आर्थिक समृद्धिका लागि निजी क्षेत्रको अपेक्षा कस्तो छ ?



प्रनेपाल समाचारपत्र
काठमाडौं
तिनिधिसभा प्रदेशसभाको चुनाव बिहीबार दोस्रो चरणमा हुँदै छ। संविधान कार्यान्वयनका निम्ति हुँदै गरेको चुनावपश्चात उद्योगी व्यवसायीले राजनीतिक अस्थिरताको वातावरण समाप्त भई देशमा लगानीयोग्य वातावरण सिर्जना होला भन्ने आशा गरेका छन्।

लगानीमैत्री वातावरण निर्माण हुने आशा पूरा हुने अपेक्षासहित व्यवसायीले आफूहरू चुनावमा सक्रियरुपमा मतदान गर्ने बताएका छन्। यसका साथै निर्वाचनपछि बन्ने बहुमतको सरकारले ल्याउने विकासका योजनाले देश नयाँ दिशामा बढ्ने विश्वास उनीहरूको छ। देशमा लगानी वृद्धिको वातावरण बने चाँडै नै देशमा आर्थिक समृद्धिको लहर उठ्नेमा उनीहरू विश्वस्त छन्।

यसपटकको चुनावमा केही उद्योगी व्यवसायी आफैं चुनावी मैदानमा उत्रिएका छन् भने कोही निर्वाचनको अनुगमन गर्न पर्यवेक्षकका रूपमा खटिएका छन्। चुनावी मैदानमा उत्रिनेको अग्रपंत्तिमा चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरी हुनुहुन्छ। चौधरी २०६४ सालको संविधानसभाको निर्वाचनमा नेकपा एमालेबाट समानुपातिकतर्फ सांसद् रहनु भएकोमा यसपटक नेपाली कांग्रेसबाट समानुपातिकतर्फको उम्मेदवार हुनुहुन्छ।
त्यस्तै यसपटकको चुनावमा उद्योगी व्यवसायीले कुन–कुन स्थानबाट मतदान गर्दैछन् तथा चुनावले छान्ने जनप्रतिनिधि तथा नेतृत्वले कस्तो आर्थिक समृद्धिको अपेक्षा राखेका छन् भन्ने विषयमा उद्यमी व्यवसायीसँग नेपाल समाचारपत्रका लागि रोविन पौडेलले लिएको प्रतिक्रिया।

भवानी राणा
अध्यक्ष
नेपाल उद्योग वाणिज्य महासंघ
मैले बाँकेको क्षेत्र नं. १ बाट मतदान गर्दै छु। यो निर्वाचनले चुन्ने जनप्रतिनिधिले आर्थिक समृद्धि तथा राजनीतिक स्थायित्व ल्याउने आशा गरेको छु। अब एउटा दिगो सरकार बनोस्, लगानीमैत्री वातावरण सिर्जना होस् जसका कारण भनिँदै आएको औद्योगिक क्रान्ति सम्भव होस् भन्ने हाम्रो अपेक्षा छ।साथै नीजि क्षेत्रलाई काम गर्ने सहज वातावरण होस्। त्यसका लागि हामीसँग सहकार्य गर्दै तथा हाम्रो हित ख्याल राख्दै काम गर्ने सरकारको आवश्यकता रहेको म देख्छु।

जसको सरकार आए पनि निजी क्षेत्र फस्टाउनुपर्छ, लगानीको वातावरण बनाउनुपर्छ। जो आए पनि आर्थिक समृद्धिका एजेन्डा प्राथमिकतामा राख्नुपर्छ, निजी क्षेत्रको कार्यक्षमता बढाउनुपर्छ।

अनिलकेशरी शाह
अध्यक्ष
बैंकर्स एशोसियसन नेपाल
म काठमाडौं क्षेत्र नं. ४ बाट मतदान गर्दैछु। मेरो विचारमा आजको आवश्यकता भनेको राजनीतिक स्थिरता हो। विगतको २० वर्षमा धेरै सरकार आए। छिटोछिटो सरकार फेरिइरहँदा देशको अवस्था झन् के होला ?

छोटो समयमै काम गर्न सक्ने जादूको छडी त कोहीको हातमा छैन। तसर्थ, अब सर्वसाधारणले आफ्ना दल र नेता होइन दूरदर्शी तथा सक्षम नेतृत्व चुन्नुपर्छ जसले कम्तिमा ४–५ वर्ष शासन गरोस्। त्यो अवधिमा राम्रो काम गरे जनताले फेरि चुन्लान्, नत्र अर्को चुनावमा अर्को।

चन्द्र ढकाल
उपाध्यक्ष
नेपाल उद्योग वाणिज्य महासंघ
म काठमाडौं क्षेत्र नं. ५ बाट मतदान गर्दैछु। अहिलेको समयमा राजनीतिक दलले राजनीतिक एजेन्डा छोडेर आर्थिक समृद्धिका एजेन्डा अगाडि ल्याइरहेको अवस्थामा निजी क्षेत्रले पनि स्थायी सरकारको आशा गरिएको छ।

मेरो विचारमा आज निजी क्षेत्रसँगको सहकार्य तथा समन्वय गर्दै व्यवसायीको हितमा काम गर्ने सरकारको खाँचो छ।

पवित्रमान बज्राचार्य
अध्यक्ष
नेपाल खुद्रा व्यापार संघ

म काठमाडौं क्षेत्र नं. ८ बाट मतदान गर्दैछु। यसपटकको चुनावबाट जनताको अहितमा काम गर्ने सरकारको अपेक्षा कसैको छैन। स्थायी तथा कुशल नेतृत्वको प्रतीक्षामा जनता छन्। तसर्थ, जनता आफ्नो अपेक्षाअनुसार परिवर्तन ल्याउने नेतृत्वको खोजीमा छन्। अब स्थायित्व र विकासतिर अग्रसर हुन जरुरी छ।

सुशील भट्ट
अध्यक्ष
नेपाल व्यवस्थापन संघ

म काठमाडौ क्षेत्र नं. १ बाट मतदान गर्दैछु। आजसम्म रोड, ढल, खानेपानीलगायत भौतिक पूर्वाधारको विकासको कुरा सबैले गर्दै आएका छन्। तर, मेरो विचारमा आर्थिक तथा सामाजिक विकास आजको आवश्यकता हो।

गरिबी निवारण गर्नु, जीवनस्तर उकास्नु, बजार पहुँच बढाउनु नै आर्थिक समृद्धिका परिसूचक हुन्। दिगो विकास लक्ष्यमा केन्द्रित हुँदै हरेक घरधुरीमा उद्यमशीलता तथा स्वरोजगारका लहर जगाउनुपर्छ। त्यही अनुसार नीति निर्माण गरिनुपर्छ।

विनायक शाह
महासचिव
होटल संघ नेपाल
म काठमाडौं क्षेत्र नं. ५ सानो गौचरण मतदान केन्द्रबाट मतदान गर्दै छु। स्थानीय तहको निर्वाचन तथा पहिलो चरणको प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन भएसँगै जनतामा संविधान कार्यान्वयनको प्रत्याभूति जनतालाई भइसकेको छ। राजनीतिक स्थिरताले मात्र आर्थिक गतिविधि बढ्छ, विकास कार्य अगाडि बढ्छ। निजी क्षेत्रले काम गर्ने वातावरण निर्माण भए मात्र सबै क्षेत्र उकासिन्छ।

रवीन्द्रराज ताम्रकार
महासचिव
नेपाल तामा पित्तल व्यवसायी संघ
म ललितपुर क्षेत्र नं. २ बाट मतदान गर्दै छु। स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेको अवस्थामा व्यवसायीको आशा सम्बोधन हुन सकेको छैन। दोहोरो करलगायत जनताका भार कम भएनन्। अब हाम्रो अपेक्षा भनेको व्यवसाय गरेर बाँच्ने वातावरण बनोस्। स्थिर नीति बनाउने दिगो सरकार बनोस् भन्ने व्यवसायीको माग छ।

प्रतिक्रिया दिनुहोस्