घर–घरमा डाक्टर कहिले आऊलान् ?



स्थानीय तह निर्वाचन सम्पन्न भएको छ। जनप्रतिनिधि गाउँ–गाउँमा छन्। प्रदेश र प्रतिनिधिसभाको दोस्रो चरणको चुनाव पनि आइसक्यो। सिंहदरबार केन्द्रित अधिकार गाउँमा पुग्दै छ भन्दै नेताले रटान लगाइरहेको पनि धेरै भइसक्यो। गाउँमा आधारभूत विकास निर्माणसँगै स्वास्थ्यका कुरा पनि व्यापकरुपमा उठेका थिए। अहिलेसम्म उपत्यका र शहरी क्षेत्रमा थुप्रिएका डाक्टरहरुलाई गाउँ केन्द्रित गर्ने कार्यक्रम तयार भएको छैन। घरदैलोमै विशेषज्ञ स्वास्थ्य सेवा पुग्नुपहिले डाक्टरलाई गाउँ जाने वातावरण मिलाउन जरुरी छ।

सरकारी तथ्यांकअनुसार संयीय संरचनामा गाउँमै विशेषज्ञ चिकित्सा सेवा पुर्याउन ३ हजार हाराहारीमा डाक्टर नपुग्ने समाचारमा आइरहेका छन्। सरकारी संरचनामा हाल ३ सय ८१ विशेषज्ञ चिकित्सक छन्। देशभर सरकारी र निजी स्वास्थ्य संस्थामा गरी १ हजार हाराहारीमा मात्रै विशेषज्ञ चिकित्सक छन्। उनीहरुलाई गाउँ केन्द्रित गर्न जरुरी छ। ५ हजार हाराहारीमा विशेषज्ञ डाक्टर दर्ता भइसकेको भए पनि अधिकांश काठमाडौं, शहरी क्षेत्र र विदेशमा सीमित रहेका छन्। ग्रामीण क्षेत्रमा अत्यावश्यकीय एनेस्थेसियोलोजिस्ट, जनरल फिजिसियन, रेडियोलोजिस्ट, बाल र स्त्रीरोग विशेषज्ञ चिकित्सक अत्यन्तै न्यून छन्। यसमा सरकारी ध्यान जान जरुरी छ।

स्वास्थ्य मन्त्रालयले तयार पारेको स्वास्थ्य सेवासम्बन्धी विस्तृत अवधारणाअनुसार संघीय नेपालमा ३ हजार ३ सय विशेषज्ञ चिकित्सक आवश्यक पर्छ। यो आधारमा अझै २ हजार ९ सय १९ विशेषज्ञ डाक्टर पुग्दैनन्। सात वर्षपछि पनि मन्त्रालयलाई एमबीबीएस चिकित्सक २ हजार ८ सयको हाराहारीमा र विशेषज्ञ चिकिन्सक ३ हजार ३ सय हाराहारीमा आवश्यक पर्ने खबरहरु आइरहेका छन्। सम्पूर्ण तहमा सुविधायुक्त स्वास्थ्य संस्था स्थापना गर्न कम्तीमा सात वर्ष लाग्ने मन्त्रालयले पनि जनाएको छ। हाल नेपालमा प्रत्येक वर्ष स्वदेशभित्र र बाहिरबाट गरी २ हजार ५ सयको हाराहारीमा एमबीबीएस चिकित्सक थपिने गरेको तथ्याङ्क छ। तर त्यसको तुलनामा प्रत्येक वर्ष ५ सय जनाले मात्र विशेषज्ञ चिकित्सा शिक्षा पढ्ने अवसर पाएका छन्। नेपालमा पहिले यसको व्यवस्था जरुरी देखिएको छ। यति बेला विशेषज्ञ चिकित्सा शिक्षा पढ्न नपाएका डाक्टरलाई निःशुल्क पढ्न दिएर गाउँ–गाउँमा खटाउनुबाहेक अर्को विकल्प देखिएको छैन। यो विषयमा सम्बन्धीत निकायको ध्यान जाओस्।

– सुधीर केसी, भक्तपुर
पटका पड्काएको कि बम ?
प्रतिनिधि र प्रदेशसभा चुनाव हुनै लाग्दा उपत्यका तथा उपत्यकाबाहिरका जिल्लामा बम आतंक चर्कै भयो। गत सोमबार मात्रै राजधानीका तीन स्थानमा बम फेला पर्यो। बूढानीलकण्ठ नगरपालिका चपली हाइटमा बम विस्फोट हुँदा कांग्रेस नेता गगन थापासहित ११ जना घाइते भए। चपली हाइटमा घरदैलो कार्यक्रम गरिरहेकै बेला बम विस्फोट भएको थियो। विस्फोट नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको माओवादीले गराएको आशंका प्रहरीले गरेको पनि भनिएको छ।

सोमबार नै लाजिम्पाटस्थित एभरेस्ट बैंकअगाडि राखिएको बम सेनाले डिस्पोज गरेको छ। त्यस्तै, वनस्थली एकलटारस्थित पूर्वमन्त्री जीवनबहादुर शाहीको निवासअगाडि अज्ञात समूहले बम राखेको थियो। सेनाको डिस्पोज टोलीले बम डिस्पोज गराएको थियो। प्रहरीले बम राख्ने र पड्काउने व्यक्तिको पहिचान नभए पनि विप्लवका कार्यकर्ताले घटना गराएको आशंका गरेको विभिन्न मिडियामा उल्लेख गरिएको छ। उता ललितपुरमा पनि ठाउँ–ठाउँमा बम विस्फोट गराउने काम तीव्र बनेको हामीले देखेका छौं।

केही दिनअगाडि पनि प्रधानमन्त्री निवास बूढानीलकन्ठस्थित देउवाचोकनजिकै बम विस्फोट भएको थियो। यसै गरी अझ अघि उदयपुरमा कांग्रेस उम्मेदवारको गाडीलाई एम्बुसमा पारी बम विस्फोट गराइएको थियो। यसरी विस्फोट हुँदा उम्मेदवारसहित ७ जना गम्भीर घाइते हुन पुगेका थिए। यसरी देशका विभिन्न स्थानमा बम राख्ने, नेता तथा कार्यकर्तामाथि बम प्रहार गर्ने, चुनावी सभालाई लक्षित गरी बम विस्फोट गराउने कार्यले आमनेपाली जनतालाई त्रसित बनाएको छ।
सरकारले सुरक्षा व्यवस्था जति कडा छ भने पनि बम आक्रमण भने रोकिएन। बम आक्रमणमा परी एक जना म्यादी प्रहरीको समेत ज्यान गएको खबर पनि हामीले नसुनेको होइन। यसरी मान्छे नै मार्ने गरेर बम आक्रमण हुदाँसमेत प्रहरीले कुनै पनि व्यक्तिलाई यही नै हो बम हान्ने भनेर समाउन सकेको छैन। तिहारको रमाइलोमा पटकाजस्तो सानो कुरामा कडा निगरानी राख्ने सरकारले देशभरि नै यस्ता विस्फोटका घटना हुँदासमेत किन मौन बसेको छ ? आखिर यस्तो देशद्रोही कार्य कसले गरेको हो ? तिहारको जस्तो पटका पट्काएको जस्तो त होइन नि। निर्वाचनपछि पनि यस्ता समूहको खोजी गरी सरकारले कडाभन्दा कडा कारबाही गरोस्।

– गोविन्द जोशी, ललितपुर
ट्राफिक प्रहरीको उल्लेखनीय कार्य
नेपालका शहरी क्षेत्रमा हुने दुर्घटना प्रायः ट्राफिक नियमको पालना नगर्दा हुने गरेको पाइएको छ। कतै चालकको लापरबाही त कतै साँघुरा सडक, दुर्घटनाको कारण जेसुकै भए पनि धेरैजसो लापरबाहीले हुने प्रस्ट छ। यस्ता लापरबाहीलाई नियन्त्रण गर्न हाल ट्राफिक प्रहरीले बलियो कदम चालेको हामीले थाहा पाएका छौं।

मुलुक निर्वाचनमय बनेको अवस्थामा सुरक्षाका लागि सुरक्षाकर्मीहरु पनि त्यत्तिकै खटिएको हामीले देखेका छौं। हाल उपत्यकका १२ सय ट्राफिक प्रहरीमध्ये ४ सय निर्वाचनको सुरक्षामा खटिएका छन्। यसैले अहिले उपत्यकामा ट्राफिक प्रहरीको शंख्या ८ सय मात्रै छ। यसरी निर्वाचनका कारणले ट्राफिक प्रहरीको संख्यामा कमी आउँदा पनि ट्राफिकले दिनहुँ जाम हुने उपत्यकाका सडकमा ट्राफिक जामको महसुस हुन नदिएको हामीले देखेका छौं।

ट्राफिक प्रहरीका प्रहरी नायब उपरीक्षक (डीआईजी¬) सर्वेन्द्र खनालल यस्तो धुवाँ र धूलो फैलिएको सडकमा आफैं निस्किएर उल्लेखनीय कार्य गरेको हामीले देखेका छौं। ट्राफिक प्रहरीको यस्तो कार्यले हामी सबै नेपाली जनतालाई निकै हर्षित बनाएको छ।
– हेमन्त गोपाली, काठमाडौं

प्रतिक्रिया दिनुहोस्