सात उपप्रम पराजित



प्रशान्त वली, काठमाडौं
हालै सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा उपप्रधानमन्त्री सम्हालिसकेका विभिन्न दलका सात जना पराजित भएका छन्। पराजित हुनेमा कांग्रेसबाट ४, एमालेबाट १, माओवादीबाट १, राप्रपाबाट १ जना गरी ७ जना रहेका छन्।

कांग्रेसका प्रभावशाली नेतासमेत रहनुभएका रामचन्द्र पौडेल भारी मतान्तरले तनहुँ–१ बाट पराजित हुनुभएको छ। पौडेल एमालेका कृष्णकुमार श्रेष्ठ ‘किसान’ सँग ९ हजार ८ सय २ मतान्तरले पराजित हुनुभएको हो। श्रेष्ठले ३४ हजार ४ सय ९२ मत ल्याउँदा पौडेलले २७ हजार ६ सय ९० मै चित्त बुझाउनुपरेको हो। पौडेलले २०६४ सालमा नेपाली कांग्रेसको उपसभापति भएर काम गर्नुभएको थियो। पौडेलले सभामुख, गृहमन्त्री, शान्ति तथा पुनर्निर्माणमन्त्रीसहित उपप्रधानमन्त्रीको जिम्मेवारी निर्वाह गरिसक्नुभएको छ।
एमालेका उपाध्यक्षसमेत रहनुभएका वामदेव गौतमलाई पनि यो निर्वाचन फापेन। उहाँ कांग्रेसका सञ्जय गौतमसंँग बर्दिया–१ बाट पराजित हुनुभयो। सञ्जय गौतमले ४४ हजार ८ सय ३४ मत ल्याउँदा वामदेव गौतमले ४४ हजार ७६ मत प्राप्त गर्नुभयो। माओवादी र एमालेलाई एक ठाउँमा ल्याई चुनाव गराउन अग्रणी भूमिका निर्वाह गर्नुभएका गौतमसँग उपप्रधानसहित विभिन्न मन्त्रालय तथा मन्त्रीको जिम्मेवारी सम्हालेको अनुभव छ।

यसैबीच गौतमले आफ्नो पराजयलाई स्वीकार गर्नुभएको छ। उहाँ पराजयपछि जारी गरिएको विज्ञप्तिमा भनिएको छ– ‘वाम गठबन्धनको प्रमख सूत्राधारको हैसियतले गठबन्धनले प्राप्त गरेको सफलताबाट खुसी छु। यो गठबन्धन क्रमशः पार्टी एकतामा रूपान्तरण हुँदै समाजवाद निर्माणको महत्त्वपूर्ण अध्यायमा मुलुक प्रवेश गर्ने कुरामा विश्वस्त छु। यस विषयमा आफूले प्रस्तुत गर्नुपर्ने भूमिका र जिम्मेवारीमा सदैव लागिरहनेछु।’

झापा निर्वाचन क्षेत्र नम्बर ३ बाट कांग्रेसका कृष्णप्रसाद सिटौला पराजित हुनुभएको छ। राप्रपाका राजेन्द्र लिङ्देनले ४४ हजार ६ सय १४ मत ल्याउँदा सिटौला ३१ हजार १ सय ५६ मतमै रोकिनुभएको थियो। नेपाली कांग्रेसको महामन्त्री रहेर जिम्मेवारी सम्हालिसक्नुभएको छ। सिटौला उपप्रधानमन्त्री तथा गृहमन्त्री भइसक्नुभएको छ। एमाले र माओवादीको समेत समर्थन पाउनुभएका राप्रपाका लिङ्देनसँग प्रतिस्पर्धामा रहनुभएका सिटौलाको यो सातौं चुनावी प्रतिस्पर्धा हो।

गोरखा–२ बाट वाम गठबन्धनका सूत्राधारसमेत रहनुभएका माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पनि पराजय व्यहोर्नुपरेको छ। कुनै समयका सहयात्री तथा नयाँ शक्ति पार्टी नेपालका अध्यक्ष एवं प्रधानमन्त्रीसमेत भइसक्नुभएका डा. बाबुराम भट्टराईसँग श्रेष्ठ पराजित हुनुभएको हो। भट्टराईले ३१ हजार ८ सय ७ मत ल्याउँदा श्रेष्ठले २४ हजार ९ सय ३३ मत ल्याउनुभयो। उपप्रधान एवं परराष्ट्र मन्त्रालयको समेत जिम्मेवारी निर्वाह गरिसक्नुभएका श्रेष्ठ माओवादी केन्द्रभित्र पुष्पकमल दाहाल ‘प्रचण्ड’ पछिको दोस्रो नेता हुनुहुन्छ।
यस्तै, मकवानपुर निर्वाचन क्षेत्र नम्बर १ बाट राप्रपाका कमल थापा पराजित हुनुभएको छ। थापा एमालेका कृष्णप्रसाद दाहालसँग पराजित हुनुभएको हो। दाहालले ४० हजार ६ सय ३० मत ल्याउँदा थापाले ३४ हजार ५ सय ५८ मत प्राप्त गर्नुभयो। थापाले उपप्रधानमन्त्रीसहित पटक–पटक परराष्ट्र, गृह, सञ्चार, स्थानीय विकासलगायतका महत्त्वपूर्ण मन्त्रालय सम्हालिसक्नुभएको छ।

कांग्रेसमा भर्खरै प्रवेश गर्नुभएका विजयकुमार गच्छदार सुनसरी–३ मा एमालेकी भगवती चौधरीसँग पराजित हुनुभएको छ। चौधरीले २१ हजार ६ सय ६५ मत ल्याउँदा गच्छदार २० हजार ६ सय ८८ मतमै रोकिनुभयो। गच्छदारले पटक–पटक उपप्रधानमन्त्रीसहित दर्जन बढी मन्त्रालय सम्हालिसक्नुभएको छ। मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्षसमेत रहनुभएका गच्छदार चुनावको मुखमै नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको थियो।

धनुषा–३ मा कांग्रेस नेता विमलेन्द्र निधि राजपाका नेता राजेन्द्र महतोसँग फराकिलो मतान्तरले पराजित हुनुभएको छ। महतोले ३० हजार ७ सय ४२ मत ल्याउँदा निधि २७ हजार ८ सय २८ मतमा रोकिनुभयो। निधिले उपप्रधानसहित गृह, भौतिक पूर्वाधार तथा यातायातलगायतका मन्त्रालयको जिम्मेवारी सम्हालिसक्नुभएको छ।

यसैबीच पार्टीको आन्तरिक सर्वेक्षणमा विजय उन्मुख देखिएका चर्चित नेताहरूको पराजयसँंगै राष्ट्रिय राजनीतिमा नेपाली कांग्रेस निकै कमजोर भएको आँकलन गरिएको छ। निर्वाचन परिणामअनुसार वाम गठबन्धनले एकलौटी जित हासिल गर्दै गएको र कांग्रेसका चर्चित अनुहारहरूले पराजय भोगेसँगै प्रतिनिधिसभामा प्रतिपक्षको भूमिकासमेत कमजोर हुने अनुमान गरिएको छ।

कांग्रेसका डा. रामशरण महत, अर्जुननरसिंह केसी, महेश आचार्य, डा. प्रकाशशरण महत, बलबहादुर केसी मात्र हैन चर्चित युवा नेता नवीन्द्रराज जोशी, प्रदीप पौडेल, विश्वप्रकाश शर्मा र रामहरि खतिवडाले पनि पराजय भोग्नुपरेको छ। कांग्रेसको आन्तरिक रिपोर्टमा यी नेताहरू विजयी हुने अनुमान गरिएको थियो। निर्वाचनअघि काठमाडौं क्षेत्र नं. ३ बाट उम्मेदवार बन्नुभएकी अम्बिका बस्नेत र सिन्धुपाल्चोक–१ का मोहनबहादुर बस्नेतले पनि निर्वाचन जित्ने आँकलन गरिएको थियो।
आन्तरिक कमजोरीका कारण स्थानीय निर्वाचनमा अनपेक्षित हार व्यहोरेको कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भने आन्तरिकरूपमा एकजुट भएरै निर्वाचनमा होमिएको थियो। कांग्रेसले यो निर्वाचनमा नयाँ शक्ति, राप्रपा, राप्रपा (प्रजातान्त्रिक) लगायतका साना दलसँग सहकार्य गरे पनि अपेक्षित नतिजा निकाल्न भने सकेन।

कांग्रेसले काठमाडौंमा आशा गरेको क्षेत्रमध्ये क्षेत्र नम्बर ८ मा नवीन्द्रराज जोशी पनि थिए। यसअघि लगातार निर्वाचन जित्दै आएका जोशीलाई एमालेका जीवनराम श्रेष्ठले पराजित गर्नुभएको थियो। काठमाडौं क्षेत्र नम्वर ३ मा अम्विका बस्नेतलाई पनि कांग्रेसले जित्ने लिस्टमा राखेको थियो। उहाँलाई पनि एमालेका कृष्णबहादुर राईले पराजित गर्नुभएको छ। कांग्रेसले चुनाव जित्ने लिस्टमा मोरङ–४ मा महेश आचार्य र सोलुखुम्बुमा बलबहादुर केसीको नाम पनि थियो। यी दुवै नेताले हार ब्योहोरेका छन्।

मत परिणामलगत्तै आन्तरिक समीक्षाका साथ अब कसरी अघि बढ्ने भन्ने बारेमा कांग्रेसले रणनीति बनाउने बताइएको छ। निर्वाचनमा पराजय भोगेसँगै कांग्रेस नेतृत्वको कमजोरीका साथै निर्वाचनमा वाम गठबन्धनको सामना गर्न आन्तरिक तयारी नपुगेको, भ्रातृ तथा शुभेच्छुक संस्थालाई पूर्णरूपमा परिचालन गर्न नसकेका जस्ता आवाज उठिरहेका छन्। यसबारेमा मतगणना सकिएपछि समीक्षा गरिने कांग्रेस केन्द्रीय सदस्य धनराज गुरुङले बताउनुभएको छ।

मत मतपरिणामबारे प्रतिक्रिया दिँदै गुरुङ भन्नुभयो– ‘कांग्रेस पराजित हुनुमा नेतृत्वले टिकट वितरणमा राम्रालाई भन्दा पनि हाम्रालाई प्राथमिकता दिएको मात्र हैन राष्ट्रिय मुद्दाहरूमा सही निर्णय लिन नसक्नुले पनि कांग्रेसले अनपेक्षित हार व्यहोर्नुपरेको हो।’

प्रधानन्यायाधीशमाथिको महाअभियोग, आईजीपी प्रकरणजस्ता मुद्दामा नेतृत्वले गम्भीर गल्ती गरेकाले पनि जनताले मत नदिएको उहाँको भनाइ थियो। नेपाली कांग्रेस केन्द्रदेखि गाउँसम्म पुनर्गठन नगरे पार्टी नै नरहने स्थितिमा पुगेको उहाँको भनाइ थियो।

प्रतिक्रिया दिनुहोस्