गुल्मीमा १ बजेबाट मतगणना शुरू



अनिल खत्री, गुल्मी

दोस्रो चरणमा सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना गुल्मीमा पनि शुरू भएको छ। जिल्लाका विभिन्न स्थानबाट बिहीबार राति मतपेटीकाहरू जिल्ला सदरमुकाम तम्घास ल्याइएको थियो।

शुक्रबार बिहान जिल्लास्थित राजनीतिक दलको सर्वदलीय बैठकले झन्डै २ बजेबाट मतगणना शुरू गर्ने निर्णय गरेको थियो। जिल्लामा रहेका २ निर्वाचन क्षेत्रमध्ये मत गणनाका लागि जिल्लास्थित जिल्ला प्राविधिक कार्यालयमा क्षेत्र नं. १ को मतगणना शुरू गरिएको छ। क्षेत्र नं. १ को कालिगण्डकी गाउँपालिकाबाट शुरू भएको छ।

क्षेत्र नं. २ को मतगणना जिल्ला प्रशासन कार्यालय गुल्मीको भवनमा शुरू गरिएको गुल्मीका मुख्य निर्वाचन अधिकृत रामप्रसाद न्यौपानेले जानकारी दिए। क्षेत्र नं. २ को मदाने गाउँपालिकाबाट शुरू भएको छ। एउटा वडाको मतगणना सकिएपछि मात्र नतिजा आउट गरिने अधिकृत न्यौपानेले जानकारी दिए।

जिल्लाको प्रतिनिधिसभाको र प्रदेशसभा प्रत्यक्षतर्फको मतगणना ४ दिनभित्रै सक्ने गरी गणना शुरू गरिएको न्यौपानेले बताए। गुल्मीमा मतगणनाका लागि २ निर्वाचन क्षेत्रमा ४२ जना कर्मचारी गणनास्थलमा खटिएका छन्।

मतगणना सीसी क्यामेराको निगरानीमा गरिएको छ। मतगणनास्थलको १ मिटर वरिपरि कुनै पनि मानिसलाई बस्न दिइएको छैन।

अन्य जिल्लामा तारजालीसहित मतगणना गरिए पनि गुल्मीमा भने तारजालीरहित गरिने भएको छ। दलका प्रतिनिधिलाई भने मतपत्र छुन नदिइने भएको छ। दलका प्रतिनिधिलाई मतगणनाभन्दा अलि टाढाको डेक्स बेञ्चमा राखिएको छ।

जिल्लामा ६५ दशमलव ४६ प्रतिशत मत खसेको थियो। जिल्लामा रहेका २ वटा निर्वाचन क्षेत्रमा १ लाख ९६ हजार ३ सय ३७ कुल मतदाता रहेका छन्। प्रतिनिधिसभातर्फ क्षेत्र नम्बर १ मा १ लाख ५ हजार ४ सय २३ जना मतदाता रहेका थिए।

कुल मतदातामध्ये महिला ५५ हजार ५ सय ७३ जना र पुरुष ४९ हजार ८ सय ५० जना रहेका छन्। जिल्लाको क्षेत्र नं. १ का रहेका कुल मतदातामध्ये ७० हजार ६ सय ५० मत खसेको थियो। जसमध्ये ४० हजार ५ सय ४४ महिला र ३० हजार १ सय ८ पुरुष मतदाताले मतदान गरेका थिए।

क्षेत्र नम्बर २ मा ९० हजार ९ सय १४ जना जम्मा मतदाता हरेका छन्। जसमध्ये महिला ४६ हजार ८८ जना, पुरुष ४४ हजार ८ सय २५ जना र तेस्रो लिंगी १ जना रहेका थिए।

त्यस्तै क्षेत्र नं. २ मा रहेका कुल मतदातामध्ये ५८ हजार ८९ मत खसेको थियो। जसमध्ये ३३ हजार ८४ जना महिला र २५ हजार ५ पुरुष मतदाताले मतदान गरेका थिए।

गुल्मीमा क्षेत्र नं. १ मा एमालेबाट वाम गठबन्धनका उम्मेदवार प्रदीप ज्ञवाली र कांग्रेसबाट चन्द्र भण्डारीबीच प्रतिस्पर्धा हुँदै छ। क्षेत्र नं. २ मा वाम गठबन्धनका उम्मेदवार गोकर्ण विष्टसँग कांग्रेसबाट चन्द्र केसीको प्रतिस्पर्धा हुँदै छ।

जिल्लामा भएको निर्वाचनमा क्षेत्र नं. १ मा हुने परिणामप्रति सबैले चासो राखेका छन्। दुवै नेता केन्द्रीय राजनीतिमा प्रभाव भएका र चर्चित नेता भएकाले उनीहरूबीच हुने प्रतिस्पर्धामा सबैको ध्यान गएको हो।

प्रतिक्रिया दिनुहोस्