परिवारलाई जबरजस्ती भारत लान खोज्ने कारबाहीमा



सिड्नी, (एजेन्सी)
आफ्नी पत्नी र नाबालिग छोरीलाई भारत भ्रमणका लागि बाध्य पार्ने एकजना पुरुषलाई अस्ट्रेलियाको सिड्नीमा मानव ओसार प्रसारको अभियोग लगाइएको छ। प्रहरीले नाम नखुलाइएका ती २७ वर्षीय व्यक्तिले आफ्नी पत्नीको इच्छाबिना नै गत मार्चमा उनी र उनका दुई महिने छोरीलाई जबरजस्ती भारततर्फ लान डर, धम्की त्रास र जालझेलको उपाय अपनाएको जनाएको छ।

त्यसपछि ती व्यक्तिले भारतीय मूलकी आफ्नी पत्नीको अस्ट्रेलियाली भिसा रद्द गर्ने प्रयाससमेत गरेका थिए। मंगलबार ती व्यक्तिविरुद्ध सिड्नीको एक अदालतमा मानव ओसारपसार र जाली कागजात तयार पारेकोलगायत तीनवटा अभियोग लगाइएको थियो।

अस्ट्रेलियाली संघीय प्रहरी सुपरिटेन्डेन्ट ड्यान इभान्सले पीडित र उनकी छोरीलाई अस्ट्रेलियास्थित आफ्नो घर फर्कनै नसक्ने गरी विदेशी मुलुक भारततर्फ लाने प्रयास गरिएको बताएका छन्। अस्ट्रेलियन नागरिक रहेका ती व्यक्तिको पत्नीको भिसा र छोरीको अस्ट्रेलियाली पासपोर्ट रद्द गर्ने प्रयास असफल भएको प्रहरीले जनाएको छ।

अस्ट्रेलियास्थित आफ्नो घरमा फर्केर ती महिलाले दासताविरुद्धको संगठनको सहयोगमा कानुनी प्रक्रिया अघि बढाएकी थिइन्। ती पुरुषलाई अहिले जमानतमा रिहा गरिएको छ। तर यसै महिनाको उत्तरार्धमा उनलाई अदालतमा उपस्थित गराइने भएको छ।

प्रतिक्रिया दिनुहोस्