झापामा वाम गठबन्धनको क्लिन स्विप



उत्तम नेपाल⁄झापा

झापा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा झापामा वाम गठबन्धनले ‘क्लिन स्विप’ गरेको छ। प्रतिनिधिसभाअन्तर्गत झापाको ५ र प्रदेशसभाको १० क्षेत्रमा वाम गठबन्धनले भारी मतान्तरका साथ क्लिन स्विप गरेको हो।

झापामा नेकपा एमालेले २, ४ र ५ क्षेत्रमा उम्मेदवारी दिएको थियो। माओवादी केन्द्रले एक र राप्रपाले एक स्थानमा उम्मेदवारी दिएको थियो। प्रदेशसभामा माओवादी केन्द्रले दुई स्थानमा उम्मेदवारी दिएको थियो। राप्रपाले भने प्रदेशसभाका कुनै क्षेत्रमा उम्मेदवारी दिएको थिएन। प्रतिनिधिसभाअन्तर्गत झापाको क्षेत्र नम्बर १ मा माओवादी केन्द्रका स्थायी समिति सदस्य राम कार्कीले नेपाली कांग्रेसका केन्द्रीय सदस्य विश्वप्रकाश शर्मालाई २ हजार ८ सय ६३ मत अन्तरले हराएका छन्। कार्कीले ३६ हजार १ सय ७३ मत पाएका छन् भने शर्माले ३३ हजार ३ सय १० मत मात्र ल्याउन सफल भएका छन्।

क्षेत्र नम्बर २ मा वाम गठबन्धनअन्तर्गत नेकपा एमालेका उम्मेदवार पवित्रा निरौला खरेलले नेपाली कांग्रेसका जिल्ला सभापतिसमेत रहेका उम्मेदवार उद्धव थापालाई हराएकी छन्। खरेलले ४५ हजार ८ सय १७ मत प्राप्त गरेकी छन भने थापा ३२ हजार ५० मतमै सीमित भए। क्षेत्र नम्बर ३ मा गठबन्धनअन्तर्गत राप्रपाका महामन्त्रीसमेत रहेका राजेन्द्र लिङ्देनले भारी मतान्तरका साथ नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई पराजित गरेका छन्। उनले ४४ हजार ६ सय १४ मत प्राप्त गरे भने सिटौलाले ३१ हजार १ सय ७१ मतमा चित्त बुझाएका थिए।

क्षेत्र नम्बर ४ मा एमालेका उम्मेदवार लालप्रसाद साँवाले ४३ हजार ५ सय १५ मत प्राप्त गरे। उनले कांग्रेसका पूर्वजिल्ला उपसभापति देउकुमार थेवेलाई १६ हजार ६ सय ९३ मतले पराजित गरे। थेवेले २६ हजार ८ सय २२ मत प्राप्त गरेका थिए। बहुचर्चित झापा क्षेत्र नम्बर ५ मा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिस्पर्धीभन्दा दोब्बर बढी मत ल्याएर जित हासिल गरे। ओलीले ५७ हजार १ सय ३९ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी डा. खगेन्द्र अधिकारीले २८ हजार २ सय ९७ मत ल्याएका थिए।

प्रदेशसभाअन्तर्गत झापा–१ को ‘क’ मा गठबन्धनका एमाले उम्मेदवार श्रीप्रसाद मैनाली २२ हजार ९ सय ७२ मतका साथ जित हासिल गर्न सफल भए। उनले नेपाली कांग्रेसका केशवराज पाण्डेलाई ५ हजार ७ सय ३२ मत अन्तरले पराजित गरेका छन्। पाण्डेले १७ हजार २ सय ४० मत पाएका छन्।

झापा–१ को प्रदेशसभा ‘ख’ मा एमालेकै गोपालचन्द्र बुढाथोकीले नेपाली कांग्रेसका अशोककुमार पोखरेललाई ७ हजार ८ सय ६१ मतान्तरले पराजित गरेका छन्। बुढाथोकीले १७ हजार ८ सय ३९ मत ल्याए भने पोखरेलले ९ हजार ९ सय ७८ मत पाएका छन्।

झापा–२ को प्रदेशसभा ‘क’ मा एमालेका एकराज कार्कीले २१ हजार २ सय मतका साथ विजय हासिल गरेका छन्। उनका निकटम प्रतिस्पर्धी कांग्रेसका लक्ष्मण खड्काले १२ हजार ७ सय २२ मत प्राप्त गरेका थिए। प्रदेशसभा–२ मा एमालेका वृखबहादुर प्रधानले १८ हजार ३ सय १९ मत ल्याएर विजय हासिल गरेका छन्। उनका प्रतिस्पर्धी कांग्रेसका खड्गप्रसाद प्रसाईंले १३ हजार ५ सय ५४ मत प्राप्त गरेका थिए।

झापा–३ को प्रदेशसभा ‘क’ मा एमालेका वसन्तकुमार बानियाँले २२ हजार ५ सय ५३ मत ल्याएर विजयी बनेका छन्। उनका प्रतिस्पर्धी कांग्रेसका भूमिप्रसाद राजवंशीले १७ हजार ५ मत ल्याएका छन्। प्रदेशसभा–२ मा माओवादी केन्द्रका पूर्णप्रसाद राजवंशीले २२ हजार ६५ मत ल्याएर विजयी बनेका छन्। उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका भगिरथ पोद्दारले १४ हजार ७ सय ३५ मतमा चित्त बुझाए। झापा–४ को प्रदेससभा ‘क’ मा माओवादी केन्द्रका झलकबहादुर दर्लामी मगरले १७ हजार २ सय ५६ मतका साथ जित हासिल गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका किरण भट्टराईले १२ हजार ४ सय ८१ मत ल्याएका छन्। प्रदेशसभा–२ मा एमालेका हीराकुमार थापाले २४ हजार ९ सय १ मत ल्याएर विजय हासिल गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी उत्तमकुमार शर्मा सुवेदीले १४ हजार ९ सय ६५ मत ल्याएका छन्।
झापा–५ को प्रदेशसभा ‘क’ मा एमालेका हिक्मतकुमार कार्कीले २४ हजार ९८ मतका साथ जित हासिल गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका अनिलकृष्ण प्रसार्इंले १८ हजार ६ सय ३६ मतमा चित्त बुझाए।

झापा–५ को प्रदेशसभा ‘ख’ मा एमालेका अर्जुन राईले ३० हजार ९ सय ७३ मत ल्याएर विजय हासिल गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी राजनबहादुर ढुंगानाले १० हजार ९ सय ९३ मत ल्याए। झापासहितका पूर्वका चार जिल्लामा नेकपा एमाले, माओवादी केन्द्र र राप्रपाबीच चुनावी समीकरण भएको थियो। झापाको क्षेत्र नम्बर ३ मा राप्रपालाई छोडेको वाम गठबन्धनलाई राप्रपाले चार जिल्लामा समर्थन गरेर कुनै स्थानमा उम्मेदवारी दिएको थिएन। झापा–३ मा जित निकालेसँगै राप्रपाले राष्ट्रिय दलको मान्यता पाउने सम्भावना बढेको छ। राप्रपाले देशका अन्य कुनै क्षेत्रमा हालसम्म पनि अग्रता तथा जित निकाल्न सकेको छैन। राष्ट्रिय दलको मान्यताका लागि प्रत्यक्षमा १ सिट र समानुपातिकमा कम्तिमा ३ प्रतिशत मत ल्याएको हुनुपर्ने प्रावधान छ।

मंसिर २१ गतेसम्पन्न भएको निर्वाचनको परिणाम ४ दिनमा शान्तिपूर्ण तरिकाले मतगणना सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय झापाले जनाएको छ। झापामा ५ लाख ८५ हजार १ सय ६६ मतदाता रहेका थिए भने १ सय ४१ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए। २ सय ८३ मतदानस्थल र ६ सय ९२ केन्द्र रहेका थिए।

प्रतिक्रिया दिनुहोस्