निर्वाचनपछिको आशा



यतिखेर मुलकले संविधान कार्यान्वयनका क्रममा ठूलो फड्को मारेको छ । यदाकदा सामान्य घटना भए पनि समग्रमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न भएको छ । मत परिणाम आएपछि बन्ने प्रतिनिधिसभा र प्रदेशसभा सरकार स्थिर बन्न सकोस् भन्ने सबैको चाहना छ । सरकार स्थिर बन्न सके देशमा शान्ति कायम हुनेछ । साथै विकास निर्माणले गति लिई मुलुक समृद्ध बन्नेछ । अब बन्ने सरकार आर्थिक विकास र समृद्धिको दिशामा मार्गचित्र कोरेर अगाडि बढ्नेछ भन्ने आशा आमनागरिकले गरेका छन् ।

अब हामी संघीय व्यवस्थामा प्रवेश गरिसक्यौं । यसलाई प्रभावकारीरुपमा कार्यान्वयनमा लैजाने काम प्रमुख दलहरुको काँधमाथि छ । विगतमा दलहरुले केही गर्न चाहँदा पनि काम गर्न नपाउँदै सरकारबाट बाहिरिनुपर्ने अवस्था पनि थियो । अब दलहरुले त्यस्तो अवस्था आउन दिनुहुँदैन । चुनाव अवधिमा प्रतिस्पर्धाका लागि विचारको लडाइँ लडे पनि चुनावपछि दलहरु एकजुट भएर विकास र समृद्धिको लागि लाग्नुपर्छ । कुन गठबन्धनले बहुमत ल्याउने र सरकार बनाउने भन्ने होडबाजीले मुलुक बनाउन सकिँदैन । त्यसैले बहुमत ल्याउने गठबन्धनले अल्पमत हुने गठबन्धनको पनि सहयोग लिएर अघि बढ्नुपर्छ । एक दशक लामो सशस्त्र द्वन्द्वबाट सृजित समस्याका साथै अर्को एक दशक लामो राजनीतिक अस्थिरताको अन्त्य भएको आभास सरकारले दिलाउन सक्नुपर्छ ।

स्थानीय तहको निर्वाचनका समयमा स्थानीय निकायलाई अधिकार सम्पन्न स्थानीय सरकारका रुपमा स्थापित गरिने प्रतिबद्धतासहितका भाषणका पर्रा छुटेका थिए । तर सिंहदरबार केन्द्रित सत्ता मानसिकताको जञ्जालबाट पुनर्संरचित स्थानीय निकायहरू मुक्त भएको आभास अहिलेसम्म मिल्न सकेको देखिँदैन । अहिले प्रतिनिधिसभा र प्रदेशसभाका लागि भएको निर्वाचनमा पनि भ्रम र झुटको पुलिन्दाका रूपमा दलहरूले विगतकै घोषणापत्रहरूमा कतै केरमेट र कतै थपथाप गर्दै नयाँ घोषणापत्र जारी गरे । उम्मेदवारहरूले पनि आकाश–पाताल जोडेर विकासको अदभूत लहर ल्याउने र मतदाताहरूको आकांक्षा पूरा गर्ने कसम खाए । अब आफ्ना बाचा–कसम पूरा गर्नेतर्फ उनीहरु कसरी लाग्नेछन्, आमजनता प्रतीक्षाको घडी थापेर बसेका छन् । शायद आकाश नै खसाउन नसके पनि केही त गरेर देखाउनै पर्छ ।

वाम गठबन्धन पूर्णबहुमतको स्थिर सरकारको नारा दिइरहेको छ भने अधिनायकवाद आउने डर देखाएर पुरानै हैसियत जोगाउने ध्याउन्नमा नेपाली कांग्रेस लागेको छ । परिणाम के आउने हो, हेर्न बाँकी नै छ । त्यसको निक्र्योल निर्वाचन परिणामले गर्नेछ । विगतमा राजनीतिक शक्तिहरुबीचको आपसी द्वन्द्व र सत्तास्वार्थका कारण राजनीतिक स्थायित्व प्राप्त गर्न सकिएको थिएन । अब दलका नेताहरुले विगतलाई सम्झेर पनि सुध्रनुपर्छ । जनताका आशा र अपेक्षा पूरा गर्नै पर्छ ।

प्रतिक्रिया दिनुहोस्