डीआर कंगोमा शान्ति सेनामाथि आक्रमण, १४ शान्ति सैनिक मारिए



किन्सासा, (एजेन्सी)
डेमाक्र्याटिक रिपब्लिक कंगोको पूर्वीभागमा राष्ट्र संघीय शान्ति सेनामाथि भएको एक आक्रमणमा १४ शान्ति सेना मारिएको र ५३ जना घाइते भएका छन्।

राष्ट्रसंघको मोनुस्को मिसनले नर्थ किभु प्रान्तमा शान्ति सेनामाथि आक्रमण गर्ने विद्रोही समूह अलाइड डेमोक्र्याटिक फोर्स (एडीएफ) भएको आशंका गरिएको जानकारी दिए। उक्त आक्रमणमा ५ जना कंगोलिज सैनिक पनि मारिएका छन्।

राष्ट्रसंघ महासचिव अन्टोनिय गुटेरेजले पछिल्लो समयमा राष्ट्रसंघ शान्ति सेनामाथि भएको यो आक्रमण सबैभन्दा खराब भएको र एक प्रकारको युद्ध अपराध भएको बताएका छन्। मारिएका शान्ति सैनिक तान्जानियाको भएको र मृतकका परिवारप्रति संयुक्त राष्ट्रसंघ महासचिवले समवेदना व्यक्त गरेका छन्।

तान्जानियाका राष्ट्रपति जोन मागुफुलीले आफू उक्त समाचारबाट स्तब्ध तथा दुखी भएको प्रतिक्रिया दिएका छन्। आशंकित एडीएफ विद्रोहीले गत अक्टोबरमा पनि २ शान्ति सैनिक मारेको बताइएको छ। मानुस्को राष्ट्रसंघको सबैभन्दा ठूलो र सबैभन्दा महँगो शान्ति सेना तैनाथ कार्यक्रम हो। यो सन् २०१० देखि सञ्चालनमा आएको थियो।

कंगो गणराज्यमा मोनुस्को शान्ति मिसनअन्तर्गत करिब १८ हजार शान्ति सैनिक तैनाथ छन्। नर्थ किभु प्रान्तमा खनिज पदार्थको थुलो भन्डार रहेको छ, जसमाथि नियन्त्रण गर्न कयौं सशस्त्र लडाकू समूहले लगातार प्रयास गरिरहेका छन्। कंगोका सुरक्षा बल र संयुक्त राष्ट्र शान्ति सेनासँग उनीहरूको धेरैपटक झडप भइसकेका छन्।

कंगो गणराज्यमा राहत कार्यमा सक्रिय संस्थाहरूले यसै हप्ता मात्रै संघर्षका कारण १७ लाखभन्दा धेरै नागरिक घर छोडेर पलायन हुन बाध्य भएको बताएका थिए। कंगो गणराज्यमा शरणार्थी परिषद्का प्रमुख उलरिका ब्लामले त्यहाँको स्थिति ‘चिन्ताजनक संकट’ भएको बताएका छन्।

उनले भने– ‘संघर्षका कारण यहाँबाट यति धेरै संख्यामा नागरिक घरबार छोडेर गएका छन् जुन आंकडा सिरिया, यमन र इराकबाट भाग्नेको भन्दा धेरै हो।’

प्रतिक्रिया दिनुहोस्