छिटफुट घटनाबाहेक निर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न



नेपाल समाचारपत्र
काठमाडौं
४५ जिल्लामा बिहीबार भएको आम निर्वाचनमा छिटफुट घटनाबाहेक शान्तिपूर्णरूपमा सम्पन्न भएको छ। आम निर्वाचन पर्यवेक्षण समिति (जियोक)का पर्यवेक्षकहरूले दिएको जानकारीअनुसार मतदाताहरू उत्साहजनकरूपमा बिहानैदेखि मतदानमा सहभागी भएका भए पनि ६७ प्रतिशत मात्र मत खसेको छ।

आम निर्वाचन पर्यवेक्षण समिति (जियोक)बाट परिचालित ५ सयभन्दा बढी पर्यवेक्षकले बिहानैदेखि ७ वटै प्रदेशमा पर्यवेक्षण गरेका थिए। निर्वाचन आयोगको कार्यतालिकाबमोजिम भएको दोस्रो चरणको निर्वाचनमा आयोगको तयारी, मतदान अधिकृतहरूको व्यवस्थापन र मतदान सामग्रीको ढुवानी र मतदानपश्चात् मतपेटिकाको सुरक्षा व्यवस्था सन्तोषजनक रहेको देखिएको छ। मतदान केन्द्रहरूमा निर्वाचन आयोगका कर्मचारीहरू, राजनीतिक पार्टीका प्रतिनिधि, स्वयंसेवक, विभिन्न संस्थाबाट खटिएका पर्यवेक्षक, पत्रकारहरू, अन्तरार्राष्ट्रिय पर्यवेक्षकहरूको चासो र सक्रियता प्रभावकारी देखिएको जियोकले जनाएको छ। पाल्पामा शव बोकेर आर्यघाट जाँदै गर्दा शव भुईंमा राखेर सबै मलामी लाइन लागेर मतदान गरेका थिए।

मतदानमा महिलाहरूको उल्लेख्य सहभागिता रहेको र मन्दिर परिसरमा मतदान केन्द्र भएका कारण महिलालाई मतदान गर्न असर परेको कहीं पनि देखिएन। मतदान गर्न जाने वृद्धवृद्धा र अपांगता भएकाहरूलाई स्वयंसेवकहरूले सजिलै मतदान गर्न सहयोग गरेका थिए भने कतिपय मतदान केन्द्रमा एकै व्याक्तिले मतदान गराउन लगेको कारण विवाद उत्पन्न भएको थियो। विवादपछि एकै व्यक्तिलाई मतदान गर्न लैजानबाट रोकिएको थियो।

निर्वाचनको तयारीका बारेमा कतिपय निर्वाचन केन्द्र साँघुरो भएका कारणले मतदान गर्न कठिनाइ भएको मतदाताहरूले बताएका थिए। सप्तरीको राजविराजस्थित आधारभूत विद्यालयमा रहेको मतदान केन्द्र निकै साँघुरो भएका कारण मतदान गर्न जानेहरू र निर्वाचन आयोगका कर्मचारीहरूलाई निकै अफ्ठयारो परेको थियो। त्यस्ता साँघुरा मतदान केन्द्र देशका अन्य ठाउँमा पनि रहेका थिए। पायक पर्ने विद्यालय र मन्दिरको प्रांगण खोज्नुपर्ने बाध्यताले गर्दा त्यस्तो भएको निर्वाचन आयोगले जनाएको छ।

चितवनको राष्ट्रिय मावि चितवन र ठूलो बालकुमारी माविमा एउटै स्थलमा ७ वटा मतदान केन्द्र भएकाले धेरै भीडभाड हुन पुगेको र मतदातालाई गोपनीयता कायम राख्नसमेत गाह्रो भएको थियो। सामान्यतया सबै स्थानमा बिहान ७ बजेदेखि ८ः१५ बजेभित्र मतदान प्रक्रिया शुरू भएको थियो। केही स्थानमा दलहरूका प्रतिनिधि ढिलो पुगेका र पानी परेका कारण मतदान ढिलो प्रारम्भ भएको थियो।
सप्तरी क्षेत्र नम्बर २ अन्तर्गत आधारभूत विद्यालय महादेव मतदान केन्द्रमा कुल ९ सय ६० मतदाता रहेकामा कसैले पनि मत खसालेनन्। त्यसै गरी राजविराज प्राथमिक विद्यालय राजदेवी मतदान केन्द्रमा मतदातासँग परिचयपत्र भएको तर भोटर लिस्टमा नाम नभएकाले भोट खसाल्न पाएनन्।

निर्वाचन सुरक्षा
सुरक्षाको दृष्टिकोणले उच्च सतर्कता अपनाइएको भए पनि नवलपरासीको दवचुली नगरपालिका वडा नं १२ को दिव्यज्योति निमावि मतदान केन्द्रभित्रै १० बजेर ८ मिनेट जाँदा बम विस्फोट हँुदा मतदान गर्न लाइन बसेका नागरिकबीचको भागदौडमा २ जना घाइते भएका छन्।
काठमाडौंको सतुंगल मतदान केन्द्रमा बम विस्फोट भएको थियो। बम विस्फोटपछि मतदातामा त्रास फैलिएको जियोकका पर्यवेक्षकहरूले जानकारी गराएका छन्। धनकुटाको आखी सल्ला गाउँपालिका भवनमा रहेको मतदान केन्द्रनजिकै बिहान ६ बजेदेखि १०ः३० सम्म लगातार ६ पटक बम विस्फोट भएको थियो।

निर्वाचनको सुरक्षाबारे अधिकांश स्थानमा ३ घेरामा म्यादी तथा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको राम्रो व्यवस्थापन देखियो। निर्वाचन प्रक्रियालाई प्रभाव पार्ने गरी केही स्थानमा बम राखिएका कारण केही मतदाता मतदानमा सहभागी नभएको पाइयो तर त्यो संख्या निकै न्यून रहेको छ।

काठमाडौंको नैकापमा बिहीबार बिहान एउटा बम भेटिएको र त्यसलाई नेपाली सेनाले निस्क्रिय बनाएको थियो। त्यसै गरी तुल्सीपुर उपमहानगरपालिकाको बसपार्कको खुल्ला स्थानमा बिहान बम विस्फोट भएको तर क्षति भने भएन। चितवनको रत्ननगर सुब्बा चोकमा पनि बिहान ६ः३० बजे रातो कपडामा बेरेर राखेको अवस्थामा बम भेटिएको र त्यसलाई सेनाले निस्क्रिय बनाएको थियो।

पर्यवेक्षकहरूले दिएको जानकारीअनुसार निर्वाचन प्रक्रिया अधिकांश ठाउँमा सरल र प्रभावकारी भएको, मतदाताहरूमा पनि उत्साह देखिएको तर मतदान प्रतिशतमा भने अघिल्लो निर्वाचनको भन्दा कमी आएको छ। अहिलेसम्मको प्रारम्भिक रिपोर्टअनुसार ६० देखि ६५ प्रतिशत मत खसेको छ।

प्रतिक्रिया दिनुहोस्