जेरुसलम राजधानी घोषणा विवाद, ट्रम्पको घोषणाको विरोधमा पश्चिम किनारामा हिंसात्मक प्रदर्शन



जेरुसलम/वासिङ्टन, (एजेन्सी)
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जेरुसलमलाई इजरायली राजधानीको मान्यता दिएको घोषणापछि प्यालेस्टाइन इलाकामा व्यापक प्रदर्शनहरू भइरहेको छ।

बिहीबार सयौं प्यालेस्टिनी प्रदर्शनकारीले अधीनस्थ प्यालेस्टिनी क्षेत्र पश्चिम किनारामा इजरायली सैनिकसँग भिडन्त गरेका थिए। विरोध प्रदर्शनका क्रममा भएका उक्त हिंसात्मक भिडन्तका क्रममा कम्तीमा ३१ जना प्यालेस्टिनी नागरिक घाइते भएको जनाइएको छ।

गाजापट्टीमा प्रदर्शनकारीहरूले इजरायली सैनिकहरूमाथि ढुंगामुढा गरेका थिए। प्रदर्शनकारीहले विभिन्न स्थानमा टायर बालेर विरोध प्रदर्शन गरेका थिए। इजरायली सेनाले प्रदर्शनकारीहरूमाथि अश्रु ग्यास प्रहार गरी भिड नियन्त्रण गर्ने प्रयास गरेका थिए। यद्यपि प्रदर्शनकारीहरूले हिंसात्मक प्रदर्शन जारी राखेका थिए।

यसैबीच प्यालेस्टिनी उग्रवादी संगठन हमासका नेताले इजरायलविरुद्ध बृहत् रूपमा सैन्य आन्दोलन चलाउने धम्की दिएको छ।

ट्रम्पको उक्त घोषणालाई लिएर अरब देश, युरोपेली युनियन, बेलायत, जर्मनी जस्ता देशहरूले कडा आपत्ती जनाएको छ। संयुक्त राष्ट्र संघका महासचिवले पनि घोषणाको विरोध गरेको छ।

राष्ट्र संघीय सुरक्षा परिषद्का दुई सदस्य बेलायत, फ्रान्सलगायत अस्थायी सदस्य बोलिभिया, इजिप्ट, इटाली, सेनेगल, स्विडेन र उरुग्वेको आ≈वान र मुद्दाको गम्भीरतालाई ध्यानमा राखी संयुक्त राष्ट्र संघले शुक्रबार आपतकालीन बैठक बोलाएको छ।

प्यालेस्टिनीलाई अमेरिकाको चेतावनी

अमेरिकाले प्यालस्टिनीलाई अमेरिकी उपराष्ट्रपति माइक पेन्ससँगको प्रस्तावित वार्ता नरोक्न चेतावनी दिएको छ। उपराष्ट्रपति माइक पेन्सले यसै महिनाको अन्त्यतिर प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बाससँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। अमेरिकाले उक्त वार्ताबाट यदि प्यालेस्टाइनले पछाडि हट्ने पैmसला लिएमा त्यसको नतिजा उल्टो हुने चेतावनी दिएको छ।

ट्रम्पको घोषणापछि त्यस क्षेत्रमा व्यापकस्तरमा हिंसा बढ्न सक्ने आशंका गरिएको छ। प्यालेस्टिनी इस्लामीक समूह हमासले इन्तिफादा अर्थात् जनआन्दोलनका लागि अपिल गरिसकेको छ।

बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जेरुसलमलाई आधिकारिकरूपमा इजरायलको राजधानीको दर्जा दिने निर्णय गरेको र तेलअभिभस्थित दूतावासलाई पनि जेरुसलममा सार्न अनुमति दिएको घोषणा गरेका थिए। ट्रम्पले आफ्नो चुनावी प्रतिज्ञामा सत्तामा आएपछि अमेरिकी दूतावासलाई जेरुसलममा स्थानान्तरण गर्ने बताएका थिए।

जेरुसलम तीन धर्मको आस्था केन्द्र

इजरायल र प्यालेस्टाइनका लागि जेरुसलम अत्यन्त महत्वपूर्ण स्थान हो। यो ऐतिहासिक शहर एकेश्वरवादी धर्महरू यहुदी, इस्लाम र इसाईका लागि महत्वपूर्ण स्थान हो। यहुदीहरूको आस्थाको केन्द्रका रूपमा रहेको टेम्पल अफ माउन्ट जेरुसलममै रहेको छ। यद्यपि अहिले यसको पर्खालमात्रै बाँकी रहेको छ। त्यसैगरी उक्त टेम्पल अफ माउन्टसँगै इस्लाम धर्मावलम्बीहरूको अत्यन्त महत्वपूर्ण मानिएका मध्ये एक अल अक्सा मस्जिद रहेको छ। त्यसैगरी जेरुसलम इसाईहरूका लागि त्यो स्थान हो जहाँ जिसस क्राइस्टलाई सुलीमा चढाएको थियो।

जेरुसलमलाई इजरायलको आधिकार क्षेत्रका रूपमा अन्तराष्ट्रियस्तरमा कहिले पनि स्वीकार गरिएको छैन। सबै देशले आफ्नो दूतावास तेलअभिभमा नै बनाएका छन्। सन् १९६७ को युद्ध ६ दिनमा आफ्नो पक्षमा पार्न सफल इजरायलले पूर्वी जेरुसलम आफ्नो कब्जामा लिएका थिए। इजरायलले उक्त शहरलाई आफ्नो अविभाज्य राजधानी घोषणा गरेको थियो।

सन् १९९३ मा भएको इजरायल–प्यालेस्टाइन शान्ति सम्झौताअनुसार शान्ति वार्ता अगाडि बढेपछि मात्र जेरुसलमको भविष्यको फैसला लिनेछ।

प्रतिक्रिया दिनुहोस्