हजुरआमाको जाँगर



चिरञ्जीवी मास्के, दोलखा
यी हुन् दोलखा गौरीशङ्कर गाँउपालिका वडा नम्बर ५ सुरीकी ८० वर्षीय हजुर आमा कोपिला गुरुङ। सामान्यत घरको पीडिमा बसेर अरूले दिएको खाने उमेरकी हजुर आमा कोपिलाको दैनिकी अहिले राडी (भेडाको उनको बिछ्ेयौना) बुनेर बित्ने गरेको छ।

बुढेसकालमा यसो बसिबियाँलो पनि हुने, घर खर्चको लागि धेरथोर सहयोग पनि पुग्ने भएकोले म त दिनभरी राडी बुनेर बस्छु –कोपिला गुरुङले भन्नुभयो। दोस्रो उद्योग दिवसको अवसरमा घरेलु तथा सानो उद्योग विकास समिति मुख्य शाखा कार्यालय, दोलखाले सदरमुकाम चरिकोटमा आयोजना गरेको घरेलु उत्पादनको प्रर्दशनिमा आफुले बुनेको राडी बिक्रि गर्न आफै आउनुभएको कोपिलाले भन्नुभयो– ‘हात खुट्टा लागुन्जेल काम गर्ने त हो नी। काम गर्दा मन पनि बहलिन्छ, छोरा बुहारीलाई सहयोग पनि मिल्छ त्यसैले म त दिनभरी राडी बुनेर बस्छु।’

जेष्ठ नागरिक कोपिलाले बुन्नुभएको राडीको ३ देखि ५ हजारसम्म मुल्य पर्दछ। मेहेनत अनुसार त कहाँ पैसा आउछ र, जेष्ठ नागरिक कोपिलाले भन्नुभयो–‘एउटा राडी तयार पार्न १५ दिनसम्म लाग्छ, मूल्य आउछ बढीमा ५ हजार।’ एउटा राडी बुन्न ५ किलोसम्म भेडाको ऊन लाग्ने गुरुङले बताउनुभयो। भेडाको उन किलोको २⁄३ सयमा किनेर ल्याई राडी बुन्ने गरेको गुरुङको भनाई छ।

हजुर आमा कोपिला गुरुङ भन्नुहुन्छ–‘दुःख गरेर राडी बुन्यो बिक्रि गर्नै मुश्किल। उहिल्यको जस्तो मानिसले राडी नरुचाउने भएकोले पनि बिक्रिमा समस्या भएको गुरुङको बुझाई छ। अब त मानिस थरी–थरीको गलैचा नै राख्छन् गुरुङले भन्नुभयो–‘अनि किन किन्थे र राडी। घरमा आफुसंगै छोरा बुहारीले पनि राडी बुन्ने गरेको र यसको बिक्रिबाट नातानातीनी पढाउन र घर खर्चमा केहि सहयोग हुने गरेको गुरुङ बताउनुहुन्छ। घरेलु उत्पादनलाई सरकारले नै सहयोग गरिदिए मेहेनतअनुसारको फल मिल्न सक्थ्यो की–हजुर आमा कोपिला गुरुङले भन्नुभयो।

घरेलु उत्पादनको प्रर्दशनिमा घरेलु सल बिक्रि गर्न आएकी दोलखा भीमेश्वर नगरपालिका वडा नम्बर २ चाथलीकी रोजा थामी फुर्सदको समयमा बुन्ने गरेको सलले धेरथोर घर खर्च चल्ने गरेको बताउछिन्। तर मेहेनत अनुसारको प्रतिफल भने नआउने रोजाको गुनासो छ।

सल बिक्रिबाट मासिक ८⁄१० हजार कमाई त हुन्छ तर मेहेनत अनुसारको प्रतिफल भने प्राप्त हँुदैन– उनले भनिन्। प्रर्दशनीमा उनको टोपि, स्वीटरलगायतको हाते सामग्री बिक्रि गर्न आएकी भीमेश्वर नगरपालिका वडा नम्बर ६ की मिश्रा श्रेष्ठ पनि फुर्सदको सदुपयोग हुने भएपनि परिश्रमअनुसारको पैसा नआउने गुनासो गर्छिन्। सरकारले घरेलु उत्पादनलाई प्राथामिकता दिएर सहयोग गरे मेहेनत अनुसारको प्रतिफल आउनसक्ने उनीहरूको भनाई छ।

प्रतिक्रिया दिनुहोस्