आईसीसीको पत्रले ईपीएल अन्योलमा



नेपाल समाचारपत्र
काठमाडौं
नेपाल क्रिकेट संघ (क्यान)को प्रतिबन्धले गर्दा पुस ३ गतेदेखि शुरू हुने एभरेस्ट प्रिमियर लिग (ईपीएल) आयोजना अन्योलमा परेको छ।

मंगलबार अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले ईपीएललाई मान्यता नदिएको र खेलाडी खेल्न नपाउने उल्लेख गर्दै पत्र पठाइएपछि प्रतियोगिता अन्योलमा परेको हो। कीर्तिपुरको त्रिभुवन विश्वविद्यालय (टीयू) मैदानमा हुने प्रतियोगिताका लागि खेलाडीहरूमाथि करोडौं लगानीसमेत भइसकेको अवस्था छ।

क्यानले ईपीएलबारे आईसीसीका सिनियर क्रिकेट अप्रेसन म्यानेजर क्लिभ हिटच्कोक र डेभलोपमेन्ट एण्ड क्रिकेट अपरेसन अफिसर निगेल मास्कारेन्हासले पठाएको पत्र हिजो मेल गरेको थियो। पत्रमा नेपालमा कुनै पनि प्रतियोगिता आयोजना गर्न आईसीसीको पूरा मञ्जुर आवश्यक भएको उल्लेख गरिएको छ। जब कि आईपीएल गत वर्षसमेत आयोजना भएको थियो भने हालै मात्र पनि धनगढी प्रिमियर लिग (डीपीएल)को सफल आयोजना गरिएको थियो।

आईसीसीको पत्रमा यस्तो उल्लेख थियो– ‘नेपाल आईसीसीको सदस्यताबाट निलम्बनमा रहेको स्मरण गराउन चाहन्छौं र नेपालमा प्रतियोगिता गराउने अधिकार आईसीसीसँग मात्र छ। यो प्रतियोगितालाई आईसीसीले मान्यता दिएको छैन। कुनै पनि खेलाडीलाई प्रतियोगितामा खेल्न पनि अनुमति छैन।’

नेपाल क्रिकेटमा सरकारी हस्तक्षेप भएको भन्दै आईसीसीले क्यानलाई २०७३ साल वैशाख १३ गते निलम्बन गरेको थियो। नेपाललाई अन्तर्राष्ट्रिय खेल खेल्न भने छुट दिएकाले हाल नेपालको राष्ट्रिय क्रिकेट टोली विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत यूएईसँग आज खेल्दै छ। यसअघि पनि नेपालले नामिबिया र हङकङविरुद्धका खेलमा आईसीसीको निर्देशनअनुसार खेलेको थियो। यसबारे नेपाल समाचारपत्रले ईपीएलका प्रबन्ध निर्देशक आमिर अख्तरसँग कुरा गर्दा उनले आईसीसीलाई कुनै भ्रम भएको बताए। उनले भने– ‘ईपीएलका लागि आईसीसीसँग हामीले अनुमति माग्नु आवश्यक छैन। किनभने यो घरेलु प्रतियोगिता हो। मलाई आईसीसीले ईपीएलबारे जानकारी मागेको छ र यसको जवाफ पठाउँदै छु। आईसीसीको चासो सायद विदेशी खेलाडी टोलीमा राख्ने विषयमा हुन सक्छ। यसमा आईसीसी सकारात्मक हुनेछ भन्ने हामीले विश्वास लिएका छौं।’

प्रतिक्रिया दिनुहोस्