वाम गठबन्धनको अग्रता कायमै



नेपाल समाचारपत्र, काठमाडौं
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा नेकपा एमाले र नेकपा माओवादी केन्द्र सम्मिलित वाम गठबन्धनले अग्रता लिएको छ। पहिलो चरणको निर्वाचन भएको ३२ जिल्लाको ३७ प्रतिनिधिसभा निर्वाचन क्षेत्रको अधिकाशं क्षेत्रमा वाम गठबन्धनले अग्रता लिएको हो।

शुक्रबार ३७ क्षेत्रमध्ये ७ वटा निर्वाचन क्षेत्रमा वाम गठबन्धन ५ र १ क्षेत्रमा कांग्रेसका उम्मेदवार विजयी भएका छन्। कांग्रेसले भने ३७ क्षेत्रमध्ये २ क्षेत्रमा मात्र अग्रता लिएको छ। वाम गठबन्धनको तुलतामा शुरुआती मतपरिणामअनुसार सत्तारूढ दल कांग्रेस निकै पछाडि रहेको छ। दोस्रो चरणको ४५ जिल्लाको १ सय २८ निर्वाचन क्षेत्रमा पनि वाम गठबन्धनले नै अग्रता लिएको छ।

अधिकांश क्षेत्रमा वाम गठबन्धनले शुरुआतदेखि नै अग्रता कायमै राखेको छ। निकै महŒवका साथ हेरिएको गोरखा क्षेत्र नम्बर २ मा लोकतान्त्रिक गठबन्धनका उम्मेदवार डा. बाबुराम भट्टराईले अग्रता लिएका छन् भने नारायणकाजी श्रेष्ठ २ हजार मत अन्तरले पछि छन्। त्यसै गरी सिन्धुपाल्चोकको १ नम्बर निर्वाचन क्षेत्रमा वाम गठबन्धनका उम्मेदवार अग्नि सापकोटाले अग्रता लिएका छन् भने नेपाली कांग्रेसका उम्मेदवार मोहनबहादुर बस्नेत पछि परेका छन्।

त्यसै गरी ललितपुरमा पनि वाम गठबन्धनका उम्मेदवारहरूले शुरुआती अग्रता लिएका छन्। ललितपुर–३ मा वाम गठबन्धनका उम्मेदवार पम्फा भुसालले कांग्रेसका उम्मेदवार मदन अमात्यलाई पछि पार्दै अग्रता लिनुभएको छ। ललितपुरमा–१ मा उदयशमशेर राणालाई पछि पार्दै एमालेका उम्मेदवार नवराज सिलवालले अग्रता लिनुभएको छ।

काठमाडौंका १० निर्वाचन क्षेत्रमा प्रतिनिधिसभाको निर्वाचनतर्फको प्रारम्भिक मतगणनामा वाम गठबनन्धले अग्रता लिएको छ। केही क्षेत्रमा भने नेपाली कांग्रेसले समेत अग्रता लिएको छ। काठमाडौं क्षेत्र नं. १ मा नेपाली कांग्रेसका प्रकाशमान सिंह र विवेकशील साझाका रवीन्द्र मिश्रबीच कडा प्रतिस्पर्धा देखिएको छ। काठमाडौं क्षेत्र नं. २ मा वाम गठबन्धनका उम्मेदवार माधव नेपाल फराकिलो मतअन्तरले अगाडि रहनुभएको छ। नेपाली कांग्रेसका दीपक कुँइकेल पछाडि रहनुभएको छ।

काठमाडौं क्षेत्र नं. ३ मा वाम गठबन्धनका उम्मेदवार कृष्णभक्त राईले अग्रता लिनुभएको छ। काठमाडौं क्षेत्र नं. ४ मा नेपाली कांग्रेसका उम्मेदवार गगन थापा अगाडि रहनुभएको छ। तर थापा र वाम गठबन्धनका उम्मेदवार राजन भट्टराईबीच कडा प्रतिस्पर्धा देखिएको छ।

काठमाडौं–५ मा एमालेका ईश्वर पोखरेलल नेपाली कांग्रेसका प्रकाशशरण महतलाई पछि पार्दै अग्रता लिनुभएको छ। काठमाडौं क्षेत्र नं. ६ मा नेपाली कांग्रेसका नेता भीमसेनदास प्रधानलाई पछि पार्दै माओवादीका झक्कु सुवेदीले अग्रता लिनुभएको छ।

काठमाडौं क्षेत्र नं. ७ मा एमालेका उम्मेदवार रामवीर मानन्धरले अग्रता लिनुभएको छ भने काठमाडौं क्षेत्र नं. ८ मा एमालेका जीवनराम श्रेष्ठले अग्रता लिनुभएको छ।

यस्तै काठमाडौं ९ मा एमालेका कृष्णगोपाल श्रेष्ठले सुरुआतदेखि नै अग्रता लिनुभएको छ। कांग्रेसका उम्मेदवार ध्यानगोविन्द रञ्जित पछाडि रहनुभएको छ। काठमाडौं–१० मा भने नेपाली कांग्रेसका उम्मेदवार राजन केसीले अग्रता लिनुभएको छ। माअ‍ोवादी केन्द्रका उम्मेदवार हितमान शाक्य पछि पर्नुभएको छ।

प्रतिक्रिया दिनुहोस्