‘हेभिवेट’ नेताको फैसला हुँदै, कतै विजय कतै पराजय



प्रशान्त वली, काठमाडौं

गत मंसिर १० र २१ गते भएको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको मतपरिणाम आउँदै गर्दा मैदानमा उत्रिएका हेभिवेट नेताको भाग्यको फैसला हुने क्रम शुरू भएको छ।

पछिल्लो मतपरिणामअनुसार कांग्रेस, एमाले, माओवादी केन्द्रलगायत पार्टीका शीर्ष नेता नै पराजयको शिकार हुन पुगेका छन् भने कतिपय नेताले विजय उत्सव मनाएका छन्। नेपाली कांग्रेसका प्रभावशाली नेता मानिएका डा. शेखर कोइराला, महेश आचार्य, नवीन्द्रराज जोशी, मोहन बस्नेत, बलबहादुर केसी, रामहरि खतिवडालगायतका नेताले हार व्यहोर्नुपरेको छ।

यस्तै कांग्रेसका प्रभावशाली मानिएका मीनेन्द्र रिजाल, गगन थापा, शशांक कोइरालालगायतका नेताले जित हासिल गरिसक्नुभएको छ। माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, हितमान शाक्य, झक्कु सुवेदी, राप्रपा प्रजातान्त्रिकका नेता पशुपतिशमशेर जबराले हार व्यहोर्नुभएको छ।

कांग्रेसको तर्फबाट नवलपुर–२ बाट देवेन्द्रराज कँडेल, झापा–१ मा विश्वप्रकाश शर्मा, उदयपुर–१ बाट डा. नारायण खड्का, सिरहा–१ बाट प्रदीप गिरी अग्रस्थानमा हुनुहुन्छ।

यस्तै, माओवादी केन्द्रको तर्फबाट चितवन–३ मा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अग्रस्थानमा हुनुहुन्छ। माओवादी केन्द्रकै तर्फबाट महोत्तरी–१ मा गिरिराजमणि पोख्रेल, धनुषा–१ मा मातृका यादव, रौतहट–३ मा प्रभु शाह, सिन्धुली–२ मा हरिबोल गजुरेल, रामेछाप–१ मा श्यामकुमार श्रेष्ठ अग्रस्थानमा हुनुहुन्छ।

यो समाचार तयार पार्दासम्म कांग्रेसका उपसभापति रामचन्द्र पौडेल (तनहुँ), कृष्णप्रसाद सिटौला (झापा), अर्जुननरसिंह केसी (नुवाकोट), रामशरण महत (नुवाकोट), प्रकाशशरण महत (काठमाडौं), कमल थापा (मकवानपुर) पराजित हुने अवस्थामा पुग्नुभएको छ। पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा डडेलधुराबाट माओवादी केन्द्रका उम्मेदवार खगराज भट्टभन्दा दोब्बर मतले अगाडि हुनुहुन्छ।

झापा–५ बाट एमाले अध्यक्ष केपी शर्मा वली, इलाम–१ बाट एमाले नेता झलनाथ खनाल, इलाम–२ बाट सुवासचन्द्र नेम्वाङ, बर्दिया–१ बाट वामदेव गौतम, रूपन्देही–१ बाट छविलाल विश्वकर्मा, रूपन्देही–५ बाट विष्णु पौडेल, रूपन्देही–३ बाट घनश्याम भुसाल, गुल्मी–१ बाट प्रदीप ज्ञवाली, कास्की–१ बाट खगराज अधिकारी, अग्रस्थानमा हुनुहुन्छ।

सिन्धुपाल्चोक–१ बाट प्रतिनिधिसभा सदस्यतर्फ उम्मेदवार बन्नुभएका कांग्रेसका मोहन बस्नेतलाई माओवादी केन्द्रका अग्नि सापकोटाले १० हजार ७ सय ६ मत अन्तरले हराउनुभएको छ।

यस्तै प्रतिनिधिसभातर्फ ओखलढुंगामा एमालेका यज्ञराज सुनुवारले कांग्रेसका नेता रामहरि खतिवडालाई पराजित गर्नुभएको छ। लमजुङमा नेपाली कांग्रेसका दिलबहादुर घर्ती पराजित हुनुभयो।

घर्तीले ३१ हजार ६७ मत ल्याउँदा वाम गठन्धनका देव गुरुङले ३९ हजार ४ सय ६८ मत प्राप्त गरी विजयी हुनुभएको छ। कांग्रेसका नेता मीनेन्द्र रिजाल मोरङ–२ बाट विजयी हुनुभएको छ। १८ सय मत अन्तरसहित उहाँ विजयी हुनुएको हो। रिजालले ३५ हजार ८ सय १९ मत ल्याउँदा उहाँका निकटम प्रतिद्वन्द्वी एमालेका ऋषिकेश पोखरेलले ३४ हजार १४ मत प्राप्त गर्नुभयो। सिन्धुपाल्चोक–२ मा राप्रपा प्रजातान्त्रिकका पशुपतिशमशेर जबरा एमालेका शेरबहादुर तामाङसँग पराजित हुनुभयो।

मोरङ–४ मा वाम गठबन्धनका उम्मेदवार अमनलाल मोदी विजयी हुनुभएको छ। मोदीले कांग्रेस नेता महेश आचार्यलाई फराकिलो मतान्तरले पराजित गर्दै विजयी हुनुभएको छ।

यस्तै, मोरङ–५ मा माओवादीका शिवकुमार मण्डल विजयी हुनुभएको छ। उहाँले २२ हजार ९ सय ४५ मत प्राप्त गर्नुभभयो। एमाले सचिव योगेश भट्टराई ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ। उहाँले २९ हजार ४ सय ७९ मत प्राप्त गरी विजय हासिल गर्नुभएको हो।

यस्तै, संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव सप्तरी क्षेत्र नम्बर २ बाट विजयी हुनुभएको छ। यादवले २१ हजार ६ सय २० मत ल्याउँदै विजयी हुनुभएको हो। उहाँका प्रतिद्वन्द्वी माओवादी केन्द्रका उम्मेदवार उमेश यादवले ११ हजार ५ सय ८० मत ल्याउनुभयो।

प्रतिक्रिया दिनुहोस्