दाङका आठ क्षेत्रमा वाम गठबन्धन र एक क्षेत्रमा कांग्रेस



नरेन्द्र केसी, दाङ
३ प्रतिनिधिसभा र ६ प्रदेशसभा सदस्यका लागि दाङमा भएको निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। आइतबार बिहान मुख्य निर्वाचन अधिकृतको कार्यालयले अन्तिम परिणाम घोषणा गरेको हो।
जसअनुसार प्रतिनिधिसभातर्फ जिल्लाकै ३ वटा प्रतिनिधिसभामा वाम गठबन्धनले जीत हात पारेको छ भने प्रदेशतर्फ ५ क्षेत्रमा वाम गठबन्धन र १ क्षेत्रमा कांग्रेस विजयी भएको छ।

जसअनुसार प्रतिनिधिसभातर्फ दाङ क्षेत्र नम्बर १ मा वाम गठबन्धनका तर्फबाट चुनाव लडेका एमालेका मेटमणि चौधरी विजयी हुनुभएको छ। उहाँ ३७ हजार ९ सय ८ मत लिएर विजयी हुनुभएको छ भने निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका सुशीला चौधरीले २४ हजार ७४ मत प्राप्त गर्नुभएको छ।

दाङ क्षेत्र नम्बर २ मा वाम गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका माओवादी केन्द्रका कृष्णबहादुर महरा निर्वाचित हुनुभएको छ। उहाँले ४० हजार ४२ मत प्राप्त गर्नुभएको छ भने निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका राजु खनालले २५ हजार ८ सय ९७ मत प्राप्त गर्नुभएको छ। दाङ ३ मा वाम गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका एमालेका हिराचन्द्र केसी विजयी हुनुभएको छ। उहाँ ४० हजार २ सय ८७ मत लिएर निर्वाचित हुनुभएको छ भने निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका दीपक गिरीले ३३ हजार ७ सय ३० मत पाउनुभएको छ।

प्रदेशसभातर्फ दाङ १(१)मा वाम गठबन्धनको तर्फबाट उम्मेदवार दिएका माओवादी केन्द्रका इन्द्रजीत थारु विजयी हुनुभएको छ। उहाँ १७ हजार २ सय ८५ मतका साथ विजयी हुनुभएको छ भने निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका प्रदीप थापाले १३ हजार ३ सय ९२ मत पाउनुभएको छ। त्यस्तै दाङ २(२)मा वाम गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका एमालेका रेवतीरमण शर्मा विजयी हुनुभएको छ। उहाँले १९ हजार ३ सय ५४ मत पाउनुभएको छ भने निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका जानकीलाल बस्नेतले १२ हजार ७ सय ५३ मत प्राप्त गर्नुभएको छ।

त्यस्तै दाङ २(१)मा वाम गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका एमालेका शंकर पोख्रेल निर्वाचित हुनुभएको छ। उहाँले २० हजार ७ सय २३ पाउनुभएको छ भने निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका कमलकिशोर घिमिरेले ११ हजार १ सय ७२ मत पाउनुभएको छ। दाङ २(२)मा वाम गठबन्धनको तर्फबाट उम्मेदवारी दिनुभएका एमालेका अमरबहादुर डाँगी निर्वाचित हुनुभएको छ। उहाँले २१ हजार ४ सय ५० मत पाउनुभएको छ भने निकटतम् प्रतिद्वन्द्वी भरतबहादुर न्यौपानेले १३ हजार १ सय ९० मत पाउनुभएको छ।

त्यस्तै दाङ ३(१)मा कांग्रेसका डिल्लीबहादुर चौधरी निर्वाचित हुनुभएको छ। उहाँले १७ हजार ३६ मत प्राप्त गर्नुभएको छ भने निकटतम् प्रतिद्वन्द्वी माओवादी केन्द्रका जगप्रसाद शर्मा ‘अपार’ले १४ हजार ७ सय मत प्राप्त गर्नुभएको छ। त्यस्तै दाङ ३(२) मा वाम गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका एमालेका उत्तरकुमार ओली निर्वाचित हुनुभएको छ। उहाँले २३ हजार ९ सय ७० मत प्राप्त गर्नुभएको छ भने निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका बुद्धिराम भण्डारीले १७ हजार ५ सय ३५ मत प्राप्त गर्नुभएको छ।

प्रतिक्रिया दिनुहोस्