उत्तर कोरियालाई साथ दिने चीनको संकेत



बेइजिङ ⁄ सोल, (एजेन्सी)
अमेरिका र उत्तर कोरियाबीचको तनावले यस हप्ता नयाँ उचाइ लिइरहँदा चीनले नयाँ संकेत दिएको छ। यदि यी दुईबीच युद्ध भएमा चीनले आफ्नो परम्परागत मित्र तथा छिमेकी उत्तर कोरियालाई साथ दिन सक्ने संकेतसहित त्यस क्षेत्रमा आफ्नो सैन्य गतिविधिलाई अगाडि बढाएको छ।

अमेरिका र दक्षिण कोरिया वार्षिक हवाइ शक्ति अभ्यासमा व्यस्त रहेकै बेला चीनको हवाइ सेनाले यसअघि कहिल्यै प्रवेश नगरेको यल्लो तथा पूर्वी सागरमाथि हवाइ क्षेत्रमा आफ्ना विमानहरू उडाएका छन्।
उक्त सैन्य अभ्यासमा परम्परागत विमान, लडाकू विमान तथा पूर्वचेतावनी तथा नियन्त्रण गर्ने लडाकू विमान र जमिनबाट आकाशमा प्रहार गर्ने क्षेप्यास्त्र समावेश गरिएको बताइएको छ।

साउथ चाइना मर्निङ पोस्टले बेइजिङस्थित सैन्य विज्ञ ली जायलाई उद्धृत गर्दै उक्त सैन्य अभ्यास विशेष गरी डोनाल्ड ट्रम्पलाई सन्देश दिनका लागि भएको उल्लेख गरेको छ। जनमुक्ति सेनाले यो महत्त्वपूर्ण समयमा वासिंगटन र सोललाई प्योङयाङलाई थप नजिस्क्याउन चेतावनीस्वरूप पठाएको सन्देश भएको जायले बताए।

सैन्य अभ्यास अहिलेसम्मकै सबैभन्दा ठूलो
उत्तर कोरियाले लामो दूरीको अन्तरमहाद्विपीय क्षेप्यास्त्रको सफल परीक्षण गरेको ६ दिनपछि अमेरिकाले आफ्नो शक्ति प्रदर्शन गरेको छ। अमेरिकाले दक्षिण कोरियासँग सोमबारदेखि ओसान हवाइ अड्डामा अहिलेसम्मकै सबैभन्दा ठूलो संयुक्त सैन्य अभ्यास शुरू गरेको हो।

५ दिनसम्म चल्ने उक्त सैन्य अभ्यासमा अमेरिकाले अत्याधुनिक २ सय ३० लडाकू विमान र १६ हजार वायुसेना परिचालन गरेको छ। यस अभ्यासमा दक्षिण कोरियामा पहिलेदेखि तैनाथ ४ हजार सैनिक पनि परिचालन गरिएको जनाइएको छ। गत वर्ष दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यासमा नौसैनिकसहित १५ हजार सैनिक सहभागी गराएको थियो।

दक्षिण कोरियामा अमेरिकाको करिब २९ हजार सैनिक तैनाथ छन्। उनीहरू आफ्नो परिवारसँगै बस्दै आइरहेका छन्। दक्षिण कोरियाका करिब १ लाख सैनिकले यस सैन्य अभ्यासमा भाग लिएका छन्।
अमेरिकाले आफ्नो अत्याधुनिक विमान एफ–२२ रेप्टरलगायत दुई दर्जन लडाकू विमानलाई सैन्य एफ–२२ रेप्टरलाई सैन्य अभ्यासमा समावेश गरेको छ। उक्त विमान कुनै पनि राडार प्रणालीले टिप्न सक्दैन।
उत्तर कोरियाले युद्धाभ्यासलाई परमाणु युद्धका लागि उक्साउने गतिविधि भएको बताएको छ। यदि आक्रमण भएमा त्यसको जिम्मेवारी अमेरिका हुने चेतावनी पनि दिएको छ।

प्रतिक्रिया दिनुहोस्