रोनाल्डोको सबै खेलमा गोल



मेड्रिड, (एजेन्सी)
रियल मेड्रिडले बोरुसीया डर्टमन्डमाथि ३–२ को जित हात पार्दा क्रिस्टियानो रोनाल्डोले च्याम्पियन्स लिगअन्तर्गत समूह चरणका सबै खेलमा गोल गर्ने कीर्तिमान राखेका छन् ।

रियलका फरवार्ड रोनाल्डो च्याम्पियन्स लिगको इतिहासमा समूह चरणका ६ वटै खेलमा गोल गर्ने पहिलो खेलाडी बन्दै कीर्तिमान रचेका हुन् । बुधबार राति बोरुसियाविरुद्ध गरेको गोल उनको प्रतियोगिताअन्तर्गत नवौ गोल समेत थियो । यो सँगै उनको च्याम्पियन्स लिगमा व्यक्तिगत १ सय १४ गोलसंख्यामा पुगेको छ । बार्सिलोनाका फरवार्ड लियोनल मेसीसँगको तुलनामा उनी १७ गोलले अगाडि रहेका छन् ।

रियल मेड्रिडले अन्तिम १६ मा रोमा, बेसिक्टास, पेरिस सेन्ट जर्मेन, म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड वा लिभरपुलसँग सामना गर्न सक्नेछ । सोमबार प्रतियोगिताअन्तर्गत नकआउट चरणको ड्र सार्वजनिक हुनेछ ।

जर्मन क्लब डर्टमन्ड यो हारले अन्तिम १६ मा पुग्नबाट वंचित भयो । ६ खेलबाट जम्मा २ अंक जोडे पनि टोली युरोपा लिगमा भने पुगेको छ । यो समूहबाट टोटनह्याम शीर्ष टोली र रियल मेड्रिड उपविजेता टोली हुँदै अन्तिम १६ मा पुगेका थिए ।

त्यसो त खेलमा बोर्या मायोराल र रोनाल्डोले गोल गरेर रियललाई १२ मिनेटमै २–० को अग्रतामा राखेका थिए । तर पिइरे अउबामेयाङले पहिलो हाफ सकिन लाग्दा र दोस्रो हाफ शुरु भए लगतै गोल गरेर खेल डर्टमन्डलाई २–२ बराबरीमा पुर्याए । लुकास भाजक्वेजले ८१औं मिनेटमा गोल गरेर रियलको जित पक्का गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्