म्याग्दीमा वाम गठबन्धनले मनायो विजयोत्सव



प्रताप बानियाँ, म्याग्दी
प्रतिनिधिसभामा एक र प्रदेशसभातर्फ दुईवटा निर्वाचन क्षेत्र रहेको म्याग्दी जिल्लामा वाम गठबन्धनका उम्मेदवारहरू निर्वाचित भएपछि सदरमुकाम बेनीमा विशाल र्यालीसहित विजयोत्सव मनाइएको छ। मंसिर १० गते पहिलो चरणमा सम्पन्न निर्वाचनमा म्याग्दीको सबै क्षेत्रमा वाम गठबन्धनका उम्मेदवारले विजय हासिल गरेपछि नेकपा एमाले र माओवादी केन्द्रको वाम गठबन्धनले संयुक्तरूपमा र्यालीसहित विजयोत्सव मनाएका हुन्।
प्रतिनिधिसभातर्फ नेकपा एमालेका वैकल्पिक केन्द्रीय सदस्य भूपेन्द्रबहादुर थापाले २३ हजार ३ सय ८, प्रदेशसभा (क)मा माओवादी केन्द्रका विनोद केसीले १४ हजार ७ सय ४ र प्रदेशसभा (ख)मा एमालेका पूर्वराज्यमन्त्री नरदेवी पुनले १० हजार ८ सय ६८ मत ल्याएर विजयी भएका छन्। कुल ७५ हजार ५ सय ३८ मतदाता रहको म्याग्दीमा मंसिर १० मा सम्पन्न निर्वाचनमा जम्मा ४७ हजार ४ सय ४९ मत मात्रै खसेको थियो।
प्रतिनिधिसभा र प्रदेशसभामा निर्वाचित वाम गठबन्धनको दुवै पार्टीका नेता, कार्यकर्ता, समर्थक, शुभेच्छुकहरू र मतदाता जिल्लाको गाउँगाउँबाट बेनीमा आएर विजय र्यालीमा सहभागी भएका थिए। विजयी उम्मेदवारहरूलाई नेता, कार्यकर्ता तथा मतदाताले अबिर र खादा लगाई बधाई दिनुका साथै विजयको खुसियाली साटासाट गरेका छन्।
बेनीको शहिद स्तम्भचोकबाट शुरू भएको विजय र्याली मंगलाघाट, हुलाकचोक, न्युरोड, क्याम्पसचोक, शिक्षामार्ग, हस्पिटलचोक, गणेशटोल, संगमचोक र बैंकरोड हुँदै खुलामञ्च पुगेर विजयी सभामा परिणत भएको थियो। र्यालीमा नौमती पञ्चेबाजासहित नेता एवं कार्यकर्ताले नाचगान गर्नुका साथै खुसियालीसमेत साटासाट गरेका थिए।
खुलामञ्चको सभामा प्रतिनिधिसभा र प्रदेशसभाका नवनिर्वाचित सदस्यहरूले निर्वाचनमा खटिने सम्पूर्ण नेता तथा कार्यकर्ता, मत दिने मतदाता र शान्तिपूर्णरूपमा निर्वाचन सम्पन्न गराउनेलाई धन्यवाद दिएका छन्। उनीहरूले अब देशको विकास र समृद्धिको नेतृत्व वामपन्थी पार्टीहरूको हातमा आएको बताउँदै नेपाली जनताको मुहारमा खुसी ल्याउने गरी काम गर्दै देश विकासमा लाग्ने उद्घोषसमेत गरेका छन्।
स्थानीय स्रोतसाधनको परिचालन गरी स्वदेशमै रोजगारको सिर्जना गर्ने र महिलाहरूलाई आयआर्जन तथा आत्मनिर्भर बन्ने खालका कार्यक्रमहरू सञ्चालन गर्ने तथा विदेशिने युवाहरूलाई स्वदेशमै कृषि, पर्यटन, जलविद्युत्, खनिजको उत्खनन् र परिचालनसहित काम गर्ने वातावरण निर्माण गर्ने निर्वाचित सदस्यहरूको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्