कुन–कुन जिल्लामा सुरु भयो मतगणना ?



प्रशान्त वली, काठमाडौं ।

मंसिर १० गते सम्पन्न भएको प्रदेश तथा प्रतिनिधि सभाको निर्बाचनको मतगणना सुरु भएको छ । गोरखा, धादिङ, दार्चुला, ताप्लेजुङ, बाजुरा, मनाङ, लमजुङ, पाँचथर, जाजरकोट, भोजपुर, नुवाकोट, सिन्धुपाल्चोक, पूर्वी रुकुम लगायतका जिल्लामा मतगणना सुरु भएको छ ।

एक मात्र निर्वाचन क्षेत्र रहेको जाजरकोटमा मतगणना सुरु भएको छ । सर्वदलीय बैठकको निर्णय अनुसार मत गणना सुरु भएको हो । प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य दुवै तर्फको मत गणना दुई ठाउँमा सुरू गरिएको हो । प्रदेश क अन्तर्गतको त्रिवेणी नलगाड नगरपालिका र ख अन्तर्गतको जुनीचाँदे गाउँपालिकाबाट मतगणना सुरु भएको छ । जाजरकोटमा प्रतिनिधिसभा सदस्यतर्फ वाम गठबन्धनबाट माओवादी केन्द्रका शक्तिबहादुर बस्नेत र कांग्रेसका राजीवबिक्रम शाहवीच प्रतिस्पर्धा छ ।

यस्तै, भोजपुर सदरमुकामस्थित जिल्ला अदालतको ३ वटा कोठामा मतगणना सुरु भएको छ । मतगणना स्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ । गणना गरिने कोठा तथा आसपासका क्षेत्रमा सिसी क्यामेरा जडान गरिएको छ । त्यस्तै, प्रतिनिधिहरुका लागि घेराबारा लगाइएको छ । मतगणनाको लागि एउटा समूहमा ७ जना कर्मचारीहरु गणक खटाइएको छ । अन्तिम नतिजा ३ दिनभित्र आइसक्ने अनुमान गरिएको छ । प्रत्यक्ष तर्फको मतगणना सकिएपछि समानुपातिकको गणना गरिनेछ ।

१ लाख १३ हजार ७ सय ४५ कुल मतदाता रहेको यस जिल्लामा प्रतिनिधि सभाका लागि ५७ दशमलव ९ प्रतिशत अर्थात ६५ हजार ९ सय ५८ मत खसेको थियो । प्रदेश सभातर्फ क्षेत्र नं १ मा ५९ दशमलब ८१ प्रतिशत र प्रदेश सभा क्षेत्र नं २ मा ५५ दशमलब ९१ प्रतिशत मत खसेको थियो । यसैबीच, सिन्धुपाल्चोकमा समेत मतगणना सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्