म्याग्दीमा मतगणनाको सबै तयारी पूरा, वडाअनुसार गणना गरिने



प्रताप बानियाँ, म्याग्दी
गएको मंसिर १० गते सम्पन्न पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको म्याग्दीमा मतगणनाको सबै तयारी पूरा भएको छ। बिहीबार साँझ ५ बजेबाट मतगणना गरिनेस्थलमा तारजालीको व्यवस्था, गणकको चयन, बिजुली बत्ती, जेनेरेटर, इमरजेनसी लाइटको व्यवस्थापनलगायत आवश्यक सबै तयारी गरिएको हो।

बुधबार मुख्य निर्वाचन अधिकृतको कार्यालयद्वारा आयोजित सर्वदलीय बैठकमा वडाअनुसार मतगणना गर्ने निर्णय गरिएको छ। पहिलो चरणमा गत १० गते सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना वडाअनुसार गर्ने निर्णय गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। राजनीतिक दलका प्रतिनिधि तथा उम्मेदवारको उपस्थितिमा सबै वडाको छुट्टाछुट्टै मतगणना गर्ने निर्णय गरिएको छ।

सदरमुकामस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय परिसरमा प्रतिनिधिसभाको दुई तथा प्रदेशसभाको एकएक ठाउँ गरी चारवटा छुट्टाछुट्टै ठाउँमा मतगणना गरिने मुख्य निर्वाचन अधिकृत एवम् जिल्ला न्यायाधीश राजकुमार कोइरालाले बताउनुभयो। उहाँका अनुसार मतगणना गरिने ठाउँमा ग्याविनको तारजाली लगाइसकिएको छ भने सीसीटीभी क्यामेरासमेत जडान गरिने तयारी गरिएको छ।

पहिलो दिनमा मतगणनाको अवस्था, जनशक्ति व्यवस्थापन, गणनाको गतिलगायतको आकलन गरी सोहीअनुसार गणक टोली थप गरिने मुख्य निर्वाचन अधिकृत कोइरालाले जानकारी दिनुभयो। पहिलो हुने निर्वाचित हुने प्रणालीअन्तर्गत (प्रत्यक्षतर्फ)को मतगणना सकिएपछि मात्रै समानुपातिकतर्फको मतगणना गरिने कार्यतालिका बनाइएको छ। मतगणनास्थलमा रहने उम्मेदवार तथा दलका प्रतिनिधिले मतपत्र छुन नसक्ने गरी तारजाली लगाइएको छ।

मतगणनाका लागि सुरक्षाकर्मी, उम्मेदवारका प्रतिनिधि र दलका एजेन्टबाहेक प्रतिसमूह १० जनाका दरले कुल ४५ जना कर्मचारीहरू खटिने भएका छन्। मतगणनामा कुनै पनि कर्मचारी आबद्ध संघ, संगठन र आधिकारिक ट्रेड युनियनका पदाधिकारी तथा सदस्यहरूलाई सहभागी नगराइने मुख्य निर्वाचन अधिकृत कोइरालाको भनाइ छ। राजनीतिक दलबाट भने प्रत्येकका दुईदुई जनाका दरले प्रतिनिधिहरू रहने निर्णय गरिएको छ।

मतगणना शुरू गरिएको ५ दिन वा आउँदो मंसिर २६ गतेभित्र मतगणना गरिसक्ने तयारीमा आफूहरू रहेको सहायक निर्वाचन अधिकृत राजु ढुंगानाले बताउनुभयो। मतगणनास्थलमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले जारी गरेको परिचयपत्र बोकेका व्यक्ति र पत्रकारलाई बाहेक अन्य सबैलाई निषेध गरिएको उहाँले बताउनुभयो। उहाँका अनुसार मतगणनास्थलमा मोबाइल लैजान पनि निषेध गरिएको छ।

मतगणना शुरू भएदेखि नसकिँदासम्म श्रीबक्स गुल्मको पोस्टदेखि जिल्ला प्रशासन कार्यालयसम्मको क्षेत्रमा सवारी आवागमन बन्द गरिनुका साथै समूहमा भेला हुन तथा हिँडडुल गर्न प्रतिबन्ध लगाइने म्याग्दीका प्रहरी नायब उपरीक्षक वसुन्धरा खड्काले बताउनुभयो। मतगणनास्थल वरिपरि सुरक्षा व्यवस्था कडा बनाइने र प्रहरीहरू परिचालन गरिने उहाँले बताउनुभयो।

मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको जिल्ला अदालतका तीनओटा छुट्टाछुट्टै कोठामा क्रमशः प्रतिनिधिसभा र प्रदेशसभाका मतपेटिकाहरू राखिएको छ। एक नगरपालिका, पाँचवटा गाउँपालिका र ४५ ओटा वडा रहेको म्याग्दीमा कुल ७५ हजार ५ सय ३८ मतदाता रहेकामा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा जम्मा ४७ हजार ४ सय ४९ मत खसेको थियो। प्रतिनिधिसभामा एक र प्रदेशसभामा दुईवटा निर्वाचन क्षेत्र रहेको म्याग्दीमा विभिन्न दलका १३ जना उम्मेदवारहरू चुनाबी मैदानमा उत्रिएका थिए।

प्रतिक्रिया दिनुहोस्