६ लाखले राजधानी छाडे



प्रशान्त वली, काठमाडौं
आज हुने प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनका लागि पछिल्लो ८ दिनमा करिब ६ लाख जनाले राजधानी छोडेका छन्। चुनावी प्रयोजनकै लागि ५ लाख ८५ हजार यात्रु बाहिरिएको बताइएको छ।

काठमाडौं उपत्यकाका नागढुंगा, साँगा, मुड्खु र फर्पिङ नाकाबाट सवारी बाहिरिएको महानगरीय ट्राफिक महाशाखाले बताएको छ। १९ गते मंगलबार ६२ हजार ७ सय २२, १८ गते सोमबार ६४ हजार ५ सय ५३, १७ गते आइतबार ७१ हजार ६ सय २३, १६ गते शनिबार ७० हजार ५ सय ७३, १५ गते शुक्रबार ६४ हजार ५ सय ३१ जना राजधानी बाहिरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले बताएको छ।

विगतमा दैनिक ३० देखि ३५ हजारले राजधानी छोड्ने गर्थे भने सोही अनुपातमा राजधानी भित्रिने गरेको महाशाखाले बताएको छ। दैनिक ९ हजारदेखि ११ हजार सवारी राजधानी बाहिरिएका छन्। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले चुनावको मुखमा राजधानी बाहिरिनेको संख्यामा वृद्धि आएको बताएको छ। यद्यपि महासंघले चुनावमा घर जानेको संख्या संकलन गरेको छैन। महासंघका अध्यक्ष डोलनाथ खनालले भन्नुभयो– ‘चुनावमा भाग लिन जानेको संख्या हिजोसम्म निकै थियो। पहिलेभन्दा गाडीमा यात्रुको चापसमेत थियो। कतिपय त दशैंतिहारको समयमा घर गएको अझै फर्किनुभएको छैन।’ उम्मेदवारले सवारी नै बुक गरेर जिल्लामा मतदातालाई भित्र्याउने गरेका छन्।

उम्मेदवार आफ्ना पार्टी समर्थकलाई आह्वान गरेर गाडी बुक गरेर घरसम्म पुर्याएको पाइएको छ। दोस्रो चरणअन्तर्गत आज हुने निर्वाचनमा ४५ जिल्लाका १ करोड २२ लाख ३९ हजार ९ सय ९३ जना मतदान गर्न योग्य छन्।

प्रतिक्रिया दिनुहोस्