कास्कीमा बामको बर्चस्व:रबीन्द्रको ह्याट्रिक,प्रदेशसभा सदस्यमा नयाँ अनुहार



धन बस्नेत, पोखरा ।

दोस्रो चरणको निर्वाचनमा कास्की जिल्ला बामको पकडमा गएको छ । निर्वाचन परिणाम अनुसार कास्कीको ९ मध्ये आठसिट बाम गठबन्धनले जित्दै बर्चस्व कायम गर्यो । ३ प्रतिनिधि सभा र ५ प्रदेश सभामा एमाले र माओवादी केन्द्रको उम्मेदवार(बाम गठबन्धन)ले जितेका छन् । एक सिट भने काँग्रेसले जित्दै कास्कीमा काँग्रेसको इज्जत पनि जोगिएको छ ।

रबीन्द्रको ह्याट्रिक

संसदीय विकास समितिका संयोजक रबीन्द्र अधिकारीले जितको ह्याट्रिक गरेका छन् । उनले नेपाली काँग्रेसका प्रतिस्पर्धी देवराज चालिसेलाई कास्की क्षेत्र नं २ मा पराजित गर्दै तेस्रो पटक संसद बनेका हुन् । विद्यार्थी राजनीति हुदैं दुईपटक सभाषद भई सकेका अधिकारीले आफुलाई कास्कीको अब्बल राजनीतिक नेताको रुपमा उभ्याएका छन् । अधिकारीले २७ हजार २०७ मत ल्याएका थिए । चालिसेले १८ हजार ६६१ मत ल्याए ।

२०६४ सालमा कास्की क्षेत्र न ३ बाट पहिलो पटक संविधान सभाको चुनावमा माओवादीका झलकपाणी तिवारीलाई पराजित गरेका थिए । ६ वर्षपछि फेरी उनले २०७० सालमा सोही क्षेत्रबाट नेपाली काँग्रेसका सोभियतबहादुर अधिकारीलाई पराजित गर्दै दोस्रो पटक सांसद बनेका थिए । अहिले पुर्नसंरचना अन्तर्गत कास्की क्षेत्र नं २ मा नेपाली काँग्रेसका राजनीतिक प्रशिक्षक समेत रहेका प्राज्ञिक व्यक्तित्व देवराज चालिसेलाई हराउँदै जितको ह्याट्रिक गरेका हुन् ।

दुई मन्त्रीमा खगराजको बाजी

प्रतिनिधि सभाको चुनावमा कास्की क्षेत्र नं १ बाट कास्कीका दुई मन्त्रीको प्रतिस्पर्धा थियो । नेपाली काँग्रेसका बहालवाला कानून न्याय तथा संसदीय मन्त्री यज्ञबहादुर थापालाई पुर्व स्वास्थ्य मन्त्री एवं बाम गठबन्धनका खगराज अधिकारीले पराजित गरेका छन् । उनको यो जित दोस्रो पटक हो ।

क्षेत्रफलको हिसाब र जनसंख्याको हिसाबले सबैभन्दा ठूलो क्षेत्र हो कास्की १ । दुई मन्त्री बीचको प्रतिस्पर्धाले अन्य भन्दा बढी रोमान्चक हुने अनुमान गरिएको थियो । तर बहालवाला मन्त्री थापा कमजोर देखिए । अघिकारीले ३९ हजार २४२ पाउँदै विजयी हुदाँ
थापा भने २५ हजार ८२६ हुदैं पराजित हुन पुगे । २०७० सालमा थापाले नेकपा एमालेका मानबहादुर जिसीलाई पराजित गरी सासद हुदैं मन्त्री भएका थिए ।

नयाँको उपस्थिति

कास्कीबाट निर्वाचित भएका नौ मध्ये सात जना नयाँ अनुहारका छन् । छ जना बाम गठबन्धनका हुन् । एक काँग्रेसका छन् । प्रतिनिधि सभामा कास्की क्षेत्र नं ३ का जगत विश्वकर्मा संसदीय अभ्यासमा पहिलो पटक निर्वाचित भएका हुन् । नेकपा एमालेका पोलिट व्युरो सदस्य समेत रहेका विश्वकर्माले नेपाली काँग्रेस कास्कीका बरिष्ठ नेता शुक्रराज शर्मालाई पराजित गर्दै सांसद बनेका हुन् । विश्वकर्माले ३२ हजार ६९० मत ल्याई विजयी हुदाँ शर्माले भने २४ हजार ३४० मत पाएका हुन् ।

कास्की क्षेत्र नं ३ अन्तर्गत नै प्रदेश सभामा निर्वाचित भएका बाम गठबन्धनका उम्मेदवार राजीव पहारी र रामजीप्रसाद बराल दुवै नयाँ हुन् । उनीहरुले प्रदेश क र खमा प्रतिस्पर्धा गरेका थिए । दुवैले नेपाली काँग्रेसका क्रमश सिकन्दर गुरुङ र शारदा पौडेललाई पराजित गरेका थिए । पहारीले १६ हजार १६७ मत ल्याई विजयी भए । उनका प्रतिस्पर्धी गुरुङले १० हजार ८७६ मत पाएका थिए । त्यस्तै बरालले पनि १५ हजार ८२३ मतले निर्वाचित हुदाँ पौडेलले १३ हजार ०५७ मत ल्याईन् ।

कास्की क्षेत्र नं २ प्रदेश सभा सदस्यमा निर्वाचित दुवै जना नयाँ अनुहार हुन् । नेपाली काँग्रेसको तर्फबाट प्रदेश खमा विन्दुकुमार थापा र प्रदेश कमा नेकपा एमाले कास्कीका जिल्ला अध्यक्ष कृष्णबहादुर थापा निर्वाचित भएका छन् । थापा तत्कालिन पोखरा उपमहानगरपालिकाका निर्वाचित मेयर समेत हुन् । उनले नेपाली काँग्रेसका यृवा नेता गुरु बराललाई सात हजार भन्दा बढी मतले पराजित गरेका थिए । थापाले १५ हजार ३२९ मत ल्याई जित्दा बरालब ८३२५ मत ल्याएका थिए ।

यसैगरी कास्की क्षेत्र नं १ प्रदेश सभा सदस्यमा निर्वाचित भएका बाम गठबन्धनका उम्मेदवार दुवै नयाँ हुन् । बाम गठबन्धनका उम्मेदवार तथा क्षेत्रीय खेलकुद विकास समिति पोखराका पुर्व अध्यक्ष दिपक कोइरालाले नेपाली काँग्रेसका केन्द्रीय सदस्य जीवन परियारलाई पराजित गर्दै प्रदेश सभा सदस्य चुनिएका छन् । कोइरालाले १८ हजार ७२७ मत ल्याई विजयी हुदाँ परियारले भने १५ हजार ०८२ मत पाएका थिए ।

त्यस्तै नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसीलाई पराजित गर्दै नेकपा एमाले कास्कीका उपाध्यक्ष मनबहादुर गुरुङ पनि प्रदेश सभामा नयाँ अनुहारको रुपमा देखिए । केसीले १३ हजार १०२ मत पाउँदा गुरुङले १७ हजार २४९ मत ल्याउँदै प्रदेश सभा सदस्यमा निर्वाचित भए ।

प्रतिक्रिया दिनुहोस्