तारजालीको घेराभित्र मतगणना



लक्ष्मीकुमार साह, महोत्तरी

प्रदेश नं. २ अन्तर्गतको महोत्तरीमा प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावको मतगणना तारजालीको घेराभित्र शुरू भएको छ। महोत्तरीको सदरमुकाम जलेश्वरस्थित जिल्ला समन्वय समितिको ठूलो सभाहलमा महोत्तरीको क्षेत्र नं. ३ को मतगणना तारजालीभित्र ३ बजेर १५ मिनेटबाट शुरू भएको छ।

मतगणनामा दलका प्रतिनिधि राखेर कर्मचारीहरू गणना कार्यमा खटिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। प्रतिनिधिसभा र प्रदेशसभाका २÷२ स्थान तोकेर मतगणना शुरू गरिएको छ।
४ वटा क्षेत्र रहेको महोत्तरीको क्षेत्र नं. १ को मतगणना जलेश्वस्थित कभर्ड हल, क्षेत्र नं. २ र ३ को मतगणना जिल्ला समन्वय समितिको ठूलो सभाहल र माथिल्लो तलाको बैठक कक्ष र क्षेत्र नं. ४ को मतगणना जिल्ला हुलाक कार्यालयको नवनिर्मित भवनमा हुने मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरलेले बताए। उनले बाँकी रहेका क्षेत्र नं. १, २ र ४ को मतगणना शुरू गरिने जानकारी गराए।

महोत्तरी जिल्लाको ४ निर्वाचन क्षेत्रमा ४ जना प्रतिनिधिसभा सदस्यका लागि ६९ जना र ८ जना प्रदेशसभा सदस्यका लागि १ सय ४४ जना उम्मेदवार मैदानमा उत्रेका छन्। महोत्तरीमा कुल ३ लाख १७ हजार ६ सय ८९ मतदातामध्ये २ लाख १४ हजार ६ सय ६९ जनाले मतदाताले मतदान गरेका छन्। महोत्तरीमा ६७ दशमलव ५७ प्रतिशत मतदान भएको छ।

प्रतिक्रिया दिनुहोस्