४५ जिल्लामा निर्वाचन आज



सुनील महर्जन, काठमाडौं
प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि आज बिहीबार हुने दोस्रो चरणको निर्वाचनमा ४ हजार ४ सय ५२ उम्मेदवार प्रतिस्पर्धामा रहेका छन्।

आयोगका अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ जम्मा १ हजार ६ सय ६३ जना उम्मेदवार रहेका छन्। प्रदेशसभा सदस्यतर्फ सातै प्रदेशमा गरी जम्मा २ हजार ८ सय १९ जना उम्मेदवार चुनावी मैदानमा हुनुहुन्छ।

समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभाका १ सय १० र प्रदेशसभाका लागि २ सय २० पदका लागि ५ हजार ८ सय ३८ जना निर्वाचनको प्रतिस्पर्धामा रहेको आयोगले जनाएको छ।

४५ जिल्लामा हुने सो निर्वाचनमा प्रतिनिधिसभा सदस्यका लागि १ सय २८ निर्वाचन क्षेत्र र प्रदेशसभा सदस्यका लागि २ सय ५६ निर्वाचन क्षेत्र रहेका छन्। ती क्षेत्रका ७ हजार ७ सय ५२ मतदानस्थलका १५ हजार ३ सय ४४ मतदान केन्द्रमा मतदान हुने व्यवस्था गरिएको छ। दोस्रो चरणमा निर्वाचन हुने जिल्लाहरूमा प्रदेश नम्बर १ का इलाम, तेह्रथुम, धनकुटा, उदयपुर, झापा, मोरङ र सुनसरी रहेका छन्।

त्यस्तै प्रदेश नम्बर २ का सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा र रौतहट, प्रदेश नम्बर ३ का सिन्धुली, मकवानपुर, चितवन, काभ्रेपलाञ्चोक, काठमाडौं, ललितपुर र भक्तपुर प्रदेश नम्बर ४ नवलपरासी बर्दघाट सुस्ता पूर्व, तनहुँ, कास्की, स्याङ्जा र पर्वतमा दोस्रो चरणमा निर्वाचन हुन लागेको हो।

प्रदेश नम्बर ५ को नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) पाल्पा, अर्घाखाँची, गुल्मी, रूपन्देही, कपिलवस्तु, दाङ, प्युठान, बाँके र बर्दिया, प्रदेश नम्बर ६ को सल्यान, सुर्खेत, दैलेख र प्रदेश नम्बर ७ का कैलाली, कञ्चनपुर, डडेलधुरा, अछाम र डोटी रहेका छन्।

निर्वाचन सम्पन्न गर्न १ लाख ५५ हजार कर्मचारी मतदान केन्द्रमा पुगिसकेको बताइएको छ। निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको आयोगले जनाएको छ। सबै जिल्लामा मतपेटिका, मतपत्र र अन्य निर्वाचनका सामग्री पुगिसकेको तथा मतदानपछि मतपत्र जिल्ला सदरमुकाम ल्याउने व्यवस्थासमेत मिलाइसकेको आयोगले जनाएको छ।

मतदानका लागि निर्धारण गरिएका मतदान केन्द्रमा सम्पूर्ण तयारी पूरा भइसकेको प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले बुधबार आयोजित पत्रकार भेटघाटमा जानकारी गराउनुभयो।

अपाङ्गता भएका, गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, असक्त वा बिरामी मतदातालाई प्राथमिकता दिई मतदान गर्न पाउने उचित व्यवस्था मिलाउन र सहज ढंगले मतदानको प्रबन्ध गर्न सबै मतदान अधिकृतलाई आयोगले निर्देशन दिइसकेको बुझिएको छ।

बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म आफ्नो मतदाता नामावलीमा नाम रहेको मतदान केन्द्रमा प्रवेश गर्ने मतदाताले मात्रै मतदान गर्न पाउने आयोगले जनाएको छ। निर्वाचनमा कुल मतदाता १ करोड २२ लाख ३५ हजार ९ सय ९३ रहेका छन्।

पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभाका लागि हल्का हरियो रङ्गको मसीले छापिएको मतपत्र रहेका छन्। त्यसमा रहेका चिह्नमध्ये एउटामा र प्रदेशसभाका लागि कालो मसीले छापिएका निर्वाचन चिह्नहरूमध्ये आफूलाई मनपर्ने उम्मेदवारको कुनै एक चिह्नमा स्वस्तिक छाप लगाई तोकिएका बेग्लाबेग्लै मतपेटिकामा मत खसाल्नुपर्ने हुन्छ।

यसै गरी समानुपातिकतर्फ मतदाताले आफूलाई मन परेको राजनीतिक दलको निर्वाचन चिह्नमा मत संकेत गर्नुपर्ने हुन्छ। त्यसका लागि हल्का रातो मसीले छापिएको मतपत्रको एउटै पानाको माथिल्लो भागमा प्रतिनिधिसभा सदस्यका लागि मतपत्र–१ रहेको छ। त्यही मतपत्रको तल्लो भागमा प्रदेशसभाका लागि मतपत्र–२ रहेको छ। ती निर्वाचन चिह्नहरूमध्ये माथिल्लो मतपत्रमा एउटा र तल्लो मतपत्रमा एउटा गरी दुईवटा चिह्नमा मत संकेत गर्नुपर्ने हुन्छ।

मतदान गर्न जाँदा कुनै कारणवशः मतदाता परिचयपत्र प्राप्त गर्न नसकेमा वा प्राप्त गरेको परिचयपत्र हराएमा वा नष्ट भएमा पनि प्रमाणिक अरू कागज देखाएर मतदान गर्न सकिने आयोगले जनाएको छ।

नागरिकताको प्रमाणपत्र, २०७० सालमा जारी गरिएको मतदाता परिचयपत्र, राहदानी, सवारी चालक अनुमतिपत्र जग्गाधनी प्रमाणपत्र वा सरकारी निकायबाट फोटोसहित जारी भएको अन्य परिचयपत्रसमेतका आधारमा मतदान गर्न पाउने प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले जानकारी दिनुभयो।

यस निर्वाचनबाट संविधान कार्यान्वयन भई संघीय लोकतान्त्रिक गणतन्त्र सुदृढ हुने बताउँदै प्रमुख निर्वाचन आयुक्त डा. यादवले भन्नुभयो– ‘राज्यको पुनर्संरचना व्यवहारमै लागू हुनेछ। विद्यमान संक्रमणकालको अन्त्य हुनेछ।’

पहिलो चरणमा मंसिर १० गते ३२ जिल्लामा मतदान सम्पन्न भएको थियो। पहिलो चरणमा शान्तिपूर्ण निर्वाचन भएको थियो। दोस्रो चरणमा पनि शान्तिपूर्ण हुने दाबी गर्दै प्रमुख आयुक्त यादवले भन्नुभयो– ‘सुरक्षाको व्यवस्था ठीक छ, ढुक्क भएर मतदान गर्न आग्रह गर्दछु।’

प्रतिक्रिया दिनुहोस्