जेरुसेलम राजधानी विवाद, सुरक्षा परिषद्को आपत्कालीन बैठक



न्युयोर्क, (एजेन्सी)
अमेरिकाले इजरायल र प्यालेस्टिनी प्रशासनबीचको शान्ति प्रयासलाई क्षति पुर्याउने कार्यमा संयुक्त राष्ट्रसंघ जिम्मेवार रहेको आरोप लगाएको छ।

संयुक्त राष्ट्रका लागि अमेरिकी प्रतिनिधि निक्की हेलीले भने– ‘संयुक्त राष्ट्र इजरायलप्रति शत्रुता देखाउने विश्वको एक प्रमुख केन्द्र हो।’

अमेरिकी राट्रपति डोनाल्ड ट्रम्पले जेरुसेलमलाई इजरायलको राजधानी मान्ने र अमेरिकी दूताबासलाई जेरुसेलममा सार्ने फैसला गरेपछि उक्त एकपक्षीय निर्णयलाई लिएर बोलाइएको संयुक्त राष्ट्र सुरक्षा परिषद्को आपत्कालीन बैठकलाई सम्बोधन गर्ने क्रममा हेलीले उक्त कुरा राखेकी हुन्।

राट्रपति ट्रम्पले जेरुसेलमलाई इजरायलको राजधानी मान्ने फैसलापछि पूरै मध्यपूर्वमा तनावको स्थिति बनेको छ। निक्की हेलीले संयुक्त राष्ट्र«को बैठकमा भने– ‘जेरुसेलम इजरायलको राजधानी हो र अमेरिका शान्ति सम्झौता मान्न प्रतिवद्ध छ।’

‘इजरायललाई संयुक्त राष्ट्र वा अन्य देशको संगठनका माध्यमबाट त्यस्तो प्रस्तावका लागि बाध्य पार्न सक्दैन जसले उसको सुरक्षाका लागि खतरा उत्पन्न होस्।’

राष्ट्रसंघ सुरक्षा परिषद्को शुक्रबारको उक्त बैठकमा १४ सदस्यले पालैपालो अमेरिकी राट्रपतिको फैसला विरुद्ध बोलेका थिए। १५ सदस्य राष्ट्रका प्रतिनिधि सहभागी रहेको उक्त बैठकमा केहीले ट्रम्पको निर्णयमा खेद व्यक्त गरेका थिए भने केहीले आक्रोशसमेत पोखेका थिए।

अर्कोतर्फ प्यालेस्टिनी प्रतिनिधि रियाद मन्सुरले राट्रपति ट्रम्पको पैmसलाले अमेरिकालाई अबको शान्तिको प्रस्तावकका रूपमा हर्ने नसक्ने प्रमाणित भएको बताए। यस बैठकमा उपस्थित रहेका इजरायली प्रतिनिधि डेनी डेननले अमेरिकाको फैसलाको स्वागत गरेका छन् र राट्रपति ट्रम्पलाई धन्यवाद पनि दिएका छन्। उनले यस फैसलालाई इजरायल र पूरै विश्वमा शान्ति स्थापित गर्न कोशेढुंगा भएको बताए।


गाजास्ट्रिपमा इजरायली हवाइ आक्रमण

अमेरिकी राष्ट्रपतिको उक्त फैसलालाई लिएर चौतर्फी निन्दा भइरहेको छ भने इजरायली अधिनस्थ पश्चिम किनारामा हिंस्रक झडप भएका छन्।
यसैबीच प्यालेस्टिनी सेनाले इजरायली इलाकामा रकेट प्रहार गरेको छ भने यसको जवाफमा इजरायलले पनि गाजास्ट्रिपमा हमास लडाकूको ठेगानामा हवाइ आक्रमण गरेको छ। उक्त आक्रमणका केही प्यालेस्टिनी घाइते भएको बताइएको छ।

हमासका कट्टरपन्थी संगठनको ठेगानालाई निसाना बनाउने क्रममा इजरायलले शनिबार बिहान हमासको हतियार निर्मालस्थल र हतियार भन्डारणमा हमला गरेको बताएको छ।

शुक्रबार बिहान इजरायली सेनाले गाजामा भिडमा गरेको एक हमलामा दुई प्यालेस्टिनी नागरिक मारिएका छन्। यसैबीच प्यालेस्टाइनका मुख्य वार्ताकार सेव इराकातले राट्रपति ट्रम्पको फैसलालाई फिर्ता नलिएसम्म अमेरिकासँग कुनै प्रकारको वार्ता गर्न अस्वीकार गरेका छन्। त्यसै गरी प्यालेस्टिनी प्रशासनका राष्ट्रपति महमुद अब्बास र विश्वमा सुन्नी मुसलमानको सबैभन्दा ठूलो संस्था, इजिप्टस्थित अल अजहर मस्जिदका इमामले पनि अमेरिकी उपराष्ट्रपति माइक पेनसँग भेटवार्ता गर्न अस्वीकार गरेका छन्।

पश्चिम किनारामा हजारौं संख्यामा प्यालेस्टिनी नागरिक सहभागी रहेको विरोध प्रदर्शनमा इजरायली सुरक्षा बलले अश्रुग्यास र रबरको गोली प्रहार गर्दा कम्तिमा २ सय १७ प्रदर्शकारी घाइते भएका छन्।

अमेरिकी फैसलाको विरोधमा मलेसिया, बंगलादेश, पाकिस्तान, अफगानिस्तान, इन्डोनेसिया र भारत प्रशासित काश्मीरमा पनि विरोध प्रदर्शन भएका छन्। त्यसैगरी लन्डन, पेरिस, ब्रसेल्सलगायत कयौं युरोपेली मुलुकका राजधानीहरूमा पनि फैसलाको विरोधमा प्रदर्शनहरू भए।

प्रतिक्रिया दिनुहोस्