकता र दृढ संकल्पबाट जित हासिल गरेका छौं। हामीले कम समय मै जित हासिल गरेका छौं।

इराकी सेनाले पनि एक विज्ञप्ती जारी गर्दै इराक आईएसबाट पूर्णरूपमा मुक्त भएको छ। गत महिना सिरियाली सेनाले आईएसको कब्जामा रहेको सिरियाको अन्तिम शहर अबलु कमाललाई पूर्ण रूपमा मुक्त गरेको बताएको थियो। बिहीबार रुसका सैन्य अपरेसनका प्रमुख कर्न जनरल सर्गेइ रुद्स्कोइले भनेका थिए– ‘रुसी सेनाको सिरियाली क्षेत्रमा आतंककारी संगठन इस्लामिक स्टेटलाई हराउने मिसन पूरा भएको छ।’

उनले सिरियामा रुसी सेनाको उपस्थिति शान्ति बहाली र युद्ध बिराममा केन्द्रित रहनेछ।

प्रतिक्रिया दिनुहोस्