मतदातामा किन उत्साह आएन ?



गाउँको त कुरै छोडाँै राजधानीवासीमा पनि यसपालीको चुनावमा उत्साह जागेको देखिएन । म पनि भोट हाल्न आफ्नो मतदान केन्द्रमा गएकी थिएँ तर स्थानीय निर्वाचनको जस्तो उल्लासमय वातावरण मैले पाइन । निर्वाचनको क्रममा प्रचारप्रसारमा खुब लागेका देखिए पनि खै मत दिने दिन हराएका जस्ता थिए । आफ्नो जनप्रतिनिधि चुन्न पाउने निर्वाचनमा स्थानीयको उत्साह किन नदेखिएको होला?

स्थानीय निर्वाचनमा स्थानीय व्यक्ति नै उम्मेद्धवार बनेकाले स्थानीय मतदाताले बढी चासो दिएका थिए । तर अहिलेको निर्वाचनमा एक ठाउँको व्यक्ति अर्को ठाउँमा गएर उम्मेद्धवार बनेकाले पनि मतदातामा उत्साह नजागेको हुन सक्छ । साथै स्थानीय चुनावबाट विजय हुनेहरुले यो ६ महिनाको बीचमा जनताका लागि केही नगरेकाले प्रतिनिधि सभा र प्रदेश सभाको निवार्चनमा विजय हुनेहरुले पनि आफ्ना लागि केही गर्दैनन् होला भन्ने सोचेर मतदाता मत दिन खासै जाँगर नचालएका हुन् कि ?

जे होस् यो निवार्चनमा मतदाताको उल्लेखीय सहभागिता नभएकाले पनि शान्तिपूर्ण रुपमा सम्पन्न भएको हामीलाई लागेको हुन सक्छ । कम मतदाता सहभागी भएर गरिएको चुनावको खासै सार्थकता मानिँदैन त्यसैले बढी भन्दा बढी मतदाता सहभागी गराउने उपायहरु आगामी निर्वाचनमा गरियोस् । साथै यस निर्वाचनमा किन मतदातामा उत्साह जागेन? भन्ने कुरा पहिल्याइ समाधान गर्ने तर्फ अहिले देखि नै कदम चालियोस् ।
–रामहरि खड्का, बल्खु ,काठमाडाँै

कहिले आउँछ मेलम्चीको पानी ?
गएको दशैँमा नै मेलम्चीको पानीले नुहाएर टिका थाप्ने भनिएको आशा निराशामा बद्लिएको छ । काठमाडौंबासी बर्षौ देखी प्रतिक्षा गर्दै आएको मेल्म्चीको पानी अझैसम्म पनि आउन सकेको छैन । पानी प्रशोधन केन्द्रको निर्माणमा ढिलाइ हुँदा मेलम्चीको पानी काठमाडौं आएपछि त्यसको वितरण कसरी वितरण गर्ने भन्ने अन्योल बढेको छ । मेलम्ची खानेपानी विकास समितिले २०७५ को वैशाखमा मेलम्चीको पानी ल्याउने सकिने गरी आन्तरिक तयारी गरेको तर सुन्दरीजलस्थित निर्माणाधीन पानी प्रशोधन केन्द्रको काम भने उक्त समयमा नसकिने भएको खबर सुनिएको छ ।

प्रशोधन केन्द्रको निर्माण जुलाई २०१८ मा सम्पन्न गर्ने सम्झौता भए पनि कम्तीमा १० महिना लाग्ने अनुमान गरिएको छ । तर हालसम्म यसको जम्मा १५ प्रतिशत मात्र काम भएको समीतीले बताउँदै आउको खबर पनि प्रत्रपत्रीकामा पढ्न पाइएको छ । मेलम्चीको पानी पहिलो चरणमा दैनिक १७ करोड लिटर आउनेछ । जसमध्ये दैनिक आठ करोड लि. क्षमताको प्रशोधन केन्द्रको निर्माण सम्पन्न भई परीक्षणसमेत गरेर तयारी अवस्थामा राखिएको, तर दोस्रो दैनिक ८.५ करोड लि. क्षमताको प्रशोधन केन्द्रको निर्माण भने ढिला हुने भएपछि विकल्पहरू खोज्न थालिएको बताइएको छ ।

पहिलो प्रशोधन केन्द्र जाइकाले निर्माण गरेको थियो धने दोस्रो प्रशोधन केन्द्र नेपाली कम्पनी टुन्डी र भारतीय कम्पनी प्रतिभाले संयुक्तरूपमा बनाउँदै छन् । दोस्रो प्रशोधन केन्द्रको निर्माण भइसकेपछि मेलम्चीबाट आउने दैनिक १७ करोड लिटर पानी प्रशोधन हुने बताइए पनि प्रशोधन निर्माण कार्यमा किन ढिला भैरहेको छ ? के उपत्यकाबासीको वर्षौको सपना बैशाखमा पुरा होला त ? कि यसरी निर्माणका कुराहरुलाई अगाडी सारेर म्याद थप्ने हो ? सरकारको यसमा गम्भिर ध्यानआर्कषण होस् ।
– सुरेश पौडेल, काठमाडौं

दुई तिहाइ मत आउला त ?
स्थानीय चुनाव सकिएलगतै पहिलो र द्रोस्रो चरण गरेर प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन पनि सम्पन्न भएको छ । अहिले मुलुकमा मतगणना जारी छ । कांग्रेस भन्दा वाम गठबन्धन अगाडी देखिएको छ । स्थानीय चुनावमा उम्मेदवारले ल्याएको मत जोड्दा एमालेले जम्मा खसेको मतको ३४ प्रतिशत ल्याएको थियो भने, कांग्रेसले ३३ प्रतिशत ल्याएको थियो । त्यस्तै माओवादीले १७ प्रतिशत मत ल्याएको थिायो ।
यसपालि भने थ्रेसहोल्डका कारण धेरै साना पार्टी संसदमा पुग्न असम्भव देखिएको छ । त्यसले समानुपातिकमा ठूला दलको मत स्थानीय तहमा उनीहरूले ल्याएको लोकप्रिय मतकै हाराहारीमा रहनेछ । कांग्रेसमा विजय गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरम पनि मिसिएकोले उसको पनि समानुपातिकको मत बढ्ने देखिएको छ । एमाले र माओवादीले समानुपातिकमा ५० प्रतिशत मत ल्याउन सक्ने देखिएको छ । समानुपातिकमै ५० प्रतिशत मत ल्याएपछि प्रत्यक्षमा जितेको सिट जोड्दा उनीहरू ठूलो बहुमततर्फ जानेछन् । समानुपातिकमा ५० प्रतिशत मत ल्याएपछि, सम्रगमा दुई तिहाई पुर्याउन वाम गठबन्धनले प्रत्यक्षमा ७७ प्रतिशत अर्थात् १२८ सिट जित्नुपर्छ । त्यति सिट जित्न वाम गठबन्धनलाई निकै गाह्रो हुने देखिएको छ ।

अव भने यहाँ प्रश्न चिन्ह् खडा हुन्छ । के वाम गठबन्धनले दुई तिहाई मत ल्याउन सक्ला त ? के वाम गठबन्धनले बहुमत ल्याउला त ? प्रश्नै पश्न, जसको उत्तर दिन सबैलाई गाह्रो छ । अहिले शहरका गल्ली–गल्लीमा, चोक–चकमा, गाउँका पाखा पखेरामा, गोठालाका चौतारमा र खेतबारीमा हुने चर्चाको विषय बनेको छ ।
– शान्ता मैनाली, काठमाडौं

प्रतिक्रिया दिनुहोस्