मतगणना छरितो, केही स्थानमा ढिलाइ



सुनील महर्जन, काठमाडौं
तिनिधिसभा र प्रदेशसभा प्रत्यक्षतर्फ निर्वाचनको मत गणना छरितो रहेको पाइएको छ।

स्थानीय तहको निर्वाचनमा मतगणना निकै सुस्त रहेकोमा सबैतिरबाट आलोचना खेप्नुपरेको निर्वाचन आयोगले त्यसबाट पाठ सिकेर मतगणना छिटोछरितो गर्ने व्यवस्था मिलाइएको जनाएको छ। स्थानीय तहको निर्वाचनको तुलनामा मतपत्रको आकार निकै सानो रहेकाले मतपरिणाम चाँडै आउने आयोगको विश्वास रहेको छ।

आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष निर्वाचनतर्फको मतपरिणाम ४ देखि ७ दिनभित्र आउने लक्ष्यका साथ मतगणना कार्य मिलाइएको बताइएको छ। पहिलो र दोस्रो चरणको निर्वाचनको मतगणना शुरू भएको २४ घण्टामा नै मतदाता संख्या थोरै भएको जिल्लामा अन्तिम मतपरिणाम आइसकेको छ।

आयोगका प्रवक्ता नवराज ढकालका अनुसार शुक्रबारसम्ममा मनाङ, मुस्ताङ र रुकुम पूर्वको पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ प्रतिनिधिसभा र प्रदेशसभाको मतगणना कार्य सम्पन्न भइसकेको छ। ती जिल्लामा अब समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना शुरू भएको छ।
प्रत्यक्षतर्फको मतगणना सकिएपछि समानुपातिकतर्फको मत गणना गरिनेछ। १० मंसिरमा भएको प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष निर्वाचनतर्फको मतपत्र बिहीबार साँझ ५ बजेदेखि नै गणना गरिएको थियो। प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिकतर्फको मतपरिणाम पनि मंसिर महिनाभरि आइसक्ने आयोगले जनाएको छ।

जिल्लास्थित मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा मतगणना डेस्क र जनशक्ति थपिएको जनाएको छ। यसपटक निर्वाचन क्षेत्रअनुसार मतगणना भइरहेको छ। मतदाता संख्याअनुसार थप गणना टोली परिचालन गरिएको छ।
प्रतिनिधिसभा, प्रदेशसभाका २ क्षेत्र र समानुपातिकतर्फको छुट्टै स्थल बनाइएको छ। प्रत्येक समूहमा एक सिफ्टमा ७ कर्मचारी खटाइएको छ। गणना गर्दा सम्बन्धित निर्वाचन क्षेत्रको कम्तीमा दुईवटा मतदान केन्द्रको मतपत्र मिसाएर गणना गरिएको छ। मतगणना गर्ने काम मुख्य निर्वाचन अधिकृतको प्रत्यक्ष रेखदेख तथा नियन्त्रणमा गर्ने कानुनमा उल्लेख गरिएको छ। कानुनतः मतगणनाको कार्य सम्पूर्ण जिम्मेवारी मुख्य निर्वाचन अधिकृतको कार्यालयको हुने छ। मतगणनासम्बन्धी कुनै विवाद वा अदालतमा प्रश्न उठेमा पनि त्यसको प्रतिवाद गर्ने जिम्मा पनि कार्यालयको हुनेछ।

‘हामीले स्रोत, साधनको उचित प्रबन्ध गरेका छौं’ –प्रमुख निर्वाचन आयुक्त यादवले भन्नुभयो। अद्यावधिक मतपरिणामबारे जानकारी नदिँदा मतगणनाको परिणाम सुन्न बसेका सर्वसाधारण र राजनीतिक दलका कार्यकर्ताले निकै हैरानी खेप्नुपरेको थियो।
दोस्रो चरणमा निर्वाचन भएको जिल्लामध्ये हिजो रातिसम्ममा सल्यान, डोटी, दैलेख, कैलालीको एउटा क्षेत्र, डडेलधुरा र तेह्रथुममा मतगणना शुरू हुन बाँकी रहेको आयोगले जनाएको छ। ती क्षेत्रमा मतपेटिका ल्याउन बाँकी रहेको छ। मतपेटिका ल्याइसकेपछि राति वा शनिबार बिहानदेखि मतगणना शुरू हुने प्रवक्ता ढकालले जानकारी दिनुभयो।

यसै गरी चितवन, काठमाडौं, ललितपुर, मकवानपुर, भक्तपुर–१, कास्की, कपिलवस्तु, पाल्पा, गुल्मी, दाङ बाँके, बारा, पर्सा, रौटहट, झापा, मोरङ, सुनसरी, कैलाली र कञ्चनपुरको मतगणना हिजो बिहान र बिहीबार रातिदेखि शुरू गरिएको थियो। त्यसै गरी दोस्रो चरणमा निर्वाचन भएको जिल्लामध्ये भक्तपुर–२, सिन्धुली, काभ्रे, स्याङ्जा, तनहुँ, पर्वत, बर्दिया, रूपन्देही, प्युठान, नवलपरासी पूर्व, सर्लाही, सप्तरी, सिरहा, धनुषा, इलाम, धनकुटा, उदयपुर, दैलेख, सुर्खेत र अछाममा अपरान्ह मतगणना कार्य शुरू गरिएको थियो।
सातवटै प्रदेशसभाका लागि प्रत्यक्षतर्फ ३ सय ३० निर्वाचन क्षेत्र छन् भने समानुपातिकतर्फ प्रतिनिधिसभामा १ सय १० र प्रदेशसभामा २ सय २० सिट निर्धारण गरिएको छ। २ सय ७५ सिट प्रतिनिधिसभाका लागि १ सय १० सदस्य समानुपातिकबाट आउनेछन् भने ५ सय ५० प्रदेशसभा सदस्यका लागि २ सय २० सदस्य समानुपातिकबाट चुनिनेछन्।

केही स्थानमा ढिलाइ

प्रशान्त वली, काठमाडौं
निर्वाचन भएको २ दिन बितिसक्दा कतिपय जिल्लामा मतगणना कार्य अझै शुरू हुन सकेको छैन।

मतपेटिका ल्याउन ढिलाइ र मतगणना कसरी गर्ने भन्ने सन्दर्भमा केही जिल्लामा सहमति जुट्न नसक्दा मतगणना कार्यमा ढिलाइ भएको हो। जसले गर्दा मतदातामा कसले बाजी मार्ला भनेर कौतूहलता छाएको छ। निर्वाचन आयोगले मतदान सकिएलगत्तै २१ गते बेलुकीदेखि दुई चरणको निर्वाचनको मतगणना शुरू गर्ने बताए पनि त्यसो हुन सकेको छैन। दुर्गम जिल्लाका मतपेटिका जिल्ला सदरमुकाम ल्याउन ढिलाइ भएकाले अधिकांश जिल्लामा शुक्रबार दिउँसोदेखि मतगणना शुरू भएको जिल्लास्थित निर्वाचन अधिकृतको कार्यालयले बताएका छन्।

अर्घाखाँची छत्रदेव गाउँपालिकामा रोकिएको मतदान आज शनिबार हुँदै छ। दोस्रो तहमा भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा मंसिर २१ गते सन्धिखर्कमा भने मतदान हुन सकेको थिएन। मतदान अधिकृतको हस्ताक्षर नगरी मतपत्र दिएको भन्दै अर्घाखाँचीको एक मतदान केन्द्रमा स्थानीयले तोडफोड गरेका थिए। जिल्लाको सन्धिखर्क नगरपालिका–५ मथुरा माविको ‘ख’ मतदान केन्द्रमा मतदान अधिकृत सुरेन्द्रराज अधिकारीले हस्ताक्षरबिनै मतपत्र दिएपछि विवाद भएको थियो।

यस्तै, काठमाडौं क्षेत्र नम्बर ५ को मतगणना स्थगित भएको छ। खसेको मतभन्दा १२ मत बढी भेटिएपछि मतगणना स्थगित भएको हो। बूढानीलकण्ठ नगरपालिकाको विष्णुपादुका ‘क’ र नारायणथान सतल ‘क’ बुथको मत संख्या मुचुल्चा गरिएको भन्दा १२ मत बढी भेटिएपछि विवाद भएको जनाइएको छ।

यस्तै बिहीबार सम्पन्न मतदानको विषयलाई लिएर स्याङ्जा सदरमुकाम अहिले तनावग्रस्त बनेको छ। नेकपा एमालेका नेता तथा कार्यकर्ताले स्याङ्जाको निर्वाचन क्षेत्र नम्बर २ का निर्वाचन अधिकृत हरिकृष्ण श्रेष्ठमाथि शुक्रबार हातपात गरेपछि प्रहरीले रोक्न खोज्ने क्रममा नेकपा एमालेका आधा दर्जन नेता तथा कार्यकर्ता घाइते भएका थिए। जिल्ला समन्वय समितिको भवनमा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयमा रहेका मतपेटिकाको सुरक्षाकर्मीले रेखदेख गरिरहेका छन्।

स्याङ्जामा मतदानको विषयलाई विवाद चुलिँदै गएर तनावको स्थिति उत्पन्न भएपछि स्थितिलाई नियन्त्रणमा लिन स्थानीय प्रशासनले स्याङ्जा सदरमुकामको चारैतिर तीन किलोमिटरको क्षेत्रमा भेला, सभा तथा समूहमा नबस्न निषेधित क्षेत्र घोषणा गरेको छ भने सिद्धार्थ राजमार्गमा सवारीसाधन सञ्चालनमा भने रोक नलगाइएको जनाइएको छ।

प्रतिनिधिसभा र प्रदेशसभाको बिहीबार सम्पन्न निर्वाचनमा कांग्रेसले ४ वटा बुथ कब्जा गरेको भन्दै नेकपा एमालेले निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता गराएपछि स्याङ्जाको मतगणना अवरुद्ध भएको छ।
डडेल्धुरामा मतपेटिका बोकेको गाडीलाई लक्षित गरी बम विस्फोट भएपछि मतपेटिका ल्याउन ढिलाइ भएको थियो। जसले गर्दा हिजो राति अबेरदेखि मतगणना शुरू भएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्