जोफेनलाई मिस



नेसनल आइकनको ताजसँगै कार पुरस्कार

ताप्लेजुङ ओलाङ्चुङ्गलाकी जोफेन लामाले शनिबार जब मिस नेसनल आइकन–२०१७ को शीर्ष ताज पहिरिइन्, उनका आँखा खुसीको आँसुले रसाउन पुगे।

राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा शनिबार साँझ अबेर सम्पन्न प्रतियोगितामा जोफेनले ताजसहित पुरस्कारस्वरूप १८ लाख मूल्य बराबरको ड्याट्सन कार पनि जितिन्।

मिस नेसनल आइकनको उपाधिसँगै कार प्राप्त गरेपछि जोफेनले भनिन्– ‘आज मेरो खुसीको सीमै छैन। म यतिमात्र भन्छु, ताजसँगै कार जित्नु मेरो लागि अहोभाग्य हो।’

ब्राइट इन्टरटेनमेन्टले पहिलोपटक राजधानीमा आयोजना गरेको मिस नेसनल आइकनमा जोफेनले आफ्ना २० प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि चुमेकी हुन्। जोफेनले मिस नेसनल आइकनको उपाधि पाएसँगै आफूमा जिम्मेवारी थपिएको पनि बताइन्।

प्रतियोगितामा प्रियंका पुरी फस्ट रनर्सअप भइन्। प्रियंकाले उपाधिसँगै यमाहाको रेजी स्कुटी पाइन् भने सेकेन्ड रनर्सअप भएकी मेरिना तुम्सा लिम्बुले नगद ५० हजार प्राप्त गरिन्। तीनैजना विजेतालाई स्टेजमै कार, स्कुटी र नगद प्रदान गरिएको थियो। कतिपय सौन्दर्य प्रतियोगितामा पुरस्कारको नाममा ब्ल्यान्क चेक दिएर टार्ने भएकाले स्टेजमै हस्तान्तरण गरिएको ब्राइट इन्टरटेनमेन्टका अध्यक्ष तथा गायक धनीराम राईले बताए। उनले सौन्दर्य प्रतियोगिताको शाख खस्किरहेका बेला गरिमा बढाउन कार, स्कुटी र नगद प्रदान गरेको बताए।

सञ्चारकर्मी तथा कोरियोग्राफर कला सुब्बाको कोरियोग्राफीमा आयोजित प्रतियोगितामा विभिन्न सबटाइटल पनि प्रदान गरिएको थियो। जसमा रश्मी आलेमगर मिस फोटोजेनिक, निर्मला तामाङ मिस बब्ली, इन्दिरा राई मिस डिसिप्लेन, लेला राई स्टाइलिस, जस्मिन मानन्धर मिस एक्टिभ र ऐश्वर्या राईले बेस्ट पपुलर अवार्ड पाए। प्रतियोगितामा निरा फागो बेस्ट स्माइल, साइना सुब्बा मिस फ्रेन्डली, दीक्षा बलामी मगर मिस चार्मिङ, सञ्जु लिम्बु मिस इनोसेन्ट, आइशा राई मिस स्मार्ट, सिर्जना योङहाङ लिम्बु बेस्ट हेयर, प्रभा राई मिस ओभिडियन, सिम्रन लामा बेस्ट स्किन, आयुस्ना श्रेष्ठ ब्युटिफुल कम्प्लेक्स र देवी गर्बुजा मगरले मिस पपुलर टाइटल अवार्ड जिते।

प्रतियोगितामा सञ्चारकर्मी दिनेश डीसी, डा. नवल पराजित, मिसेस नेसनल आइकन–२०१६ की विजेता शर्मिला तामाङ, ड्याट्सन कम्पनीका जनरल मेनेजर ज्ञानेन्द्र चन्द र जेनिफर व्रजाचार्य निर्णायक रहेका थिए। कार्यक्रममा झरना कला केन्द्रका कलाकारले नृत्य गरेर उपस्थित दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए।

प्रतिक्रिया दिनुहोस्